नेपालको वर्तमान राजनीतिक अवस्थाको गति, मति र दुर्गति हेर्दा मलाई हिन्दु’हरूको अति पावन विशिष्ट धार्मिकग्रन्थ रामचरित मानसको सम्झना आउँछ।
देशको अति तरल विस्फोटक राजनीतिक अवस्थामा सड़क सङ्घर्ष शीर्षमा कायम हुन पुगेको छ। देशमा कम्युनिस्ट बाहेक अन्य कुनै दलको उपस्थिति त के अस्तित्व नै छ कि छैन भन्ने परम सन्देहजन्य विचित्र परिस्थिति निर्मित हुँदै गइ रहेको छ। सत्तामा काबिज कम्युनिस्ट नै प्रतिनिधिसभा विघटनको पक्षमा बालुवाटारदेखि सिंहदरवार,नारायणहिटी हुँदै गल्ली–गल्ली, कुना–कुनामा मुडकीको विशेष मुद्राका साथ सत्ताधीशका साथै आन्दोलनकारीको अवतारमा दृष्टिगोचर भईरहेका छन्।
बदलिएर विकसित भएको भद्रगोल राजनीतिक परिवेशमा कम्युनिस्टकै अर्को समूह प्रमुख प्रतिपक्षको स्थान ओगटदै सड़क संघर्ष, जनप्रदर्शन, विरोध,आंदोलन र भीड़तन्त्रको आड़ भरोसाले सत्ताधारी कम्युनिस्टको चरित्र नङ्ग्याउदै अपदस्थ गर्ने फिराकमा रहेको छ।
देशका कम्युनिस्टहरूको अस्तित्वको लड़ाईले गर्दा अन्य राजनीतिक दलको भूमिका मध्यान्हमै मार्ग विस्मृति भएको पथिक झै मैं इधर जाऊँ या मैं उधर जाऊँ,बड़ी मुश्किल में हूँ जी किधर जाऊँ कै मनस्थितिमा रुमलिएको छ।
एकले गरेको शक्ति प्रदर्शनको जवाफमा अर्कोले त्यसलाई फिक्का बनाउने गरी भेला गर्छ। पहिलोले यसको यथेष्ट संज्ञान लिदै प्रत्युत्तरमा अझ ठूलो स्वरुपको प्रदर्शन गर्छ। अर्कोले फेरी त्यसलाई पनि विस्मृत गराउने कोटीको आयोजन गर्ने दिशामा तन–मन धनकै मुक्तहस्तले प्रक्षेपण गरी आफ्नो अग्ल्याइँ, मोटाई र लम्बाई सावित गर्ने उपद्रव गर्छ।
आउनुस एक क्षणका लागि राजनीतिलाई विश्राम दिई रामचरितमानसको मानसिक यात्रामा प्रवेश गरी जन्म जन्मका कलुषिता पखाल्ने उपक्रम गरौ। हनुमान सीताको खोजमा लंकाको यात्रा पथमा आकाशगामी भएका छन। देवतागणले हनुमानको परीक्षार्थ नागमाता सुरसालाई पठाउछन।
सुरसाले हनुमानको मार्गमा आएर भन्छिन- आजु सुरन्ह मोहि दीन्ह अहारा, सुनत बचन कह पवनकुमारा।
आज ईश्वरको कृपाले तिमी जस्तो उत्तम भोजन प्राप्त भएको छ,म तिमीलाई एकै ग्रासमा खान्छु। यो सुनेर हनुमान प्रार्थना गर्छन।
राम काजु करि फिरि मैं आवौं, सीता कइ सुधि प्रभुहि सुनावौं।
तब तव बदन पैठिहउँ आई, सत्य कहउँ मोहि जान दे माई।
कवनेहुँ जतन देइ नहिं जाना, ग्रससि न मोहि कहेउ हनुमाना।
हे माता, मलाई अहिले जान देऊ। म आफ्ना स्वामी श्रीराम प्रभुको कार्य गर्न जादैछु। सीताको खबर श्रीराम प्रभुलाई दिए पछि म स्वयं आई तिम्रो मुखमा प्रवेश गर्नेछु। मलाई अहिले जान देऊ।
तर, जीवनका परीक्षा प्रार्थनाले पास गर्न सकिन्छ र सुरसाको आगमन नै हनुमानको बल (बुद्वि (धैर्य,विवेकका परीक्षण हेतु भएको थियो। अनि उ कसरी हनुमानको सहज प्रार्थनाले सन्तुष्टि भई उनलाई जान दिन्थिन! सुरसाले हनुमानलाई एउटै गाँस पार्न आफ्नो मुखको आकार बढ़ाईंन्।
जोजन भरि तेहिं बदनु पसारा, कपि तनु कीन्ह दुगुन बिस्तारा।
सोरह जोजन मुख तेहिं ठयऊ, तुरत पवनसुत बत्तिस भयऊ।
सुरसाले आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा आफ्नो आकार बढ़ाईंन। हनुमानले तुरुन्तै त्यसको ’डबल साइज’ बनाए आफुलाई।
केही सम्झना आएन तपाईलाई ? अरे, त्यै के विभाजित हुन चाहेर पनि ’टेक्निकली’ विभाजित हुन नसकेको नेकपा के !?
