डुब्न लागेको घामका किरण उनको ठूलो अनुहारमा सुनौलो रङ पोखेर दौडिरहेका थिए। छिटोछिटो घर्किरहेको त्यो सन्ध्याका किरणजस्तै लाग्थ्यो, उनको भावमा ‘बेचैनी’ हरू बुर्कुसी मारिरहेका थिए।
ती बेचैनी के हुन्? जसले उनलाई निदाउन दिइरहेका छैनन्, जसले उनलाई आक्रोश ओकल्न लगाइरहेका छन्।
‘माई भजाइना विल भोट यु आउट’ गत माघ ३० गते भद्रकाली सडकमा उनका बेचैनी यसरी पोखिए।
कालो टिकुली।
कालै पहिरन।
आजकल सडकमा हुने हरेकजसो आन्दोलनको अग्रभागमा एउटा विद्रोही अनुहार झुल्किरहन्छ।
त्यही अनुहार हो, हिमा विष्ट।
हरेक दिन, हरेक मिडियामा ‘बलात्कारका हेडलाइन’ हरूले निदाउन दिँदैनन्। जिउँदै महिलामाथि तातो तेल खन्याइएका समाचारहरूले उनलाई भतभती पोल्छन्।

हर पाइलामा महिलाका शरीर चिमोट्ने ‘हिंसा’ का घटनाहरूले उनको मुटु निमोठिरहन्छन्।
र, यी सब घटनालाई ‘अनदेखा’ गरिरहने नेताहरूको ‘मनपरी’ ले उनलाई बिथोलिरहन्छ।
राष्ट्रपति नै महिला। यही देशमा दिनहुँ बलात्कृत भएर मारिने बालिका। हिंसाले पिरोलिइरहेका महिला।
हुँदा हुँदा संविधान कुल्चिने एक जना प्रधानमन्त्रीका हरेक नालायक कदममा कदम मिलाएर हिँड्न ठिक्क छ राष्ट्रपतिलाई।
यिनै बेचैनीले निदाउन दिँदैनन् हिमालाई।
र, आक्रोश बनेर पोखिन्छिन् उनी, सडकमा। भीडहरूमा। आफ्नै जीवनमा पनि।

OOO
माघ ३० गते महिला मार्चको तयारी चलिरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिसकेपछि चलिरहेको ‘नागरिक आन्दोलन’ को एउटा संस्करण थियो त्यो महिला मार्च।
त्यसको केही दिनअघि उनी काठमाडौं बाहिर जाँदै थिइन्। परिवारसहित काठमाडौं छाड्दै गर्दा उनले देखिन्- बसका बस मानिसहरू काठमाडौं छिरिरहेका थिए।
ती मान्छे को थिए?
‘कुनै दलले काठमाडौंमा देखाउने मान्छे उनीहरू नै थिए,’ हिमाले देखिन्, ‘कयौं बालिकाहरू थिए, महिलाहरू थिए। थकित र गलित। बसका झ्यालमा टाउको झुन्ड्याएर निदाइरहेका।’
उनको मुटु एकाएक थरर भयो। शरीर काँप्न थाल्यो। बाटोका पाखाहरूमा देखिन्- महिलाहरू पेटिकोटले आधा शरीर बेरेर खुला ठाउँमा नुहाउँदै थिए।
हिमाको शरीरमा हुर्हुर्ती डरका काँडाहरू उम्रिए।
यात्रामा उनले देखिरहने दृश्य थिए यी। तर, यसअघि कहिल्यै उनलाई त्यस्तो भएको थिएन।

