उनी केही तरकारी काटिरहेकी हुन्छिन्। पकाउँछिन्। भाँडाहरू सफा गर्छिन्। भुइँ पुछ्छिन्। पतिचाहीँ खान्छ। उनी आफ्ना छरिता खुट्टाहरू चालेर फटाफट बाहिरिन्छिन्। उ शान्त भएर बस्छ। योगा गर्छ। सास भित्र लिन्छ र फेरि विस्तारै सास बाहिर फ्याँक्छ।
सानो बजेटमा बनेको मलयालम भाषाको सिनेमांश हो यो। ‘द ग्रेट इन्डियन किचन।’
भारतीय परिवार, अझ खासगरी हरेक ‘मिडिल क्लास’ भान्छामा भित्रभित्रै मौलाएको पितृसत्तात्मक शासन र यौन जीवनको दैनिकीमाथि बनाइएको यो सिनेमाले त्यसको भयावहमाथि सुन्दर किरणहरू छरिदिएको छ।
वर्षकै ‘आउटब्रेक फिल्म’ मानिएको यो सिनेमामा खासगरी ‘इज्जतदार’ मध्यम वर्गीय भारतीयको दैनिक जीवन र हल्का उज्यालोले मधुरिएको भान्साका कथाहरु समेटेको छ। केरलातिर यो सिनेमाको चर्चा धेरै चुलिएको छ।
यो हेरक घरको कहानी हो। भान्सा कोठाभित्र एक महिलाले बाँच्ने जीवन लगभग हरेक भारतीय महिलाको जीवन हो’ फिल्मका निर्देशक जियो बेबी भन्छन् ‘हरेक पुरुष सोच्छन् कि महिला एक मेसिन हो। चिया बनाउनेदेखि लुगाहरू धुने र बच्चा जन्माउनेदेखि हुर्काउनेसम्म उनीहरूकै काम हो।’
निर्देशक बेबी आफैले पनि भोगेका छन्, भान्साको जिन्दगी। २०१५मा उनको बिहे भयो र उनले आफ्नो धेरै भान्सामै बिताउन थाले।
‘म लैंगिक समानतामा विश्वास गर्ने मान्छे हुँ’ उनी भन्छन् ‘जब मैले त्यो बेला भान्सामा धेरै समय बिताएँ त्यो बेला थाहा भयो, एउटा गृहणीले के के कुरा झेल्नुपर्छ भन्ने कुरा।’ र, यही भोगाईबाट जन्मिएको हो ‘द ग्रेट इन्डियन किचन।’
‘मलाई यस्तो लाग्थ्यो कि म कुनै जेलभित्र छु। अनि त्यो बेला मैले ति तमाम महिलाका बारेमा सोचे जो यो चक्रबाट कहिल्यै बाहिर आउन सकेनन्। यही कुराले मलाई निकै पिरोल्न थालेको थियो’ उनले भनेका छन्।
फिल्मको कथा
फिल्मको सुरुवात एउटा विवाहबाट हुन्छ। धेरैजसो भारतीयको जस्तै यो पनि एक मागी विवाह हो। यसमा दुलाहा र दुलहीको भूमिकामा निमिशा सजयान र सुरज वेन्जरामुडु छन्।
बिहेअघि उनीहरूको एकपटकमात्रै भेटघाट र कुराकानी भएको हुन्छ, त्यो पनि परिवारकै साथमा। जब बिहेको माहोल सकिन्छ। विस्तारै घरमा आएका पाहुनाहरू बिदा हुँदै जान्छन्। अनि उनीहरूको उही झिजोंलाग्दो दैनिकी सुरु हुन्छ। नयाँ दुलही आफ्नी सासुसँग घरभान्सामा खटिन्छिन्। उनको काम यत्ति हुन्छ कि उनको श्रीमानले राम्रोसँग खाईपिइ गरुन् अनि खुसी होउन्।
भारतीय भान्साहरूमा हुने यौन र रोमान्सलाई पनि यो सिनेमाले मिहीन तरिकाले देखाएको छ।
एउटा भनाइ छ, 'श्रीमानको दिलको बाटो पेटबाटै सुरु हुन्छ।' जब राति विस्तरामा जाने बेला हुन्छ अनि पति सोचिरहेका हुन्छन् कि सम्भोगका लागि उ तयार नै हुनैपर्छ चाहे श्रीमतीको इच्छा होस् वा नहोस्। भारतीय पितृसत्तात्मक व्यवस्थामा महिलाको मनको इच्छाका लागि निकै कम स्थान हुन्छ।
यो फिल्म निस्ट्रिम एपमा रिलिज गरिएको थियो। किनकी नेटफ्लिक्स र अमेजनले यसलाई अस्वीकार गरेका थिए। खासगरी महिला फिल्मी समीक्षकहरूले यो फिल्मको खुब तारिफ गरेका छन्।
इरिन्जालकुडा सहरको क्राइस्ट कलेजकी अंग्रेजी प्रध्यापक क्लिन्टा पिएस भन्छन् ‘यो आफैं जोडिएको महसुस हुनेखालको फिल्म हो। फिल्ममा हिंसा भएका कुनै पनि दृश्य राखिएको छैन। कसैलाई पनि खराब रुपमा चित्रित गरिएको छैन। यो हाम्रा घरहरुमा निकै गहिरोसँग जरा गाडेको असंवेदनशीलताको एक वास्तविक चित्र हो।’
