एक तिब्बती राजा समाजमा भएको दुःख, रोग, गरिबी र अपराधका घटनाबाट दिक्क भएछन्। सोचविचार गर्दा सबै कुराको कारण सदियौँदेखि रहेको आय र सम्पत्तिमा भएको असमानतालाई ठानियो र राज्यका सबै सम्पत्ति एकत्रित गरेर सबै जनामा बराबरी बाँडियो। तर त्यसो गर्दा पनि दुःख कम हुनु त कता हो कता आय र सम्पतिको वितरण २-४ वर्षपछि पुनः पुरानै स्थितिमा फर्किएछ। फेरि पटक पटक पुरानै तरिकाले समान वितरणको योजना लागू गरियो। नतिजामा कुनै परिवर्तन आएन।
के शिक्षा लिने होला यो कथाबाट हामीले?
समाजवादी समानताको अनुपम प्रयोग थियो यो। यो कथामा यस्तो खालको समानताको प्रयोग गर्दाका सामाजिक-आर्थिक र मानवीय लागतहरुको कुनै वर्णन छैन। तर त्यस्तो लागत थाहा पाउन स्टालिनको गुलामको कथा वा माओको वितरण नीतिको परिणाम पल्टाएर हेर्न सकिन्छ। यस्ता प्रयोगहरुमा १० करोडभन्दा धेरै निहत्था सर्वसाधारणको राज्य प्रायोजित हत्या भएको कुरा इतिहासकारमाझ लुकेको छैन। तथाकथित रुपमा ‘पूँजीवादी’ भनिएका प्रथम र दोश्रो विश्वयुद्धमा गरेर करिब ७ करोडको हत्या भएको थियो। तीमध्ये आधाजसो सैनिकहरु थिए।
नेपालमा पनि ४-५ दशक देःखि समाजवादी समानताको यस्तै सपना खुबै बाँडिएको छ। यो स्वप्नील (धन्न व्यावहारिक हुन पाएन) प्रयोगको परिणाम आमनिराशा शिवाय अरु केही् हुन सक्ने पनि थिएन। अझ सबै सामाजिक मूल्यहरुको ‘सामन्तवाद’ वा ‘पुरातनवाद’ वा ‘पूँजीवाद’ विल्ला भिराएर बलात् हत्या भएपछि समात्ने जरा र हाँगाको अभावमा सम्पूर्ण राष्ट्रिय चेतना पनि निराशा र मूल्यहीन अस्तित्वको भुमरीमा नफसी अर्को बाटो नै पो कहाँ थियो र? न बजार मूल्य बाँकी रह्यो, न राष्ट्रिय मूल्य। नेपालमा विगतमा बजार र राज्यप्रति जति घृणा रोपिएको छ, त्यो हालको देशको अवस्था व्याख्या गर्न काफी छ। नेपाली जनका लागि त्यो समानताको नक्कली स्वर्ग केवल भूतको रुपमा रहेको छ। भूतले तर्साउँछ मात्र। सपनामात्र हैन विपना नै बेहाल पार्छ। भलै अस्तित्व आजसम्म विज्ञानले प्रमाणित गरेको छैन।
उचाइ, उमेर, लिङ्ग, रंग, आवेग, छनोट, चाहना, खुबी, बल, बुद्धि, रोग प्रतिरोधि क्षमता, बाल्यकाल, सुनेका कथाहरु, कुलको इतिहास र परम्परा, वा सुःखको परिभाषा? कुन कुरा नापेर दुई समान मानिस पत्ता लगाउन सकिएला यो दुनियाँमा?