बैतडीमा बलात्कृत भागरथीको मृत शरीर उनका आँखामा ताजै थिए। त्यो भयानक दृश्यले उनलाई बेलाबेला झस्काइरहन्थ्यो।
यात्रामा थपिएका दृश्यले ती झस्काइलाई आक्रोश बनाइदिए।
‘मनभित्र धेरै आक्रोश भरिइसकेको थियो। त्यो महिला मार्चमा बोल्छु भन्ने सोचेँ,’ तर, हिमालाई पत्तो थिएन ‘त्यहाँ के बोल्ने?’
सिंहदरबारतिर सोझिएको ‘हिमा’ हरूको त्यो मार्च भद्रकालीमा गोलबद्ध भयो। हजारौं मानिसले भद्रकाली घेरियो। त्यो सिंहदरबारको ठीक अघिको चौतारो हो।
सडकमा अहिले ‘शक्त्ति प्रदर्शन’ को होड चलिरहेको छ। कहिले सत्ताको शक्त्ति, कहिले सत्तामा जान नपाएकाहरूको शक्त्ति। र, त्यसमा प्रयोग भइरहेका उही अनुहारका निरिह र निष्कपट जनता।
‘वास्तविक शक्त्ति त, त्यही त्यही सिंहदरबारभित्र छ,’ हिमालाई लाग्छ, ‘र, त्यही शक्त्तिलाई हामीले औंलो ठड्याउनुपर्छ।’ भद्रकाली सडकमा ‘हिमा’ हरूलाई साथ दिने नागरिक पाइला त्यसैको परिणाम थियो।
अनि, सिंहदरबारतिर सोझिएको उनको ‘चोरी औंलो’ त्यही ‘शक्त्ति’ को खबरदारी थियो।
‘माई भजाइना...’ वाला उनको अभिव्यक्त्ति ‘हिमा’ हरूभित्र अटेसमटेस भइरहका बेचैनीहरूको विष्फोट थियो।

‘भजाइना’ ले तातेको सञ्जाल
भद्रकालीको आँगनमा त्यो दिन हिमाको रूप ‘काली’ कै लाग्थ्यो। अनुहारभरि असरल्ल आक्रोश अनि विद्रोही भावभङ्गी साँच्चिकै भयानक थियो।
उनको त्यो अभिव्यक्त्ति क्षणभरमै भाइरल भइसकेको थियो। धेरैले उनको 'ट्विटर' मा अनेकन टिकाटिप्पणी गरे। धेरैले गाली गरे। केहीले समर्थन गरे।
तर, पनि उनी हडबडाइनन्। डराइनन्। आत्तिइनन्।
भन्नेहरूले, गाली गर्नेहरूले सब गरे। भने। बोले। लेखे। विद्रोहले लिपिएको त्यो अनुहारमाथि अनेक किचो छ्याप्ने प्रयत्न भइरहेकै थिए।
सत्तापक्षले पालेका ‘साइबर सेनाहरू’ उनीमाथि खनिन सुरु गरे। धेरैले उनको त्यो अभिव्यक्त्तिलाई ‘अश्लील’ भनेर गाली गरे।
‘अश्लील’ र ‘श्लील’ को परिभाषा आ-आफ्नै होलान्।
तर, हिमालाई लाग्छ- ‘भजाइना (योनि) अश्लील हो भने, हाम्रो जन्म नै अश्लील हो’ सायद सृष्टि नै अश्लील हो। र, उनी अडिग छिन्।
संसद विघटनको कदमविरुद्ध चालिएका ‘स्वतन्त्र’ ती पदचाप सायद राष्ट्रपतिलाई विद्या भण्डारीलाई गिज्याइरहेका थिए। उनको ‘कदम’ रोक्नका लागि जागेका ती पाइलाहरू थिए।
दमित आवाजको एउटा विष्फोटक विम्ब हो ‘भजाइना।’
‘संविधानले उहाँ (राष्ट्रपति) लाई त्यो सम्मानित ठाउँमा राखिदिएको छ। र, यो स्टेटमेन्ट उहाँले राम्रोसँग बुझ्नुहुन्छ,’ त्यसैले हिमा भन्छिन्, ‘यदि उहाँले यत्ति कुरा बुझ्नुहुन्न भने त्यो पदको गरिमा नै भएन।’
र, यही कुरा बुझाउनका लागि हिमाको मनभित्र राष्ट्रपतिसँग भेटेरै ‘वात मार्ने’ इच्छा पनि जागेको छ।

