दरबारमार्गका बिजुली खम्बाहरूमा बिहीबार साँझदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिर झुन्डिन थालिसकेका थिए।
ओलीसँग छुट्टिएका ‘प्रचण्ड–माधव’हरूले बिहीबार आकस्मिक ‘आम हड्ताल’ गरेका थिए।
संवैधानिक आयोगहरूमा नियुक्तिको विरोध प्रचण्ड समूहको बाहानामात्रै थियो। खासमा उनीहरू ओलीको शुक्रबारे सभालाई केही न केही प्रभावित पार्नै चाहन्थे।
ओलीकै भाषामा माघ ८ गते भृकुटीमण्डप सडकबाट ‘प्रचण्ड–माधव’हरूले उनलाई लल्कारेका थिए। र, त्यसैको जवाफमा ओलीले नारायणहिटी अगाडि ‘देखाइदिएका’ हुन्।

‘दरबार’ अघि ओली
राजनीतिक इतिहासमा सायद यो एउटा त्यस्तो ‘दुर्लभ’ जनसभा हो, जहाँ बहालवाला प्रधानमन्त्रीले देशभरिबाट कार्यकर्ता ओसारेर आफ्नै पार्टीका ‘विरोधी’लाई देखाए।
सामान्यतयाः ‘एलिट’ काठमाडौंवासीको ‘सडक’ भनेर चिनिने दरबारमार्गका आफ्नै विशेषता छन्।
राजनीतिक सभाहरू विरलै हुन्छन्, यो सडकमा। कहिलेकाहीँ हुने संगीतका ‘उधुम’बाहेक।
तर, ओलीले त्यही सडक रोजे। ‘संग्रहालय’ भइसकेको नारायणहिटी दरबारलाई पृष्ठभूमिमा राखेर।
नारायणहिटीको दक्षिणी गेटमै एउटा मञ्च तयार गरिएको थियो। दरबारको आधा भाग छोपिनेगरी मञ्चको छेउमा पूर्ण कद (कट-आउट) का ओली टाँगिएका थिए।
भित्र दरबारछेउ ठडिएको ‘राज टावर’ अघि ओली निकै ‘फुच्चे’(ओलीकै भाषामा) लाग्थे।
कुनै समय थियो, नारायणहिटीअघिको यही ठाउँमा त्यो बेलाका ‘राजा’का ‘पूर्णकद’ चढाउँथे उनका भक्तहरूले।
राजा वा राजपरिवारका सदस्य कसैको कुनै शुभत्सोवमा।
र, यसपालि पनि त्यस्तै देखियो। ओलीका ‘सिङ्गो कद’ बोकेर महेश बस्नेतहरूले अघिल्लो दिन नै काठमाडौं फन्को मारिसकेका थिए।

ओलीले के भने?
खासमा केही भनेनन्।
धेरैलाई लागेको थियो, ‘नारायणहिटी अगाडि उभिएर ओलीले के भन्लान्?’
यसबारे आम नागरिकलाई पनि उत्तिकै चासो थियो। अनेकथरि टिकाटिप्पणी, विश्लेषण र अनुमानहरू आइरहेका थिए।
तर, ओलीले केही भनेनन्। एउटा डिजिटल पर्दामा आफैंभन्दा ठूलो ‘साइज’मा देखिएका ओलीले वस् आफूबाट छुट्टिएर गएका ‘प्रचण्ड–माधव’हरूलाई गालीमात्रै गरे।
त्यही भने जो यसअघि उनले आफ्ना कार्यकर्ताहरूको भेलामा भन्थे।
प्रतिनिधिसभा किन बिघटन गर्नुप-यो? यहाँ पनि ओलीले भनिदिए, ‘पार्टीकै साथीहरूले काम गर्न नदिएर।’
अहिले नै चुनावमा किन जानुपर्ने? उनको रेडिमेड जवाफ उही नै थियो ‘ताजा जनादेशका लागि।’
र, यो सभामा त अत्तालिँदै उनले भुइँमा बसिरहेका कार्यकर्तालाई हुटिङ नै गर्न लगाए, ‘देश चुनावमा गयो–गयो। चुनाव चाहियो–चाहियो...।’
यो हुँकारमा ओलीको कुनै ‘दम’ भने देखिएन, मात्रै उनको चिच्याहट सुनिन्थ्यो। आत्मविश्वास होइन, उनको अनुहारमा ‘हतासी’ नाचिरहेको थियो।

