शुक्रबार बिहान तिलगंगास्थित प्यारागन पब्लिक स्कुल पढेका सातजना भूतपूर्व विद्यार्थीहरु स्कुलमा आए। दुई वर्षअघि सोही स्कुलबाट उनीहरुले एसइई दिएका थिए। हाल उनीहरु कलेज पढ्दैछन्।
१० कक्षासम्म पढेको स्कुलभित्र उनीहरु छिरेनन्। गेटबाहिर बसेर एकआपसमा सल्लाह गरिरहेका थिए। सबैको अनुहारमा एकखालको डर थियो। उनीहरुका हातखुट्टा काँपिरहेका थिए।
स्कुलभित्र उनीहरुका अभिभावक र शिक्षकबीच चर्काचर्की चलिरहेको थियो। एक अभिभावक भन्दै थिए, ‘हाम्रा बच्चाहरुले के बिगारेका थिए र, बिनाकारण पिट्नुभयो। अब तपाईंहरुविरुद्ध प्रहरीमा जाहेरी दिन्छौं, पख्नुस्।’
दुई वर्षअघि पार्थ झाले सोही स्कुलबाट एसइई दिएका थिए। पार्थकै आमा शिल्पी मनिका झा भन्दै थिइन्, ‘यो स्कुलको दादागिरी अत्ति भयो। मेरो बाबुलाईसमेत यो स्कुलका शिक्षकले गुण्डागर्दी शैलीमा पिटेका रहेछन्।’
प्यारागन पब्लिक स्कुलले अनाहकमा विद्यार्थीलाई टर्चर दिने, पिट्ने, ह्यारेसमेन्ट गर्नेलगायत काम गरेको आरोप अभिभावकको छ। ‘गणेश लामाको नाम लिँदै स्कुलका शिक्षकहरुले बाउन्सर नै राखेर विद्यार्थीहरुलाई कुटपिट गर्ने गरेको छ,’ झाले भनिन्।
केटा र केटी साथी बोलेको देखेमासमेत शिक्षकहरुले पिट्ने गरेको पार्थ झा बताउँछन्। अयोमेलसँगको कुराकानीमा पार्थले भने, ‘पिट्ने कुरा त सामान्य भइसकेको थियो। बेइज्जतसमेत गरिदिन्थे।’ आफैंलाई कतिपटक शिक्षकहरुले पिटेको पार्थ सम्झन्छन्।
‘त्यतिमात्र होइन शिक्षकहरुसँग ठाडो शिरले हेर्न पनि सकिँदैनथ्यो,’ उनले भने, ‘शिक्षक देख्यो कि परपर भाग्न पर्थ्यो, पिटाइ खाइने डरले। भाइस प्रिन्सिपल सरले त मेरो एउटा साथीलाई हिर्काउँदा लठ्ठी नै भाँचिएको छ।’
यसरी विद्यार्थी कुट्ने शिक्षकलाई निस्कासन गर्नुपर्ने पार्थका बुवा दीपक झाको माग छ। ‘स्कुलका भाइस प्रिन्सिपल मनोज विश्वकर्माले विद्यार्थीमाथि कुटपिट गरेको विद्यार्थीको भनाइ छ। त्यसैले ती शिक्षकलाई कारबाही हुनुपर्छ,’ उनले भने।
कुनै सूचना बाहिर मिडियामा ल्याए अभिभावकहरुलाई समेत धम्की दिने गरेको दीपकले बताए। ‘बाहिर देख्नको लागि राम्रो भएपनि स्कुलको भित्री रहस्य डरलाग्दो खालको रहेको छ,’ उनले भने।
यो वर्ष २२८ जना विद्यार्थी १० कक्षामा अध्ययनरत छन्। सबैलाई होस्टेल अनिवार्य गरेर पैसा कमाउने उद्देश्यका साथ स्कुल लागिपरेको उनको आरोप छ। ‘यसअघि अनलाइन कक्षा सञ्चालन गर्ने भन्यो, भएन। अनि नियमित पठनपाठन सुरु गर्ने भन्यो, त्यो पनि भएन। अन्तित समयमा आएर १० कक्षाको सबै विद्यार्थी अनिवार्य होस्टेल बस्नुपर्ने निर्णय गर्यो,’ दीपकले भने।
होस्टलको अवस्थासमेत नाजुक रहेको दीपकको भनाइ छ। बच्चाको संवेदनशीलतालाई बुझेर स्कुल प्रशासनले निर्णय लिनुपर्ने अधिकांश अभिभावको माग छ। स्कुलका भाइस प्रिन्सिपललाईसमेत यस विषयमा निर्णय लिन अभिभावकहरुले आग्रह गरेका छन्।
राजनीतिक दलको आड–भरोसामा प्यारागन पब्लिक स्कुलको दादागिरी बढेको अर्का अभिभावक युवराज संग्रौला बताउँछन्। छिटोभन्दा छिटो नियमित पठनपाठन सुरु गर्ने विषयमा स्कुलले निर्णय दिनुपर्ने संग्रौलाले बताए।
‘अभिभावको नाताले स्कुलका प्रिन्सिपल र भाइस प्रिन्सिपललाई भेट्न खोज्दा समय पाइँदैनथ्यो,’ उनले भने, ‘हाम्रो बच्चा स्कुलमा भर्ना गरेका छौं। बच्चाको विषयमा भेटेर कुरा गर्छु भन्दा उहाँहरु सम्पर्कमै आउनु हुन्नथ्यो।’
शुक्रबार सोही विद्यालयमा १० कक्षासम्म पढेर निस्किएका विद्यार्थीहरुले भाइस प्रिन्सिपल विश्वकर्माविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएको दिपकले बताए। तर, यसबारे गौशाला प्रहरीमा बुझ्दा उजुरी नआएको र दुवै पक्षबीच मिलापत्र भइसकेको जानकारी आएको छ।
कुटपिट गरेको पुष्टि भए कानुनअनुसारको सजाय भोग्छु : विश्वकर्मा
यता, भाइस प्रिन्सिपल विश्वकर्माले कुटपिट गरेको पुष्टि भए आफू कानुन अनुसारको सजाय भोग्न तयार रहेको बताए। ‘कुनैपनि शिक्षकको विद्यार्थी कुट्ने कुनै इन्टेन्सन हुँदैन,’ उनले भने।
स्कुल प्रशासनले उल्टो विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याएको विश्वकर्माले जानकारी दिए। ‘विद्यार्थीले कुट्ने गरेको भनिएको आरोप सरासर झुट हो। भ्रम फैलाउन खोजिएको हो। यसमा कुनै सत्यता छैन्,’ उनले भने।
प्यारागन पब्लिक स्कुलका प्रिन्सिपल हुन् बिना बानु। बानु हाल भारतमा रहेकाकारण स्कुल नआएका स्कुल प्रशासनका जनसम्पर्क अधिकारी रुपेन कपालीले जानकारी दिए।
‘अभिभावकहरुको कुरालाई हामी छिट्टै नै स्कुल प्रशासनको बैठक बसेर टुग्याउँछौं,’ उनले भने, ‘शिक्षकहरु पनि बाहिर हुनुहुन्छ। सोहीकारण केही समय ढिलो भएको हो।’
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७