हरिप्रभा खड्गी (श्रेष्ठ) ले देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंको उपमेयर भएर काम गरेको चार वर्ष पुग्दैछ। नेपाली कांग्रेसको राजनीति गर्दै काठमाडौंको उपमेयर भएकी खड्गी ‘बोल्ड’ निर्णय गर्न डराउँदिनन्। रानीपोखरी पुनर्निर्माणका विषयमा मेयर विद्यासुन्दर शाक्यसँग भिडेरै भए पनि उनले मल्लकालीन शैलीमा पुनर्निर्माण गराउन सफल भइन्। देशकै ठूलो महानगरको महिला उपमेयर भएर काम गर्दाका चुनौति, मेयरसँग तालमेल नमिल्दाका राजनीतिक उतारचढाव लगायत विषयमा केन्द्रित रहेर उपमेयर खड्गीसँग आयोमेलकर्मी रेणु त्वानाबासुले गरेकाे कुराकानीः
उपमेयर भए पनि पनि महत्वपूर्ण निर्णयहरू थाहा नहुनुका कारण के हो?
पहिलो त म सूचनाको अभाव कमी नै भन्छु। महानगरपालिकाको कमी कमजोरी नै यही हो भन्छु। सल्लाह सुझाव लिएको खण्डमा धेरै कुरा आउँथ्यो। त्यसले गर्दाखेरी कस्तो के गर्दाखेरी राम्रो हुन्छ भनेर सोच्न सजिलो हुन्थ्यो। महानगरमा भने त्यस्तो छैन। सबै मेयर आफैंले मसँग सल्लाहबिना नै काम गर्दै आउनुभएको छ, किन हो कुन्नी?
इतिहास मेटाउने काम गर्नु हुँदैन भन्छु म। त्यही बचाउने पक्षमा भएकाले पनि होला मेयरसँग कुरा नमिलेको। सायद म पनि उहाँजस्तै बिगार्ने पक्षमा भएको भए कुरा मिल्थ्यो कि?
सल्लाह नगर्नुको कारण के होला?
महिला उपमेयरको ट्रेन्ड पहिलोपटक भएर होला। अर्को, मलाई लाग्छ पुरुषहरूको मानसिकतामा महिला कमजोर छन् भन्ने हो। उनीहरूले केही गर्न सक्दैनन् भन्ने सोच चाहिँ छुटेको छैन। त्यो पनि एउटा कारण हो जस्तो लाग्छ। महिला आज उपमेयरको पदसम्म पुग्दा पनि महिलालाई हेर्न दृष्टिकोण चाहिँ फेरिएको छैन। त्यही कारणले पनि सल्लाह सुझाव गर्न नचाहेको हो कि जस्तो लाग्छ। महिलालाई के थाहा हुन्छ भन्ने जस्तो व्यवहार छ अहिले पनि।
तपाईंले भन्नुभए जस्तै महिलालाई सम्मान कहिले होला त?
पहिलाको तुलनामा अहिले महिलालाई सम्मान गर्ने गरेको देखिन्छ। अब सायद महिला नै मेयर भएर कार्यभारको जिम्मेवारी पूरा गरेपछि विस्तारै यो क्षेत्रमा पनि महिलालाई सम्मान गर्न थाल्छन् भन्ने विश्वास छ।
भविष्यमा मेयर बन्ने सोच छ कि छैन?
उपमेयर भएको चार वर्ष पुग्दैछ। कति काम गरियो, कति काम गर्न बाँकी छ। अर्को निर्वाचनमा मेयर भएर कार्यभारका जिम्मेवारी लिएर जनताको सेवा गर्न चाहन्छु। उममेयर भएर मात्र नभई मेयर भएर पनि आफ्नो जिम्मेवारी देखाउन चाहन्छु।
सबै उपमेयर महिला दिदीबहिनीले आफ्नो अधिकार बुझेर काम गर्नुपर्छ। महिलाहरू उपमेयरमा मात्र सीमित नभई अब त उपप्रमुखले मेयर ताक्ने हो नि! मेयर पछि मन्त्री, प्रधानमन्त्री बन्ने हो।
महानगरका योजनाबारे मेयरले तपाईंसँग सल्लाह नगर्नुको कारण तपाईंहरूको राजनीतिक पार्टी छुट्टाछुट्टै भएर पनि हो कि?
यो पनि एउटा कारण हो। तर, जनताले हामीलाई छनोट गरेर यो पदमा पठाएका हुन्। यो पदमा पुगेपछि पार्टीलाई कम महत्व दिएर जनताको हितको काम गर्न मिलेर काम गर्नुपर्छ। पार्टी छुट्टाछुट्टै भयो भन्दैमा मनपरी गर्नुभएन नि। म त जनताको हितमा हुने कामका लागि हरकदम साथ दिन तयार छु। पुरुषको जीवन महिलाबिना चल्दैन। घरपरिवारमा पनि बिहे गरिसकेपछि श्रीमतीसँग नै सल्लाह गरेरै अगाडि बढिरहेको पाइन्छ।

उपमेयर भएर के-के काम गर्नुभयो त?