उनले पनि हरेक भान्साघरमा देखेकी छिन् महिलाहरुको हविगत। किनकी केरलामा खानालाई खुब महत्व दिइन्छ। त्यो पनि हरेक घरको भान्सामा।
‘उसले तरकारी काट्नेदेखि मसला पिस्ने, भाँडा धुनेजस्ता थुप्रै कामहरू गर्नुपरेको हुन्छ। त्यसका लागि धेरै समय पनि लाग्छ। यो निकै सामान्य तरिकाले गर्न सकिन्छ भन्ने लाग्छ। तर, साँच्चिकै हामीले त्यो गर्न सक्दैनौँ’, उनी भन्छिन्, ‘महिलालाई पहिलादेखि नै भनिएको हुन्छ कि उसका लागि उसको पति अनि परिवार नै सबथोक हो। उनको काम भनेको उनीहरूलाई खुसी पार्नुमात्रै हो।’
प्रगतिशील केरल महिलाका लागि पितृसत्ता
भारतको केरला राज्य देशको सबैभन्दा प्रगतिशील र उन्नत राज्य मानिन्छ। भारतीय राज्यहरूमध्ये केरलमात्रै त्यस्तो राज्य हो जहाँ १०० प्रतिशत नै साक्षरता छ।
यहाँ ठूलो संख्यामा महिलाहरू संगठित क्षेत्रमा काम गर्छन्। तर, क्लिन्टा भन्छिन्, 'केरलाको समाज उत्तिकै पितृसत्तात्मक छ जति देशका अरु भागमा हुन्छ।
केरलामा हामी महिला सशक्तिकरणको कुरा गर्दा त लाग्छ, यहाँका महिलाको ठूलो हिस्सा दिनभरि काममै जान्छन्। तर, जब साँझ पर्छ र उनीहरू घर फर्किन्छन् अनि घरका सारा कामहरू फेरि उनीहरूले नै गर्नुपर्छ। धेरै शिक्षित वा प्रगतिशील परिवारमा पनि यस्तो त तमाम देख्न सकिन्छ।’
उनको आफ्नै घरमा भने त्यति लैंगिक विभेद छैन। उनका श्रीमान र ससुरा दुबै मिलेर घरको काम गर्छन्। तर, उनको आफ्ना आमाबुवाको घरमा भने मामला अर्कै छ। क्लिन्टा र उनका पति सँगसँगै स्कुल पढेका साथी हुन्।
‘पुरुषहरू लैंगिक समानताको विषयमा सजग त छन् तर उनीहरू आफ्नो घरमा त्यो कुरालाई खासै महत्व दिँदैनन्। धेरैजसो भारतीय पुरुषजस्तै मेरै बुवाले पनि दोहोरो मापदण्ड राख्नुहुन्छ। आमाप्रतिको रवैयाका बारेमा बुवासँग मेरो सधै भनाभन नै हुन्छ। उहाँ एक आधुनिक तथा प्रगतिशील पुरुष हुनुहुन्छ। तर, मेरी आमाले घरका सारा कामहरू आफैं र एक्लै गर्नुहुन्छ।', उनले भनिन्।
केरलामा एउटा अर्को पनि भनाइ चर्चित छ – तपाईं जतिसुकै प्रगतिशील हुनुस् तर, आफ्नो प्रगतिशिलता ढोकामै छोडेर भित्र छिर्नुस्।’
घरको स्याहारसुसार अनि हेरचाहको सबैजसो जिम्मेवारी संसारका अरु देशजस्तै भारतमा पनि महिलाले नै लिनुपर्छ। तर, उनीहरूले त्यसवापत केही पाउँदैनन्।
अन्तर्राष्ट्रिय श्रम संगठनले तयार गरेको एक रिपोर्टअनुसार २०१८ मा भारतमा महिलाले त्यस्तो काममा ३१२ मिनेट खर्चिएका थिए भने पुरुषले जम्मा २९ मिनेट। यी र यस्ता तमाम यथार्थताहरू ‘द ग्रेट इन्डियन किचन’ ले आफ्नो सन्देशमार्फत बदल्न चाहेको छ।
‘महिलाहरू पुरुषले बनाएको जेलमा बसिरहेका छन्। हरेक निर्णयहरू पुरुष आफूमात्रै लिन्छन्। महिला केबल मजदुरसिवाय अरू केही रहँदैनन्। तर, उनीहरूले त्यसका लागि कुनै मूल्य पनि पाउँदैनन्’, फिल्मका निर्देशक बेबी भन्छन्, ‘यो फिल्मका माध्यबाट मैले भन्न चाहेको कुरा नै यही हो कि तपाईंहरू त्यो जेलबाट बाहिर निस्कनुहोस्। किन यसरी सहिरहनुभएको छ? यो तपाईंको पनि संसार हो। यसको आनन्द तपाईंले पनि लिनैपर्छ।’
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७