एउटा समूहले हजÞारजना लिई सड़कमा धर्ना–घेराउ कार्यक्रम गर्छ, अर्को समूहले लगत्तै दुई हजारजना आफ्नो पक्षबाट ‘सड़कसमर’मा अघि सारी दिन्छ। सुरसाले आफ्नो आकार १६ गुना बढाउँदा हनुमानले आफ्नो आकार ३२ गुना बनाए। नेकपाको असंतुष्ट समूहले १६ हजारजना सम्मिलित भएको सड़कनाटक गर्छ। प्रत्युत्तरमा अर्को समूहले ३२ हजार जनालाई मैदानमा ओराली दिन्छ। अब अगाडि रामायणको सुन्दर काण्डमै हेरौं।
जस जस सुरसा बदनु बढ़ावा, तासु दून कपि रूप देखावा।
सत जोजन तेहिं आनन कीन्हा, अति लघु रूप पवनसुत लीन्हा।
सुरसाले जसरी जसरी आफ्नो आकार वृद्वि गर्दै गइन, हनुमानले त्यसै बमोजिम आफ्नो आकार बढाई राखे। माधव (प्रचण्ड समूहको आकार वृद्वि जस्तै केपी समूहको आकार बढ्दै गई रहेकै छ।
अन्तमा सुरसाले सय गुना ठूलो स्वरुप बनाउँदा हनुमानले अविलम्ब आफ्नो आकार अति सानो बनाउँदै सुरसाका मुखमा प्रवेश गरी निमेषमै बाहिर आई हात जोड़ी प्रार्थना गर्छन।
बदन पइठि पुनि बाहेर आवा, मागा बिदा ताहि सिरु नावा।
मोहि सुरन्ह जेहि लागि पठावा, बुधि बल मरमु तोर मैं पावा।
राम काजु सबु करिहहु तुम्ह बल बुद्धि निधान।
आसिष देइ गई सो हरषि चलेउ हनुमान।।
हनुमान परीक्षामा पास भए, सुरसाले उनलाई रामकाज सफलतासाथ संपन्न गर्ने आशीर्वाद दिई प्रस्थान गरिन।
नेपालको राजनीतिको हलो सर्वोच्च अदालतको कान्लामा अड्किएको छ। कम्युनिस्टका दुबै समूहको अथक प्रयास त्यो हलोलाई आफ्नै बारीमा ल्याउने रहेको छ। फागुन महिनाको ११ गतेदेखि १५ सम्म निर्णय आउँछ।
फैसला प्रतिपक्षी कम्युनिस्ट समूहको हकमा आयो भने कुनै समस्या नै हुन्न। देश २०५३ सालकै अधोगतितिर फर्किन्छ। अनेक गठबंधनका,अनेक स्वरुपका, अनेक जनको राज्यारोहण हेर्न पाइन्छ, बाँकी रहेको प्रतिनिधिसभाको डेढ़ दुई बर्षे कार्यकालमा अनेको नामका पछाडि भूपु प्रम लेखिने अवसर हुन्छ। निश्चयपनि यसो भएको खण्डमा चिठ्ठा नेपाली कांग्रेसका जयचन्द शेरबहादुर देउवालाई नै पर्छ। शिखण्डी झै रामचन्द्र पौडेल किन केपी ओलीको तेजोवध गर्न माधव (प्रचण्ड–समूह)को ढाल बनी प्रतिनिधिसभा स्थापना हेतु न्वारनदेखिको बल लाउन उद्दत भएका हुन ! उनको मनशाय पूरा भएको खण्डमा पनि शहनाई त आखिर देउवा निवासमै बज्छ।’
उनी त बेगानी शादी में अब्दुल्लाह दीवाना कै भूमिकामा सीमित हुनेछन। प्रधानमन्त्री हुने उनको ललाटमै न लेखिएको त १६/१७ पटक प्रमाणित भइसकेको छ। र, महोदयसँग यसपटक त यस्तो दावीको स्वप्न हेर्ने पनि पात्रता छैन। हो, कुरा यति मात्रै हो माधव–प्रचण्ड समूहले गिरिजाप्रसाद कोइराला झै राष्ट्रपति बनाई दिने ‘मुंगेरी लाल के हसीन सपने’ को नयाँ जोकसंग्रहको पुस्तक भने उनलाई थमाएका हुन। यही पुस्तकका नयाँ नयाँ चुटकिला पढ़ी ‘आर्गाज्म’ को चरम सुखभोग हेतु स्वप्निल रहेका धर्मच्य ‘तलाई योसम्म थाहा छैन ,आखिर त ‘आर्गाज्म’ घटित हुँदा स्खलनकै नियति व्योहर्नु पर्ने विधान छ।