मेरो अगुवाइमा बनेका केही ऐतिहासिक काम भन्नुपर्दा रानीपोखरी मल्लकालीन शैलीमा पुनर्निर्माण सम्पन्न भयो। अर्को बागदरबार जुन अमेरिकाले गरेको डिजाइनमा बन्न लागेको थियो, त्यसलाई बन्न दिइनँ। बागदरबार अहिले पुनर्निर्माण भइरहेको छ। त्यस्तै टुँडिखेल (रत्नपार्क) जसमा सुरुमा स्मार्ट शौचालय, चमेना गृह र फार्मेसी एक-एकवटा मात्र बनाउने भनेर पछि ५१ वटा पसल राखेका थिए, त्यो हटाउन लगाएँ। अर्को, अहिलेको कमलपोखरी जुन कंक्रिटको नभई पुरानै शैलीमा बनाउनुपर्छ भन्ने पक्षमा आवाज उठाइरहेकी छु।
भक्तपुरको पोखरीमा किन पानी सुकेन त भन्दा ती पोखरी अहिले पनि पुर्खाले जसरी बनाएर छाडेका थिए, त्यही शैलीमा बनाएका छन्। त्यसैले त अहिलेसम्म पनि सिद्धपोखरी, कमलपोखरीमा पानी सुकेको छैन।
तपाईंको विचारमा मेयरले मनोमानी गरेको जस्तो लाग्छ?
मनोमानी त के भनौं। मेयरले काम एकथरी गर्छु भन्नुहुन्छ तर गर्ने बेला अर्कोथरी गर्नुहुन्छ। कमलपोखरीको विषयमा पनि, पोखरी बनाउँछु भन्नुभएको थियो। मैले पनि हुन्छ भनेको थिएँ।
शिलान्यासमा पनि गएको थिएँ, तर पोखरी कसरी बन्न लागेको भन्ने विषयमा मलाई केही थाहा थिएन। पोखरी कस्तो बन्छ भन्ने विषयमा मेयरले केही भन्नुभएको थिएन। पछि मिडियामार्फत माछा मरेको फोटो देखेपछि थाहा पाएँ। महानगरको उपमेयर भएर थाहा छैन भन्दा धेरैले प्रश्न गरे। मलाई बोलाएकै छैन त्यस विषयमा कुरा गर्न त म कसरी जाने? बोलाए पो जाने होइन र? मेयरलाई जति थाहा हुन्छ मलाई थाहा हुँदैन।
स्थानीय सरकारको मुख्य दायित्व के हो?
स्थानीय सरकारको मुख्य दायित्व भनेको जनताका समस्या समाधान गर्नु हो। जनताका आवश्यकता, समस्या तथा वरपर भएका सम्पदालाई जोगाउनु हो।
हामी मेयर–उपमेयर भयौं भन्दैमा सबै विषयमा विज्ञ हुन्छौं भन्ने सोच गलत हो। कुनै पनि काम गर्दा सम्बन्धित विज्ञहरूसँग सल्लाह गर्नुपर्छ भन्ने मेरो मान्यता हो। यसका लागि एकपटक मात्र नभई दसपटक भए पनि सल्लाह गर्नुपर्छ।
पहिला र अहिलेमा उपमेयरको भूमिका के फरक छ?
पहिलाका उपमेयरलाई केही पनि कार्यभार दिइँदैनथ्यो। नाममात्रको उपमेयर हुन्थे। अहिले त मेयरलाई भन्दा पनि उपमेयरलाई भ्याइनभ्याई छ। अहिले त मेयर बाहिर गएको खण्डमा पनि सबै कार्यभार उपमेयरले सम्हाल्नुपर्ने हुन्छ। त्यस्तै अहिले उपमेयरलाई चारवटा कार्यभार दिइएको छ। न्याय समिति, अनुगमन समिति, बजेट तथा तर्जुमा समिति र राजस्व परामर्श समिति हेर्ने जिम्मेवारी छ। विशुद्ध सामाजिक काम दिइएको छ। जनताको समस्या केन्द्र सरकार समक्ष पुर्याउने बाटो बनेर काम गरिरहेका छौं।
विकास गर्दा धेरै सोचेर, सल्लाह सुझाव लिएरमात्र गर्नुपर्छ भन्छु म चाहिँ। काम गरेको छु भनेर काम सक्काउने हिसाबले मात्र गर्नुभएन। भविष्यमा पनि त्यो विकासले असर नपरोस्। दीर्घकालीन विकास होस् भन्छु म।
कुन–कुन कुरामा समन्वय भएको छैन?
कुनै पनि विषयमा समन्वय भएको छैन। उपमेयरको कार्यभार सम्हालेको सुरुको बैठकमा मैले बोर्ड बैठक बस्नुभन्दा ४८ घन्टा अगाडि सबै पदाधिकारीहरूको हात–हातमा अजेन्डा हुनुपर्छ भन्ने माग राखेकी थिएँ। त्यस्तै बोर्ड बैठकको त के कुरा, ६–६ महिनामा हुने नगरपरिषद बैठकको अजेन्डा पनि पाएका छैनौं। डाइरेक्ट नगरपरिषदमा पाउँछौं। यसले गर्दाखेरी अजेन्डाहरूका बारेमा अध्ययन गर्न समय भएन। आज आएर यो पनि राजनीतिको एउटा पाटो हो कि जस्तो लागेको छ।
महानगरले गर्नुपर्ने काम के हुन्?
महानगरको काम भनेको बनिसकेको अव्यवस्थित सहरलाई व्यवस्थित गर्नेमात्र हो। यसैलाई स्मार्ट सिटी बनाउने भनेर सहरलाई भताभुङ्ग गर्नु बेकार हो। स्मार्ट सिटी बनाउने नाममा, भएका मौलिक सहरलाई बिगार्नु भएन। बरु, हाम्रो छिमेकी देश भारतले जस्तै नयाँदिल्ली, पुरानो दिल्ली बनाए जस्तै बनाउनुपर्छ भन्छु। भएको सहरलाई व्यवस्थित गरौं। नयाँ स्मार्ट सिटी अर्को बनाऔं, यसैलाई स्मार्ट सिटी बनाउनमा नलागौं। प्रदुषणमुक्त, फोहोरमुक्त, ट्राफिक जामबाट मुक्त महानगर बनाउने हाम्रो लक्ष्य हो।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७