काठमाडौँ महानगरपालिकाले सहिदको सम्झनामा श्रद्धाञ्जली सभा गरेको छ।
बिहीबार काठमाडौंको पश्चिम बिष्णुमती नदीको किनारा शोभा भगवतीमा उहाँहरुको सम्झनामा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रुपमा चोट नपुर्याइ सिङ्गो राष्ट्रलाई मुक्तिको बाटो देखाउने चार सहिद आम नेपालीको सम्झनामा सदैव रहने बताए।
‘उहाँहरुले कसैलाई ढुंगा–इट्टा हान्ने, खुकुरी–तरवार चलाउने, गोला–बारुद फ्याँक्ने काम गर्नुभएन। त्यतिबेला हतियार प्रयोग गरेको भए केही व्यक्ति घाइते हुन्थे होला। केहीको मृत्यु हुन्थ्यो होला। उहाँहरुले त्यसो गर्नुभएन। तर, उहाँहरुको आवाज हतियारभन्दा धेरै सशक्त थियो। उहाँहरुको आवाजले देश–विदेश नै तरंगित भयो।’ शाक्यले भने, ‘सहिदको सपना पूरा गराउन एकले–अर्कालाई दोषारोपण गर्ने भन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्छ। हामी पनि त्यसैअनुसार अघि बढेका छौं। यस क्रममा कतै कमजोरी भएका छन्। ध्यान पुगेको छैन भने हामीलाई सुझाव दिनोस् ।’
उनले आम महानगरबासी र महानगरको विकास र समृद्धिका सहयात्रीप्रति संकेत गर्दै भने, ‘गर्नेले सधैँ राम्रै सोचेर गरेको हुन्छ, देख्न पनि राम्रै देखेको हुन्छ। तर, अरुले मूल्याङ्कन गर्दा फरक भएको हुनसक्छ। त्यस्तो बेलामा प्राप्त सुझावका आधारमा हामी कमजोरी सच्याएर अघि बढ्न तयार छौं।’
सभामा महानगरका प्रवक्ता एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले, सहिदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने खाँचो औंल्याए। ‘विकृत सोचले समस्या सृजना भएका छन्। अव सामुहिक हितका लागि सोच राख्नुपर्छ। यसबाट प्राप्त परिणामले सहिदको सपनामा योगदान पु¥याउँछ’ डंगोलको भनाइ थियो।
यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। यसैगरी माघ १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
उहाँहरुलाई ज्यानदण्ड दिइएको स्थानमा सहिद स्मारक स्तम्भ र शालिक राखिएका छन्। सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराउनुभएको हो। गएको बर्ष दुवै सहिदको पूर्ण कदका शालिक अनावरण गरिएका हुन्।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७