भक्तपुर चाँंगुनारायण नगरपालिका–३ झौखेका विद्यार्थी अथर्व पालका सोमबार निकै खुसी देखिन्थे। उनको खुसीको कारण थियो, स्कुलमै गएर एक वर्षपछि पढ्न पाउनु।
कोरोनाकारण गत वर्ष चैत ६ गतेबाट बन्द भएको उनको स्कुल सोमबार पहिलो पटक भौतिक उपस्थितिमा सञ्चालन भयो।
‘धेरै साथीलाई भेट्न नपाउँंदा न्यास्रो लागेको थियो’, एभरेष्ट इङ्लिस स्कुल भक्तपुरमा कक्षा ९ मा अध्ययरत उनले भने, ‘कक्षा सञ्चालन भएसँंगै सबै साथीहरुलाई प्रत्यक्ष रुपमा भेट्न पाइयो, धेरै खुसी लागेको छ। अनलाइनभन्दा भौतिकरुपमा कक्षाकोठामा उपस्थित भएर पढ्न पाउनुको मज्जा नै बेग्लै हुन्छ।’
अनलाइन क्लासले विद्यार्थीलाई ‘केयरलेश’ बनाइदिएको अनुभव उनको छ।
सोही स्कुलमा कक्षा ९ मै अध्ययनरत छात्रा दिलासा वैद्य झण्डै एक वर्षपछि आफ्ना सहपाठी साथीहरुसँंग भेट्न पाएकोमा मख्ख छिन्।उनी भन्छिन्, ‘कक्षाका धेरै साथीहरुसँंग प्रत्यक्षरुपमा भेट्न पाइएको थिएन, आज धेरै समयपछि भेट्न पाइयो, खुसी लाग्यो। आजको दिन हामीलाई दसैं आएजस्तै भएको छ।’
नजिकका कोही साथीहरुसँंग टेलिफोनमा कुराकानी भएपनि धेरै साथीहरु सम्पर्कविहीन भएकोमा कक्षा सञ्चालनसँगै भेट भएकोमा उनी दंग थिइन्। उनी नर्सरीदेखि नै यस स्कुलमा पढ्दै आएकी छिन्।
स्कुलकी शिक्षिका संगीता किवाछें बनेपालीले पनि भौतिकरुपमा कक्षा सुरु भएकोमा खुसी व्यक्त गरिन्। स्कुलका सहकर्मीसहित विद्यार्थी भेट्न पाउँंदा खुसी लाग्नु स्वभाविक भएको उनी सुनाउँंछिन्।
स्कुलमा सोमबार पहिलोपटक कक्षा ८, ९ र १० कक्षाको पढाइ सुरु भयो। पहिलो दिन ९५ प्रतिशतभन्दा धेरै विद्यार्थी उपस्थित भएका थिए। पहिलो साता बिहान १० बजेदेखि दिउँंसो १ बजेसम्ममात्रै कक्षा चलाउने स्कुलले जनाएको छ।
विद्यालयले कक्षामा आउने विद्यार्थीलाई अनिवार्य मास्कको व्यवस्था गरेको छ। प्रत्येक कक्षाको अगाडि धारा जडान गरी साबुनपानीको व्यवस्था स्कुलमा गरिएको छ।
विद्यार्थीको सुरक्षाकालागि आफूहरु प्रतिबद्ध रहेको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी बताए। विद्यार्थीको सुरक्षाका लागि अभिभावकले गरेको सहयोगको लागि उनले आभार प्रकट गरे।
कक्षा ८, ९ र १० लाई सोमबारदेखि कक्षा सञ्चालन भएपनि ‘प्ले ग्रुप’ भने निरन्तर रुपमा चलिरहेको संयोजक सुजिता लिम्बु बताउँंछिन्। स्कुलमा अरु कक्षामा शैक्षिकसत्र अनुसार मात्रै भर्ना लिने भएपनि ‘प्ले ग्रुप’ मा भने बाह्रै महिना भर्ना लिने गरेको लिम्बुले जानकारी दिइन्।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७