गत पुस १८ गते हेटौंडा-पथलैया सडकमा कारको ठक्करबाट एउटा वयस्क बाघको मृत्यु भयो। बच्चा जन्माउन सक्ने प्रजनन् क्षमता विकसित भइसकेको यो बाघ सडकमा निस्केको थियो र कारसँग ठोक्किन पुग्दा यसको मृत्यु भयो।
यो पर्सा राष्ट्रिय निकुन्जमा रहेको पाटे बाघ हो। पर्सा निकुञ्जमा करिब १८ वटा बाघ छन्। यो २०१८को बाघ गणनाअनुसारको संख्या हो।
त्यसको अघिल्लो दिनमात्रै वर्दिया राष्ट्रिय निकुञ्जको बीचबाट छिरेको पूर्व-पश्चिम राजमार्गमा एउटा बाघले मोटर साइकलबाटै मान्छे थुतेर मारिदियो।
मोटरसाइकलको पछाडि बसेकी महिलालाई बाघले थुतेर लगेको थियो।
उनको शव दुई दिनपछि मात्रै भेटियो। तर, उनलाई गुडिरहेको मोटरसाइकलबाटै थुतेर लैजाने बाघ कुन हो भनेर अहिलेसम्म पहिचान भइसकेको छैन। वर्दिया निकुञ्जमा करिब ८७ वटा बाघ छन्। २०१८ देखि यता बाघ बढेको हुनसक्ने अनुमान पनि गरिएको छ। तर अब २०२२मा मात्रै बाघको गणना हुनेछ।
त्यसपछिका दिनमा यो राजमार्गमा थुप्रै बाघहरू मानिससँग जम्काभेटमा परेका थिए। त्यसताका केही राजमार्गमा निस्किएका बाघका भिडियोहरू पनि भाइरल भए।
गत शुक्रबारदेखि कैलालीमा फेरि एउटा अर्को बाघले वितण्ड मच्चाइरहेको छ।
यो बाघले कैलारी गाउँपालिकाकी एक महिलाको ज्यान लिइसकेको छ भने त्यही बाघसँगको जम्काभेटमा अर्का एकजना पुरुष घाइते भएका छन्। उनको उपचार भइरहेको छ।
यो बाघ कहाँबाट आयो? अहिले नै त्यसबारे केही खुलेको छैन। जिल्ला वन कार्यालय कैलालीले त्यो बाघ नजिकैको भारतीय निकुञ्जबाट नेपालतिर हुनसक्ने अनुमान गरेको छ।
भारतको दुधवा निकुञ्ज नेपालसँग जोडिएको छ। तर स्थानीयका अनुसार बितेको ३० वर्षदेखि यो क्षेत्रमा बाघहरू देखिएका थिएनन्।
पाटेबाघ विश्वमै दुर्लभ प्रजाति हो। यो लोपाेन्मुख जनावरकाे सूचीमा छ।
किन सडकमा निस्किदैंछन् बाघहरू?
नेपालीमा एउटा भनाइ छ- ‘बाघ, राजा, सर्प र जोगी एकै ठाउँमा बसिरहन सक्दैनन्।’
यो एउटा स्वाभाविक आनिबानीबाहेक बाघ भड्किनुका अनेकन कारणहरू हुनसक्छन्। तर अहिले भड्किरहेका बाघका ‘आत्मा’बारे अहिलेसम्म कुनै तथ्यगत अनुसन्धानहरू भएका छैनन्।
सामान्यतया एउटा बाघले आफ्नो ‘साम्राज्य’ छोडेर भड्किनु भनेको अर्को नयाँ ‘साम्राज्य’को खोजी पनि हो।

वा आहार र बिहारको नयाँ खोजी हो। अथवा आफ्नो ‘यौन-जोडी’को खोजी पनि हुनसक्छ।
बाघका बारेमा अनुसन्धान गरिरहेका अनुसन्धाताहरूले गरेका यी अनुमानबाहेक बाघ भड्किनुका अरु कारण के हुनसक्छन्?