सो कथामा जस्तो राज्यद्वारा गरिने समानताको जबरजस्त प्रयोग किन असफल हुन्छन् त? यो ब्रह्माण्डमा सायद कुन दुई कुरा होलान् जुन समान होलान्। कुनै दुई कुराको नाप लिनेबित्तिकै दुवै नतिजा समान आउने सम्भावना कति होला? कुनै दुई तारा वा ग्रह होलान् त, हर हिसाबमा समान? कुनै दुई रुख? कुनै दुई नदी वा पानीका नमुना? कुनै दुई जीवनकथा? मानिसको कुरा गरौँ। आखिर समाजवादले समानता लागू गर्न खोजेको त मानिस-मानिसबीच न हो। के दुई मानिस कुनै अवस्थामा समान हुन सक्लान्? के कुरामा समानताको कुरा गर्ने। उचाइ, उमेर, लिङ्ग, रंग, आवेग, छनोट, चाहना, खुबी, बल, बुद्धि, रोग प्रतिरोधि क्षमता, बाल्यकाल, सुनेका कथाहरु, कुलको इतिहास र परम्परा, वा सुःखको परिभाषा? कुन कुरा नापेर दुई समान मानिस पत्ता लगाउन सकिएला यो दुनियाँमा?
फेरि उत्तर आधुनिकवादीहरुले समाजवादीहरुको नजाँनिदो प्रतिरक्षामा यसो पनि भन्छन्–मानिसमा भएका सबै भिन्नताहरु कृतिम र संस्कृतिजन्य हुन्, निर्मित हुन्। प्राकृतिक रुपमा सबै समान नै हुन्छन्। आदिम मानव समाजमा साम्यवाद थियो भन्नेहरु यत्रतत्र वामपन्थी विद्वानका रुपमा देखा पर्ने गरेकै छन्। यो जत्तिको धेरै बिक्री भएको ठूलो झुठ यो संसारमा अर्को केही छैन होला सायद। मानिसले तय गरेको यात्रामा हालको समयलाई स्वर्णयुग भन्न सकिन्छ। यो प्रगति नाप्न कुन सूचकाकं प्रयोग गर्ने हो, त्यो पाठकमा नै छोड्छु। यो एउटा चुनौती नै हो सायद। मानव सभ्यताको सुरुवातमा मान्छे कस्तो क्रुर र बर्बर जीवन बाच्थ्यो भनेर थाहा पाउन पुरातत्त्व र इतिहासका केही सुरुवाती पानाहरु पल्टाए प्रमाणहरुको बाढीले पढ्नेलाई बगाउँछ।
लौ भैगो, मानिस पुरै कृत्रिम नै छ रे, अन्य प्राणीको तुलनामा। पशु या वनस्पतिहरुको कुरा गरौँ न त। के तिनीहरु सामाजवादको समानतारुपी भूतको प्रत्यक्ष दर्शन नै गर्छन त ‘सुन्दर’ प्रकृतिको छायाँमा, हरेक पल। प्राइमेटोलोजिस्ट फ्रान्स डि वाल को ‘चिम्पान्जी पोलिटिक्स’ भनौं या जेन गोडालको ‘चिम्प्स अफ गोम्बे’ को कुरा गरौँ, चिम्पान्जीहरु (जो आणुवंशिक हिसाबमा मानिसको सबैभन्दा नजिकको प्राणी हो, अर्थात् मानिस र चिम्पान्जीको पुर्खा केही लाख वर्ष अगाडि सम्म एकै थिए) मानिसभन्दा कुनै हिसाबमा कम हिंश्रक वा कम असमान वा कम अत्याचारी देखिँदैनन्।
मानव समाज अपवाद हो तर सकारात्मक तवरमा। प्रकृति त पुरै असमानताबाट नै फल्ने र फुल्ने हो। वनस्पतिहरुको दुनिया पनि कम क्रुर छैनन्। ठूलाले सानालाई मिचेरै आफ्नो अस्तित्व जोगाएका छन्, करोडौँ वर्षदेखि।
