अमेरिकी पर्सेभिअरेन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समय अनुसार आज बिहान करिब २ः४० बजे यान मंगल ग्रहको सतहमा अवतरण गरेको हो।
यान सफलतापूर्वक अवतरण भएपछि नासाका वैज्ञानिकले खुसीयाली मनाएका थिए। मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा पनि हेरिएको थियो। हालसम्म मंगल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठमात्रै सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। यो यान दुई वर्षसम्म मंगल ग्रहमा बसेर अध्ययन गर्नेछ।
यो सन् १९७० को दशकको भाइकीङ मिसनपछि मंगल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो। यानको सफल अवतरणले जीवनको अध्ययन गर्नमा सहयोग गर्ने विश्वास उसले लिएको छ।
यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएका छन्।
६ वटा पांग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मंगल ग्रहको सतहमा अवतरण गरेको हो।
अर्काको डाह गरेर हुँदैन, नेपालमा पनि बन्दैछ 'मिना' रोबोट ; महावीर पुन
अमेरिकी यानले सफलता पाएको समाचार बाहिरिएपछि नेपालका सूचना, प्रविधि अभियन्ता महावीर पुनले अर्काको डाह गरेर मात्र नहुने बताएका छन्। पुनले नेपालमा पनि १० जना इन्जिनियरको प्रयासमा ‘मिना’ नामक सर्भिस रोबोट बनिरहेको भन्दै ‘हामी पनि के कम’ भनेका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘अमेरिकी रोबोट मंगलमा अवतरण, के भयो त? राष्ट्रिय आविष्कार केन्द्रमा १० जना इन्जिनियरहरुले बनाउँदै गरेको मिना नामक सर्भिस रोबोटको फोटो। हामी पनि के कम भनेर एउटा रोबोट निर्माण गरिँदैछ। अर्काको डाह गरेर मात्र हुँदैन। अमेरिकाबाट संदेश पाण्डेले लिड गरिरहेका छन्।’
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७