तर यदि (माधव–प्रचण्ड) समूहको बारीमा हलो जाने नियति र प्रारब्ध घटित भएन भने यिनका खेतवारीको हविगत के हुन्छ। र, यस दिशामा यस समूहले फिटिक्कै चिन्तन गरेको देखिन्न। संसद स्थापना नै भयो भने त डेढ़ दुई वर्षको समयावधिमा यस समूहलाई खनजोत गरी धान नभए पनि मकै सागपात छर्ने टिप्ने अवसर मिल्ला, तर यदि सर्वोच्चको फैसला चुनावमै जाने आयो भने नि !
स्वीकार गरे पनि नगरे पनि, प्रत्यक्षमा नेपालको सङ्कट कम्युनिस्ट परिवारमा आएको विग्रह देखिए पनि पर्दा पछाडिबाट यो विग्रह ल्याउनमा नेपालका हिन्दुवादी एवं व्यवस्था विरोधीहरूको ठूलो भूमिका छ। कम्युनिस्ट केपी ओलीलाई आफ्नो पक्षमा ल्याउन सजिलो थिएन। केपी ओली एक वर्ष पहिला नै हिन्दुवादीहरूको कित्तामा आई सकेका थिए। पार्टी भित्रको विग्रह त्यसकै परिणाम थियो।
सोचे सम्झेको रणनीतिअनुसार संसद भंग गरिएको हो,यसमा आश्चर्य मान्नु पर्दैन। खास गरी माधव–प्रचण्ड समूहले बुझ्नु पर्ने हो। केपी ओलीले २३ गतेको आमसभामा कुनै ठूलो घोषणा नगर्नुका पछाडि थुप्रै कारण छन, र रणनीति पनि।
स्पष्ट र छर्लङ्ग रूपमा भन्ने हो भने देशका सम्पूर्ण नागरिक लगायत सबै राजनीतिक दलले बुझे हुन्छ, केपी ओली हिन्दुवादीका सबै एजेण्डामा पूर्ण सहमत भइसकेका छन। कमल थापालाई विस्थापन गरी हिन्दु शक्तिले केपी ओलीलाई आफ्नो नायक बनाएको छ। प्रतिनिधिसभा विघटन गर्नेदेखि अर्को चुनावसम्मका रोड म्याप’ तैयारी छन। अर्को चुनाव पछि नेपालको मुहार नै फेर्नेसम्मका योजना बनेका छन। नेपालको मुहार फेर्ने क्रममा नेपाललाई पुनः हिन्दुराष्ट्र घोषित गर्ने मुख्य योजना रहेको छ। केपी ओली एवं सरकारका उच्च ओहोदाधारी हिन्दु धर्मका पक्षमा आए पनि टेक्निकली अविभाजित रूपमा रहेको तर वास्तवमा विभाजित बनेको नेकपाका दुबै समूहमा थुप्रै ‘इंण्टर रुप जर्नी एण्ड जम्प’ हुन बांकी नै छ। केपी समूहमै धर्म निरपेक्षताका पक्षधर, वकालती एवं सारथीहरू रहेका छन। अहिले यी केपीसंग देखिए पनि सुभाष नेम्वाङ्ग प्रकृति र प्रवृतिका व्यक्तिले क्याम्प बद्लिने पूर्ण संभावना छ। उता माधव-प्रचण्ड समूहमा पनि हिन्दु अनुरागीको लस्कर नै रहेको छ। केपी ओलीले आफू हिन्दुधर्मको पक्षमा आएको घोषणा गर्न साथ दुबै समूहमा हिमपहिरो जान्छ।
हिंन्दुवादीहरूको पनि केपी ओलीमाथि नेम्वाङ्गलाई लिएर ठूलो दवाव छ। विगतको उनको भूमिकाले गर्दा हिन्दु उनलाई विश्वास गर्न सक्दैनन। केपी ओली भने सोचे सम्झेको रणनीति बमोजिम अहिले नै हिन्दुका पक्षमा घोषणा गरेर नेम्वाङ्गलाई टाडा गर्ने मनस्थितिमा छैनन्। उनको आशय दुबै समूहमा बढेको चरम तिक्तताले नेम्वाङ्गलाई फर्किने स्पेस नै बाँकी न रहोस भन्ने हो। फर्किने