वास्तवमै मानव सृजित जाति व्यवस्था र छुवाछुत कमिलाको राज्यहरुमा हुने जैविक विभेदका अगाडि के नै होलान र? एउटै समुदायका कमिलाहरुलाई जैविक रुपमै प्रकृतिले फरक फरक कामका लागि फरक फरक ढंगले विकास गरिदिएको हुन्छ। एउटा काम गर्न जन्मेको कमिला अर्को काम गर्न भौतिक रुपमै सक्षम हुँदैन। नेशनल जोग्राफीमा सिंह र हुँडारको, हात्ती र गोहीको सामाजिक न्याय त हामीले देखेकै छौँ। सबैभन्दा कमजोरलाई समाजले हेर्नु पर्छ भन्ने कुरा केवल र केवल मानव समाजमा सीमित छ। मानव समाज अपवाद हो तर सकारात्मक तवरमा। प्रकृति त पुरै असमानताबाट नै फल्ने र फुल्ने हो। वनस्पतिहरुको दुनिया पनि कम क्रुर छैनन्। ठूलाले सानालाई मिचेरै आफ्नो अस्तित्व जोगाएका छन्, करोडौँ वर्षदेखि।
अतः पूर्ण समानता पुरै अप्राकृतिक मात्र होइन, असम्भव पनि छ। मानिसले प्रकृतिलाई केही हदसम्म नियन्त्रण गर्न सक्छ तर प्रकृतिको आधारभूत नियमको पुरै उल्टो कहिले हिँड्न सक्दैन। कसैले पनि सक्दैन।
अब कुरा गरौँ समानताको लक्ष्य कति सुन्दर लक्ष्य हो त? एकछिनलाई मानौँ समानता सम्भव छ रे। तर के समानता ग्राह्य छ? समानता तीव्र असमानताभज्ञन्दा कयौँ गुणा कुरुप र विश्रृङखल छ। असमानता आजको यथार्थ हो। तर असमानता के हो हामी कमैले गहिरोसँग सोच्ने गरेका छौँ। मानौं एउटा समाजमा ४ जना मानिस छन्। सबैको आय शून्य छ भने यो एउटा पूर्ण समानताको अवस्था हो। हुन त सबैजनासँग एक–एक हजार रुपैयाँ भए पनि पूर्ण समानता नै हो। तर १ जनासँग १ अर्ब रुपैयाँ र बाँकी तीन सँग १-१ लाख भयो भने यो चरम असमानता हो। पूर्ण असमानताको पनि कुरा गर्न सकिन्छ तर सान्दर्भिक छैन यहाँ।
अब हामी कुन समाजको चाहना गर्ने त। दोश्रो (असमानताको) अवस्था पहिलो (समानताको) भन्दा असीमित गुणा उत्तम अवस्था होइन र? १ लाखले राम्रो जीवन चल्दा १ अर्ब हुनेको खोसेर बाँड्नै पर्छ र? १ लाख कमाउनेले २ लाख कमाउँदा, १ अर्ब कमाउनेले १० अर्ब कमाउँदा के को समस्या? घृणा र विभाजन नरोपी समानताको भूत कहाँ जागाराम हुन्छ र? विभाजनको रेखा कोर्न अनेक असमानताका पाटाहरु सबै समाजमा सँधै हुन्छन् नै। समानताको अलापभित्र लुकेको यही घृणाको वृक्षले राष्ट्र र समाजलाई पोलिरहेको हो। पुछारको व्यक्तिले पनि समयानुकूल प्रगति गर्नु महत्वपूर्ण हो कि सबै वृद्धि समान रुपले बाँड्नु प्राथमिकता हो? खोसेर बाँड्ने नीतिको नैतिक धरातल कति कमजोर हुन्छ र यसको परिणाम कति भयङ्कर र छोटो आयुको हुन्छ भन्ने कुराको व्याख्या त अर्को लेखमा गरौँला नै।
हो असमानता अन्यायमा पनि निर्दयी रुपमा व्याप्त छ। तर समाधान अन्यायको समान वितरण पनि होइन र इतिहासलाई दुत्कार्नु पनि होइन। समस्या छ तर समाधान कम्तिमा पनि सरल छैन। समस्याभन्दा हानिकारक समाधान रोज्नु उचित पनि होइन।