‘खासमा अहिलेमात्रै बाघहरू भड्किन थालेका हुन् भन्ने त मलाई लाग्दैन’ बाघ विज्ञ प्राध्यापक करणबहादुर शाहका अनुसार यस्तो त धेरै पहिला पनि हुन्थ्यो।
‘तर त्यो बेला नोटिस त हुँदैनथ्यो। कसैले समाचार पनि लेख्दैनथिए। अहिलेजस्तो फेसबुक वा टिकटकहरू पनि थिएनन्’ उनी भन्छन् ‘त्यो बेला पनि मानिसले सामान्यरुपले लिन्थे। अहिले हल्लाखल्ला धेरै हुन्छ। अनि सबैको नोटिसमा मात्रै परेको हो।’
हो, बाघ खासमा भड्किएर मान्छेकै ‘इलाका’ खोज्दै हिँडेका चाहिँ होइनन्। अहिलेका राजमार्ग भनेका त यिनै बाघहरूको घर नै हो।
त्यसलाई मान्छेले सजिलोका लागि आफ्नो ‘बाटो’ बनायो।
यद्यपि बाघको इलाकामा मान्छे पस्यो कि मान्छेको इलाकामा बाघ? कस्को इलाकामा को पस्यो? भन्ने कुरा त ‘मानव-वन्यजन्तु’ द्वन्द्वका सवालमा कहिलै समाधान नहुने प्रश्न हो।
‘यो त उनीहरूकै घर हो नि। अहिले बाघ कहाँ देखिएका छन्? उही जंगल नजिकका वस्तीमा। उनी जंगल बीचबाट बनाइएका सडकहरूमा’ शाह भन्छन् ‘यो त उनीहरूकै घर हो नि। आफ्नै इलाकामा निस्केका हुन्। मान्छेले मिच्न खोजेर पो यस्तो भएको हो।’
र, बाघको अर्को विशेषता के हो भने उ सधैं आफ्नो इलाकाको ‘राजै’ हुन खोज्छ। चाहे त्यो बुढो बाघ होस् वा बिरामी नै किन नहोस्?’
‘एउटा बाघ जन्मिसकेपछि उ आफ्नो आमासँग मुस्किलले डेढ वा दुई वर्षसम्ममात्रै सँगै बस्नसक्छ’ उनी भन्छन् ‘त्यसपछि उ एक्लै आफ्नो इलाका तयार गर्न खोज्छ। उ लड्छ। फाइट पर्छ। जित्नेले इलाका कब्जा गर्छ। हार्ने बाघ अर्को इलाकाको खोजीमा निस्कन्छ।’
बाघ र मान्छेको जम्काभेटमा यो एउटा संयोग हुनसक्छ।
तर, जम्काभेटमै बाघले मान्छे खान्छ? यसमा सत्य र तथ्य दुवै अलि कम छ।
खासमा मान्छे त बाघले खाने आहारा नै होइन। अर्थात् विभिन्न अध्ययनहरूले देखाएका कुरा के हो भने मान्छे बाघको आहारा प्रजातिभित्र पर्दैन।
किनकि अहिलेसम्म मान्छेको वस्ती छिरेर बाघले मान्छे खाएका घटनाहरू बिरलै छन्।
जति पनि घटना भएका छन्। जंगल क्षेत्रमै भएका छन्। वा निकुञ्ज क्षेत्रमा रहेका ‘मध्यवर्ती’ क्षेत्रमै भएका छन्। जनावरको संरक्षणका लागि बनाइएका यस्ता निकुञ्जका बीचमा मानव वस्तीलाई ‘मध्यवर्ती’ बनाइएका छन्।
त्यसैले सत्य त के हो भने मान्छे बाघको इलाकामा नजाँनिदो तरिकाले घुसेको हो। जंगल त बाघको ‘नैसर्गिक’ घर नै हो।
‘मलाई लाग्छ यस्तो त संसारभरि नै हुन्छ। पहिला पनि हुन्थ्यो र अहिले पनि भएको हो’ शाह भन्छन् ‘हाम्रो इकोसिस्टम कतिसम्म बिथोलिँदैछ भन्ने कुराहरू अहिले प्रमाणित हुँदैछन्।’
उसो भए के बाघको आदत परिवर्तन भएको हो?
यो पनि होइन। किनकि कुनै पनि बाघ अझै मान्छे खान पल्किएको छैन। अर्थात् उसको आदत मान्छेमाथि बसिसकेको छैन।
‘एउटै बाघले एक जनाभन्दा बढी मान्छे मारेको वा खाएको भन्ने अहिलेसम्म कमै देखिएको छ’ वर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख मुकुन्द सन्जेल भन्छन् ‘भोकाएर आहाराको खोजीमा हिँडेको एउटा बाघले जम्काभेट हुँदा मान्छे झम्टिनु सामान्य हो तर, मान्छे खाने आदत नै भइनसक्दै उसलाई नरभक्षी भन्न मिल्दैन।’
वाघ विज्ञ शाहका अनुसार बाघहरूको आनीबानी परिवर्तन भएको भन्ने त पटक्कै होइन।
‘अगाडि पटक्कै हुँदैनथ्यो। अहिले मात्रै भएको भन्ने होइन। पहिला पनि बाघहरु हिँडिरहन्थे। त्यो बेला जताततै जंगल थियो। आहार थियो’ उनी भन्छन् ‘अहिले जता हिँडे पनि मान्छे नै मान्छे भेटिन्छन्। वस्तीमात्रै हुन्छन्। अनि हामीले देखेका मात्रै हौं।’
सम्बन्धित समाचार
किन भड्किरहेछन् बाघ अनि चरा?
किन पहाड चढ्दैछन् बाघ?
बाघबिनाको जंगल कस्तो होला?
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७