प्रशासन कार्यालय कञ्चनपुरले मंगलबार सूचना जारी गर्दै महाकालीको तटीय स्थानमा बस्ने नागरिकलाई सचेत रहन आग्रह गर्यो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीले एउटा सूचना निकाल्दै भनेका छन् ‘दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोका कारण महाकाली नदी थुनि गएकाले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्नसक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएकोले महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको ब्यहोरा अनुरोध छ।’
यो सूचनासँगै सावैजसो सञ्चारमाध्यमहरूले लेखे ‘महाकालीमा पहिरो’, ‘महाकाली नदी थुनियो...।’
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयकाे याे सूचना र मिडियामा आएका समाचारहरू सरसर्ती हेर्दा त लाग्छ, ‘महाकाली नदीमा ठूलै सुख्खा पहिराे खसेछ। र, नदी थुनिएर साँच्चिकै खतरा बढेछ।’
महाकालीमा के भएको हो?
अहिले त त्यहाँ ठ्याक्कै केही भएकै होइन।
तर, ब्यास गाउँपालिकामा पर्ने माल्पा भन्ने ठाउँमा महाकाली नदीमा वर्षायाम देखि नै कङ्क्रिट थुप्रिएका छन्।
भारतले विस्तार गरिरहेको बाटोबाट ठूलाठूला चट्टानहरू खसिरहन्छन्। खासगरी कालापानी, लिपुलेख क्षेत्रमा भारतले मानसरोबर जोड्नका लागि बनाएको मोटरबाटो अहिले पनि विस्तार हुने क्रममा छ।
बाटो चौडा गराउने क्रममा त्यहाँ वर्षायाममै ठूला ठूला चट्टान र माटो खसेको थियो। त्यो बेला महाकाली नदीमा पानी पनि धेरै थियो। त्यसैले त्यो बेला झन् धेरै डर थियो।
भारतले बेला बेलामा डोजर लगाएर नदी थुनेका ती चट्टानहरू पन्छाउँदै आएको थियो। तर, हिँउद याम लागेपछि उसले त्यो काम गरेको थिएन।
‘त्यो वर्षा यामदेखि नै बनेको ड्याम हो। अहिले नै पहिरो खसेर भएको होइन’ प्रमुख जिल्ला अधिकारी सरदकुमार पोख्रेलले आयोमेलसँग भने, ‘त्यत्ति धेरै खतरा केही होइन। अहिले पनि त्यहाँबाट चट्टान हटाउने क्रम जारी छ।’
उनका अनुसार कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दार्चुलासँग कुनै समन्वय गरेको छैन। कञ्चनपुरका अधिकांश भाग महाकालीकै तल्लो तटीय क्षेत्रमा पर्छ।
पल्लोतिर भारतले बाटो बनाइरहेको छ। वल्लोतिर नेपालको ब्यास गाउँपालिका पर्छ। माल्पा भन्ने ठाउँको नाम भने दुबैतिर चल्छ। बीचमा महाकाली नदीले सिमाना छुट्याएको छ। माल्पा ब्यास गाउँपालिकाको वडा नं. १ र २ को सिमाना पनि हो।
‘त्यहाँ नदी पनि साँघुरो छ। अनि केही चट्टान खसेपछि पानी थुनिन्छ। अहिले नदी पूरै थुनिएको छैन। वर्षायाम देखि नै त्यस्तै छ। छेउ छेउबाट पानी बगिरहेको छ’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘त्यो माल्पाको घाँटेभीर, तम्बाखे भीर भन्ने क्षेत्रमा हो। ठाउँ जस्तै त्यहाँ नदी निकै साँघुरिएर बग्छ। तर अहिले पानी घटेको छ। खास केही खतरा छैन। चट्टानहरू पन्छाउने काम पनि भइरहेको छ।’
यो ठाउँ पुग्नका लागि दार्चुला सदरमुकामबाट ३ दिन लाग्छ। त्यहाँ भारतले आफ्नो क्षेत्रमा मानसरोबर पुग्ने बाटो बिस्तार गरिरहेको छ। र, बाटो चौडा गर्ने क्रममा ठूला ठूला चट्टान फोड्दा ती सिधै नदीमा खस्छन्।
‘खासमा भएको भएको यही हो। त्यो पहिलादेखि कै हो। अहिले वा हिँजो, आज नै थुनिएको होइन’ पोखरेलले भने, ‘खासमा खतरा भए पनि पहिला दार्चुलामा नै हुने हो। एकैपटक कञ्चनपुरमा खतरा कसरी पुग्यो?’
तर, कञ्चनपुर जिल्लाका प्रमुख रामकुमार महताेले भने त्यसबारे प्रहरीले सूचना गरेपछि आफूहरूले तटीय क्षेत्रका नागरिकलाई जानकारीका लागि सूचना निकालिएको बताए।
‘हामीले प्रहरीबाट नै सूचना पाउने हाे। त्यही आधारमा याे सूचना निकालेका हाैं। यदि नदी थुनिएकै हाे र त्याे ड्याम फुट्याे भने त खतरा यहाँ पनि हुन्छ। तटीय क्षेत्रमा बाक्लो वस्ती छ’ उनले भने, ‘यहाँ ठूला बाँधहरू पनि छन्। बाटाे पनि बन्दैछ। यो तल्लो तटमा नदीमा बहाव धेरै भयाे भने खतरा नै हुन्छ।’
तर, दार्चुलाका प्रमुख जिल्लाअधिकारी पाेखरेलका अनुसार भने अहिले नै त्यस्ताे कुनै ताल फुट्ने वा पानी एकैपटक हुत्तिने सम्भावना भने छैन। पानीकाे निकास पनि भइरहेकाे छ।
‘अहिले नदीमा पानी पनि कम छ। फुटेर एकैपटक हुत्तिने सम्भावना छैन। अलिअलि पानीकाे निकास भइरहेकाे छ’ उनले भने, ‘तर वर्षायाममा भने त्यहाँ नदी थुनिएकै थियो। पानी पनि धेरै तालिएको थियो।’

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७