तर्क यस्तो पनि आउँछ। हालको असमानता विगतमा वलपूर्वक गरिएका अन्यायपूर्ण व्यवहारद्वारा सृजित हुन्। इतिहासमा कुनै अन्याय हुन्नथे भने कुनै असमानता रहन्न थियो भन्नेहरु पनि छन्। राजनीतिक लक्ष्य राखेपछि विज्ञानले जति नै विपरीत तर्क र प्रमाण पेश गरे पनि तिनले स्थान पाउने कुरै भएन। कार्ल पोपरले मार्क्सवादलाई त्यसै छद्म विज्ञान भनेका हुन् र? के अब इतिहासका अन्यायपूर्ण युद्धहरुलाई पुनः लडेर न्यायको पक्षमा जित्ने हो? हाल बाँचिरहेकाहरुको पुर्खाहरुलाई शोषित र शोषकमा विभक्त गरेर नयाँ बिभाजनका रेखाहरु कोर्ने हो? फेरि बोल्सेभिक क्रान्ति गर्ने हो? जिउँदाहरु सँग मृतहरुको हिसाबकिताब माग्नु न्यायको कुन सिद्धान्त होला, विज्ञानको कुन नियमसँगत होला? अन्यायमा नपरेको यो दुनियाँमा को होला? हो असमानता अन्यायमा पनि निर्दयी रुपमा व्याप्त छ। तर समाधान अन्यायको समान वितरण पनि होइन र इतिहासलाई दुत्कार्नु पनि होइन। समस्या छ तर समाधान कम्तिमा पनि सरल छैन। समस्याभन्दा हानिकारक समाधान रोज्नु उचित पनि होइन।
एकछिन कल्पना गरौँ पूर्ण समानताको समाज। सबै संगीतकार, सबैले सृजना गर्ने संगीत उस्तै, सबैको आय उस्तै। सबै रंग पनि उस्तै। सबै बाटा उस्तै। सबै घर, गाउँ उस्तै। सबै कि सडकमा कि कारमा। सबैले गर्ने मेहेनत र संघर्षका कथाहरु उस्तै। सबैको कर्मको नतिजा उस्तै। सबैले लगाउने पहिरन उस्तै। सबैले बोल्ने भाषा उस्तै। सबैको आवाज उस्तै। सबै कि महिला मात्र कि पुरुष मात्र। सबैको उमेर उस्तै। उचाइ पनि उस्तै। सवैको परीक्षामा नतिजा उस्तै। सबैको घरमा पाक्ने कुरा उस्तै र उति नै। यो कुरुपता होला कि सुन्दरता होला? यो प्राप्य त छैन नै। मानव समाजले देखेको सपनासँग पनि यसको कुनै साइनो छैन। मान्छेको प्रकृतिसँग त यो जतिको टाढाको अर्को कुनै कुरै छैन। अनि कसरी हुन्छ समानताको प्रयोग सफल?
त्यसो भए के गर्ने त? असमानताका कुनै दोष छैनन् त? इतिहासको मुकदर्शक हुनुको विकल्प छैन त? तीन वटा कुरा गर्न सकिन्छ। प्रथम, समाजमा आफैँ केही गर्न नसक्ने व्यक्तिको जिम्मा क्रमैसँगले परिवारले, समुदायले वा राज्यले गर्नु आजको मानव मूल्य सापेक्ष हुन्छ। दोश्रो, समाजको पिँधको तप्काले पनि यथोचित प्रगतिको अवसर पाउनु पर्छ र औसत व्यक्तिको पनि प्रगति भएको सुनिश्चित गर्न सकिन्छ। तेस्रो, नियम कानुनमा खेलेर वा राजनैतिक सम्बन्धका आधारमा सम्पत्ति आर्जनको अवस्थामा कडा नियन्त्रण। यी तिनै कुराले समानता कदापि ल्याउँदैन तर यी तीन कुरा सुनिस्चित गरिएको समाज चरम असमानतामा हुँदा पनि हामी सबैले गर्व र सुःखका साथ बस्न लायकको हुनेछ। घृणा र विभाजनको रेखा नकोरिकन। कित्ताकाट नगरिकन। वर्ग शत्रुको समुल अन्त्य नगरिकन। यति भएमा समाजवादको समानता भूतले नेपाली जनलाई तर्साउन सक्ने छैन। राजनैतिक भ्रमको दशकौँको खेतिमा केही विश्राम लाग्नेछ। हामी अरुको अवस्था हरेर दुःखी हुने वा क्रुद्ध हुने अवस्थाको अन्त्य हुनेछ। साँचो रुपमा शान्त र सम्वृद्ध समाजको निर्माण आरम्भ हुनेछ।
लेखक काठमाडौं विश्वविद्यालयमा आबद्ध छन्
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७