स्पेस नै नरहे पछि उनी केपीको हिन्दुवादी राजनीतिको फेर समाउन विवश हुने छन। केपी समूहमा आबद्ध रहेका अमेरिकन लाबीसँग निकट अन्य व्यक्ति भने युग र समयको चाहनालाई बुँझी भगवा झण्डामुनि राजनीति गर्नमै आफ्नो कल्याण ठानी समूह परित्याग गर्ने छैनन। नेम्वाङ्गले पनि यसको सुईको पाएर आफुलाई हिन्दु र हिन्दु समर्थक देखाउने अभियान थालेका छन। केही दिन पहिला मात्रै आफ्नो घरमा आई पुगेका केही पत्रकारलाई टोपी फुकाली मस्तकको उच्च भागमा लगाइएको टीका देखाउँदै उनले आफु हिन्दु धर्म संस्कृतिका मूल्य मान्यतामा अडिग रहेको स्पष्ट गरेका छन्। घर आई पुगेका पत्रकारलाई घरको मन्दिर देखाउँदै उनले भने, ‘म हिन्दू नभएको भए मेरो घरमा देउताको थलो हुने थियो।’ यसका साथै उनले आफु नियमित रूपमै पशुपतिनाथ जाने गरेको उल्लेख गर्नुका साथै किरातेश्वर महादेवमा आफ्नो पूर्ण निष्ठा रहेको पनि उजागर गरेका थिए। उनको घरमा पुगेका हिन्दु समर्थक पत्रकारले यो सच्चा हिन्दुवादी खेमामा पुर्याए पश्चात् हिन्दु धर्म पक्षधर उनीप्रति नरम भएका छन्।
माधव–प्रचण्ड समूहको पैतालामुनि ७ रेक्टर स्केलको भुईँचालो त त्यों दिन जान्छ। जुन दिन केपी ओलीले आफु नेपालमा हिन्दु धर्म फर्काउन प्रतिबद्व रहेको घोषणा गर्छन। यस समूहबाट धेरै टावर व्यक्तित्व यो घोषणा हुनसाथ केपी समूहमा छलांग लगाउँछन्। अहिले ती व्यक्तिबारे अनुमान लाउन सम्भव छैन, तर यो निश्चित छ यस समूहमा ठूलो हिमपहिरो जान्छ। पहिरोका साथ तमाम व्यक्ति ओली क्याम्पमा मिसिन्न पुग्छन्।
जुन थाहा हुनसाथ माधव–प्रचण्ड समूहका समर्थक मध्ये दुई चार जनालाई हृदयाघात नै हुन सक्ने सम्भावना छ।
यस्तो हिमपहिरो नेपाली कांग्रेस र राप्रपामा पनि जान्छ। नेपाली कांग्रेसका धेरै दिग्गज ओलीसँग उभ्भिन्न आई पुग्छन्।
राजनैतिक मञ्चको घटनाक्रम विस्तारै ‘क्लाइमेक्स’ तिर लम्किदैछ। बिराटनगरबाट एकजना कम्युनिस्ट चिन्तकले फोनमा भन्नुभयो, ‘संसद पुनर्स्थापना हुनसाथ केपी ओलीको चुरीफुरी समाप्त हुन्छ।’ उहाँलाई नयाँ ’रोडम्याप’बारे अलिकति पनि संज्ञान भएको भए ! नातामा आफ्नो सम्मानित मामाश्री भएकाले उहाँसँग अनाहकको विवाद पनि गर्न सकिएन। उहाँकै चाहनाअनुसार संसद पुनःस्थापना भएमा प्रधानमन्त्री पदमा पुनः केपी ओलीकै निरन्तरता देखेपछि अवश्य पनि उहाँमा राजनीतिशास्त्रका आफ्ना पुस्तक छाडि चाणक्य नीति पढ़ने भाव जाग्रत होला।