लामो कालो कोटभित्र रातो गलबन्दी भिरेर मञ्चमा उक्लिएका ओली बोल्दा किनै हतारिइरहेका थिए, आत्तिइरहेका थिए। हडबडाइरहेका थिए।
उनले देशमा भइरहेका केही विकासे योजनाहरूको फेहरिस्त बताए। भारतले दिएको ‘उपहार’वाला खोपका कुरा भने। कोरोना नियन्त्रणतिर गइसकेको भने।
र, ठोकुवा गरे ‘मैले गरेको जस्तो काम इतिहासमा कसैले गरेन।’
सत्य हो, उनले गरेको जस्तो काम कस्ले पो ग-यो र? अरुले त संविधानमै भएको अधिकारलाई (दुरु)प्रयोग गरेका थिए। उनले नभएकै अधिकार प्रयोग गरिदिए।
रातारात कीर्ते गरिदिए। जे मन लाग्छ त्यही गरिदिए। उनकै भाषामा यस्तो त कस्ले ग-यो र?
प्रचण्डहरूलाई देखाइदिन नै उनले यो सभा गरेका थिए। र, यहाँ उनले भनिदिए ‘यो जनासभा त कास्टिङमात्रै हो। हामीले चाह्यौं भने काठमाडौंका चोकचोकमा ठूला–ठूला स्क्रिन राखेर, चोकचोक, गल्ली गल्लीहरूमा स्पिकरहरू राखेर हामीले पूरै काठमाडौंभरि एकैपटक जनसभा गर्नसक्छौं।’
हो, एउटा बहालवाला प्रधानमन्त्री त्यो पनि ओलीजस्ता ‘धुरन्धर’ले त गर्न नसक्ने के नै छ र? चाह्यो भने यो उनका लागि केही पनि होइन।
अनि ओलीले भनिदिए ‘हामी नै हो मूल पार्टी, कम्युनिष्ट पार्टीको मात्र होइन, देशकै मूल पार्टी हो।’
कानुनी कठघरामा उभिएका यी र यावत प्रश्नहरूको जवाफ ओलीले नारायणहिटी अगाडि नै दिए। मानौं उनी नै सर्वाेच्च अदालतको फैसला सुनाइरहेका छन्, निर्वाचन आयोगको अन्तिम निर्णयहरू सुनाइरहेका छन्।
‘नारायणहिटी कार्यक्रम राखेर ओलीले हिन्दु राष्ट्र घोषणा गर्छ भनिएको छ, राजा फर्काउने घोषणा गर्छ भनिएको छ।’
र, ‘नारायणहिटी’लाई सम्बोधन गर्दै ओलीले भनिदिए, ‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो त्यही केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे! हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्नसक्दैन।’
अन्तिम माघको शुक्रबारे घाम पनि दिउँसोपख ओइलाउन लागिसकेको थियो। यसअघि नै मौसम विभागले वर्षा हुने आंकलन गरिसकेको थियो र, शुक्रबार आकाश सिमसिमाउन थालेको थियो।
चिसो पनि असाध्यै बढिरहेको थियो। बोल्दा बोल्दै ओलीको आँखामा आँशु आयो। रुमालले आँशु पुछे। केही बेरमा उनका प्रेस सल्लाहकार सूर्य थापाले केही इशारा गरे अनि ओलीले भाषण सिध्याए।
उनकाे याे आँशु भावुकतामा बगेकाे थिएन। चिकित्सकहरूका अनुसार चिसाे र धुलाे अनि धुँवाकाे कारण हाे।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७