गत शुक्रबार कैलारी गाउँपालिका-८ दुधियामा २८ वर्षे दुर्गाप्रसाद चौधरीसहित तीनजना साथी गफ गर्दागर्दै नजिकैको जंगलमा पसे। गाउँबाट नजिकैको सीता सामुदायिक वनमा प्रवेश गरेका तीनजना मध्ये एकजना केही पछाडि थिए। दुईजना संगसंगै गफ गर्दै हिँडिरहेका थिए। त्यत्तिकैमा पछाडि रहेका साथीले आत्तिएर ठूलो स्वरमा ‘बाघ...बाघ...' भन्दै चिच्याए।
अघि रहेका साथीलाई विश्वास लागेन। उनीहरु केहीअघि सरिसकेपछि भने नजिकै बाघ देखियो। उनीहरु आत्तिदै भागे। सँगै रहेको साथी भागिरहँदा दुर्गा प्रसादको जुत्ता निस्कियो र उनलाई भाग्न केही कठिन भयो।
यत्तिकैमा बाघले दुर्गालाई पछाडिबाट आक्रमण गरिहाल्यो। बाघको मुखमा दुर्गाको ज्याकेट पर्यो र बाघले त्यही ज्याकेट च्यापेर घिसार्न थाल्यो। सँगै रहेका दुईजना साथी भागिसकेका थिए।
भागेका साथी बाघनजिक आउनसक्ने कुरा पनि थिएन। ‘मैले लगाएको ज्याकेट बाक्लो थियो’, दुर्गाले भने, ‘जसकाकारण बाघले मेरो शरीरमा दाँत छिराउन सकेन। ज्याकेटको टोपी मुखमा च्यापेर मलाई घिसार्दै लग्यो।’ केही पर पुगेपछि भने बाघले मलाई छोडेको थियो।'
सेती अस्पतालमा उपचार गराइरहेका उनले भने,‘पुनः बाघले टाउकोमा झम्टने प्रयास गर्यो। तर, मैले हतारमा पुनः ज्याकेटको टोपी टाउकोमा लगाए। जसका कारण बाघको मुखमा पुनः टोपी नै पर्यो।’
बाघले ज्याकेटको टोपी च्यापेर पुनः उनलाई लछार्न थाल्यो। तर, टाउकोमा दाँत लगाउन भने पाएन। ‘ज्याकेटकै कारण बाघले मलाई दोस्रोपटक पनि टोक्न सकेन’, उनले भने, ‘मलाई पहिलेकै जसरी घिसार्दै लग्यो, अनि केही पर लगेर पुनः छोड्यो।’
झण्डै १० मिनेट बाघले घिसार्दै लगेपछि भने दुर्गाको मनमा बाघसँग प्रतिकार गर्ने साहस पलायो। उनले टिभीमा देखेको कुरा सम्झिए र बाघको आँखामा प्रहार गर्नुपर्ने योजना बनाए। बाघले घिसारिरहेका बेला उनले हातमा काठका स-साना टुक्रा बटुले। ‘केही पर पुगेपछि बाघले मलाई पुनः छाड्यो’, दुर्गाले भने, ‘त्यसपछि बाघ नजिक आउन खोज्दा मैले उसको आँखामा काठ तेर्स्याउन थालेँ। उ केही परा जान्थ्यो, फेरि झम्टने प्रयत्न गर्दथ्यो। मैले पनि आँखालाई निशान बनाउन थाले।’
‘बाघ जता घुम्थ्यो म पनि त्यतैतर्फ घुमेर उसको आँखामा काठको लौरा तेर्स्याउँदै गएँ’, उनले भने, ‘यसरी हाम्रो लडाईं आघा घण्टा बढी समय चल्यो, त्यत्तिकैमा गाउँले आए अनि बाघ भाग्यो।’
यसरी बाघसँग लडेर बाँचेका दुर्गाप्रसाद अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। बाघले घिसारेर लग्दा उनको शरीरको पछाडि पट्टी चोट लागेको छ। तर, बाघले शरीरमा भने नटोकेको उनले बताए।
के सो क्षेत्र बाघको वासस्थान हो?
बाघको आक्रमणबाट घाइते भएका दुर्गाप्रसाद बस्ने वडाका वडाअध्यक्ष दुखीराम कठरीयाकाअनुसार सो स्थानमा ३० वर्षयता बाघ आएको भन्ने सुनिएको थिएन। ‘३० वर्षअघि गाउँको जंगलमा बाघ आएको भन्ने सुन्ने गरेको थिएँ’, उनले भने, ‘तर, त्यसयता भने बाघ आएको सुनेको थिएनँ, मान्छे नै मार्न थालेको यो पहिलो घटना हो।’
उनले सो बाघ भारतबाटै आएको हुनसक्ने अनुमान गरे। ‘दुर्गाप्रसादलाई आक्रमण गर्नुभन्दा एकदिनअघि पनि हाम्रै वडाका केही महिलालाई बाघले लखेटेको रहेछ’, उनले भने, ‘त्यसअघि भारतीय सीमा क्षेत्रसँग जोडिएको स्थानमा पनि बाघ देखिएको भन्ने खबर आएको थियो।’ उनले पहाडी क्षेत्रमा बस्ने बाघ सानो हुने भन्दै हाल मानिसमाथि आक्रमण गर्ने बाघ भने निक्कै ठूलो रहेको बताए।
डिभिजन वन कार्यालय धनगढीका डिभिजन प्रमुख रामचन्द्र कडेलले पनि बाघ भारतबाट आएको हुनसक्ने बताए। कैलालीसँग सीमाना जोडिएको भारतीय दुधुवा नेसनलपार्कमा अहिले बाघको संख्या वृद्धि भइरहेको छ’, कडेलले भने, ‘त्यहाँ सिकार अभाव हुँदा वा साथीको खोजीमा बाघ नेपाल आएको हुनसक्छ। अण्डैयामा देखिएको बाघ ‘पाटे बाघ’ हो। यो बाघ लोपउन्मुख प्रजातिको सूचिमा परेको प्राणि हो, यसलाई मार्न पाइँदैन, नियन्त्रणमा लिएर अन्यत्रै सार्ने काम हुन्छ।’
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७