सुशील कोइराला नेतृत्वको तत्कालीन नेपाली कांग्रेसको सरकारले प्रदेश २ प्रमुखमा रत्नेश्वरलाल कायस्थलाई नियुक्त गरेको थियो।
२०७४ माघ ३ मा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश २ मा कायस्थसहित सातै प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गर्यो।
कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी फोरमबीच भएको भागबण्डाअनुसार प्रदेश २ फोरमको भागमा परेको थियो। र, कायस्थ फोरमकै कोटाबाट प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमत पाएपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो।
ओलीले अघिल्ला सरकारले गरेका कतिपय निर्णय उल्टाए।
जस्तै, राष्ट्रियसभा सदस्यमा कांग्रेसले सिफारिस गरेको निर्णय उल्ट्याइयो।
अघिल्ला सरकारका निर्णय उल्टाउने ओली सरकारको एउटा शृंखलाका रूपमा रह्यो प्रदेश प्रमुख कायस्थको बर्खास्तगी।
संघीय सरकार र प्रदेश २ सरकारबीच अधिकार बाँडफाँट, कानुन निर्माणलगायत विषयमा टकराव चलिरहेकै बेला प्रधानमन्त्री ओलीले एक्कासी कायस्थलाई पदमुक्त गर्ने निर्णय गरे।
संयोगवश, त्यतिबेला ओली र प्रचण्ड–माधवबीच अहिलेजस्तो टकरावको स्थिति थिएन। ओलीले कायस्थलाई प्रदेश प्रमुखबाट हटाउन वरिष्ठ नेता माधव नेपालसँग सल्लाह नलिएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सल्लाह गरेकै थिए।
संघीय सरकारले पदमुक्त गरेपछि कायस्थ पनि ‘मधेश भवन’ छाडेर काठमाडौैंतर्फ लागे।
कायस्थलाई हटाएर ओलीले एक वर्षअघि प्रदेश २ प्रमुखमा तिलक परियारलाई नियुक्त गरे। परियार प्रचण्डनिकट मानिन्छन्।
कायस्थलाई बर्खास्त गर्ने निर्णय भइरहँदा प्रचण्ड–माधवहरूले त्यतिबेला चुइँक्क बोलेनन्। ‘संविधानअनुसारै नियुक्त भएका कायस्थलाई किन हटाउनुपर्यो?’ भनेर सोध्नसम्म जरुरी सम्झेनन् उनीहरूले।
सोधखोज गर्नुपर्ने जरुरी पनि थिएन, सबै उनकै सहमतिमा भएको थियो। झन् आफ्नै मान्छे प्रदेश प्रमुख भएर आउने भएपछि सोधखोज गर्नु के नै जरुरी थियो, प्रचण्डलाई।
अहिले तिनै प्रचण्डनिकट प्रदेश प्रमुख परियार बर्खास्त भएका छन्।
कायस्थलाई हटाएर परियार नियुक्त हुँदा चुप लागेर बसेको प्रचण्ड–माधव नेकपाले ओली सरकारको यो कदमलाई फासीवाद लागिरहेको छ।
सरकार नयाँ ढंगले फासीवादी शासन सञ्चालनको दिशामा गइरहेको प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
अहिले झैं कायस्थ हटाइँदा सामान्य लागेको प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्री ओलीको यो कदम फासीवाद लाग्नुको एकमात्र कारण दुवै समूहका विवादबाहेक अरू केही होइन।
त्यतिबेला नै प्रचण्डहरू गलत निर्णयको साक्षी नबनिदिएको भए सम्भवतः शुक्रबारको यो कदम नदोहिरिन पनि सक्दथ्यो।
किन हटाइए परियार?
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई बर्खास्त गरेर राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन्।
हुनत संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तर, परियारलाई पदमुक्त गरिनुको अन्तर्य नेकपा विवाद रहेको बुझ्न कठिन भने छैन।
प्रतिनिधिसभा विघटनपछि नेकपाको दुई समूहभित्र चलिरहेको असर परियारमाथि परेको छ।
तर, परियारले भने आफ्नो स्वकीय सचिवले गरेको गल्तीको सजाय आफूलाई दिइएको बताएका छन्।
‘संविधान, प्रधानमन्त्री वा सरकारको विरोधमा आजसम्म केही बोलेको छैन, मेरो स्वकीय अधिकृतले केही बोलेको आधार बनाएर पदमुक्त गर्नु ठीक भएन्,’ परियारले भने।
केही दिनअघि रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र परियारका स्वकीय सचिव अनिल पासवानबीच टेलिफोन सम्वादमा गालीगलौज भएको थियो। दुईबीच भएको गालीगलौजको अडियो बाहिरिएको थियो।
भट्टराईसँग टेलिफोनमा स्वकीय सचिव पासवानसँग भएको गालीगलौजका कारण आफूलाई पदमुक्त गरिएको हुनसक्ने परियारको शंका छ।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७