नेताहरू अझै कुरा चपाएर दोषारोपणको राजनीति गर्नमै संलग्न छन। मूल प्रश्न यो हो संसद पुनःस्थापना नभएको खण्डमा माधव–प्रचण्ड समूहले कुन बाटो अख्तियार गर्छ। तीन तीन वटा भूपु प्रधानमन्त्री भएको यस समूहले आफ्नो सारा शक्ति एउटै बाटोमा खर्चिएको हेर्दा राजनीतिक दूरदृष्टिताको सर्वथा अभाव देखिन्छ। सत्ता पक्षको विरोध गर्न निवेश भएको श्रम, शक्ति र ऊर्जाले एकत्र भएको भेला चुनावमा भोटमा ‘कन्वर्ट’ नहुने संज्ञान उहाँहसँंग नभएको पक्कै होइन। अदालतको निर्णय आउन सम्म मै सड़क तताएर निर्णय आफ्नो पक्षमा ल्याउने प्रयासमै यदि यसले आफ्नो सम्पूर्ण शक्ति विनियोजित गर्छ भने र कथं कदाचित निर्णय प्रतिकूल आएको खण्डमा के यसले काशी जाने विचार गरेको छ। केपी ओलीको व्यक्तिगत आलोचना र चरित्र हत्या गर्नमै सीमित रहेको यस समूहले उनका कुनै ‘रोडम्याप’ को भेउ नै पाउन सकिरहेको छैन। उता, केपी ओली भने अमेरिकन‘रोड म्याप’ नै ’डिकोड’ गरी संसद पुनर्स्थापनाको खेल त्यस अनुसार सेटिङ्ग मिलाएर अघि बढी सकेका छन्।
संसद पुनःस्थापित हुँदा चर्केका कम्युनिस्ट मिलेर सरकार गठित हुने सम्भावना खोज्ने मानिस एलियन समूह र वर्ग कै अति बुद्विमान प्राणी मात्रै हुन सक्छन। पृथ्वीका सामान्य जनाले यस्तो कल्पना गर्दैनन। स्पष्ट छ, नेपाली कांग्रेसको सहयोग बिना सरकार बन्दैन। जतिसुकै कुर्लुन न नेपाली कांग्रेसका अमेरिकन यूरोपियन लबीका धर्मनिरपेक्ष रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गगन थापाहरू! शेरबहादुर देउवा केपी ओलीसँगै सरकार बनाउन अघि बढ्छन। र, भदौमा नेपाली कांग्रेसको महाधिवेसन सम्पन हुनासाथ देउवा र ओलीले पुनः संसद भंग गरी निर्वाचनको बाटो प्रसस्त गरी दिन्छन। नेपाली कांग्रेसका लागि नेकपा विभाजित भएको जस्तो ‘गोल्डन अवसर’ अरु के नै होला र निर्वाचनमा होम्मिनका लागि यसका अतिरिक्त केपी ओली आफुसंग रहेका ४/५ वटा राजनीतिक बम जुन बेला पनि पड्काउन सक्छन्।
पश्चिम देश एक राजदूतले भर्खरै नयाँ अमेरिकी योजना सार्वजनिक गरी दिएर डलरवादी खेमाको प्राणवायु नै हरण गरीदिएका छन। अब अमेरिका चाहन्न नेपालमा संसदको पुनःस्थापना होस्। पहिलाको अमेरिकी रणनीति संसद पुनःस्थापना भएमा ओली देउवाको मिलन गराएर बनेको सरकारबाट आफ्ना केही अभीष्ट पूरा गर्नु्थियो। तर, संसद स्थापना हुनासाथ नेपालमा पुनः चिनियाँ प्रभुत्व स्थापित हुने विश्लेषण देखिन आएकोले अमेरिका पछि सरेको हो, ती राजदूतले विकसित नयाँ परिदृश्यको चर्चा गर्दै भने।
अदालतमा एमिकस क्यूरीको सुनवाई प्रारम्भ भइसकेको छ। अब अदालतको फैसला आउने दिन नजिकिदै गइरहेको छ। यस विषयक अनुमानकारिता गर्ने वर्गले भने झै अदालतको फैसला ३–२ अनुसार हुन्न। बदलिएको अन्तर्राष्ट्रिय–राष्ट्रिय परिवेशले यो फैसला ४–१ मा आउने वातावरण बनेको छ। अदालतको फैसला आउँन यदी अझै १५ दिन लम्बित हुने हो भने फैसला ५–० ले पनि आउँन सक्ने सम्भावना प्रवल बलवती हुँदै गइरहेका छन्।
हिन्दुहरूको सारा प्रयास र ऊर्जा फैसला जे आए पनि कम्तीमा ४–० ले र सकेसम्म ५–० कै फैसला आओस भन्नेमा विनियोजित भइरहेको छ।
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७