राष्ट्रपतिलाई भेटेपछि हिमाले के भन्लिन्?
‘मैले साथ छाडेँ...’ कारण एकदमै सरल र साधारण छ। हिमाले भन्नेछिन् ‘माइ भजाइना भोटर आउट...’
विश्वमै यो पहिलोपटक प्रयोग भएको भाषा होइन। न त, कसैले बोल्ने छिल्लिएको शब्द हो।
‘यो दमितहरूको अभिव्यक्त्ति हो। संसारमै मैले पहिलोचोटि प्रयोग गरेको भाषा होइन,' हिमालाई लाग्छ, ‘सायद नेपालमा मैले प्रयोग गरेँ कि!’
र, देशका तमाम ‘हिमा’ हरूले भोगिरहेको बलात्कार, हिंसा अनि थिचोमिचो र सत्तामा बस्नेहरूको मनपरीले जन्माएको आक्रोशको विष्फोटन थियो त्यो।
‘एउटी महिला भएको नाताले म कुनै पनि महिलाको मानहानी गर्दिनँ। कसैले त्यस्तो गर्छ भने पनि त्यसको म विरोध गर्छु’ तर, हिमाले बुझेकी छिन्, 'एउटा पदको गरिमा हुन्छ। र, हाम्रो राष्ट्रपतिले आफ्नो पदको गरिमा बुझ्नुभएन। त्यसैले मेरो यो स्टेटमेन्ट उहाँमाथि पनि लागू हुन्छ।’
अमेरिकाजस्तो ‘उन्नत लोकतन्त्र’ भएको देशमा पहिलोपल्ट एक महिला उपराष्ट्रपतिको पदसम्म पुगेकी छिन्। तर, नेपालले त धेरै वर्षअघि नै एउटी महिलालाई राष्ट्रपति पाइसकेको थियो।
‘देशको सबैभन्दा उच्च पदमा पुगेकी महिला। हेर्नुस् त महिलाका लागि, महिला हिंसाविरुद्ध उहाँले कति काम गर्नसक्नुहुन्थ्यो? उहाँलाई कति धेरै राम्रो काम गर्ने अवसरहरू थिए र छन्,’ हिमालाई लाग्छ, ‘देशलाई, संविधानलाई बचाएर पनि धेरै काम गर्न सकिन्थ्यो। तर, मलाई लाग्छ सायद उहाँलाई त्यो पद नै सम्हाल्न गाह्रो भएको हो कि!’
सरकारको कमदविरुद्ध ‘हिमा’ हरूको ‘मार्चपास’ पनि चलिरहेको छ। राजनीतिक दलहरूका मोर्चाहरू पनि सडकमै छन्।
तर, पदचाप फरक छन्।
हिमाले पनि बुझेकी छिन्- सत्ताबाट छुट्टिएका राजनीतिक दलहरूले सडकमा किन आन्दोलन गरिरहेका छन्। र, नयाँ पुस्ताको स्वस्फूर्त पाइलाहरू किन बढ्दैछन्? जस्तो कि रामकुमारी झाँक्रीले खुलेआम राष्ट्रपतिलाई लल्कार्दा उनले ‘गिरफ्तारी’ दिनुपर्यो।'
‘त्यो त एउटा सर्कसजस्तो लाग्छ। उहाँहरू आफ्नै पार्टीभित्रको लडाइँ सडकमा पोखिएको हो। आफूआफू लडेर आइरहनुभएको छ। यो त हास्यास्पद नै हो नि,’ हिमालाई लाग्छ, ‘कसैको पनि मानहानी गर्न पाइन्नँ। त्यसमा पनि अझ संविधानले नै दिएको सम्मानित पदको मानहानी गरेर आफ्नो राजनीति त झन् गर्नै पाइन्नँ।’
प्रश्न गर्न जागेको पुस्ता
हिमालाई अझ धेरै प्रश्नहरू गर्न मन छ। सत्तामा बस्नेहरूको ‘मनपरी’ ले पोलेका ‘युवा मन’ हरू अहिले सडकमा ओर्लिएका छन्।
यो केही गर्नसक्ने पुस्ता हो। ‘मौका देऊ गर्न त सक्छन् नि। मौकै नदिने? फेरि उही अनुहार, उही मान्छे। उही समूहलाई लगेर राख्ने? यो फ्रस्ट्रेसनतिर जाने बाटो भयो,’ हिमा भन्छिन्, ‘उनीहरूलाई केही गर्न दिऔं, गर्न सक्छन्।’
तर, पनि आउनुपर्ने जति आक्रोस आइसकेका छैनन्। हुनुपर्ने जति ‘विद्रोही’ सडकमा देखिएकै छैनन्।

‘यो एउटा समयको डर पनि हो। बोल्न नपाइने, प्रश्न सोध्नै नपाइने?,’ हिमालाई लाग्दैन आजको पुस्ता सहनशील छ, ‘यस्ता कुराहरूले पोल्छन् सबलाई। सबमा आक्रोस छ। तर, डर छ नि त। सरकारको डर छ, समयको डर छ।’
जसरी सडकमा न्याय मागिरहेको, आफ्नो अधिकार माग्दै भइरहेको ‘मार्च पास’ मा सरकारले आफ्ना विरोधी पदचाप देख्छ।
अनि, विद्रोहका कविता पढ्ने ‘सपनाहरू’ विद्रोहको चेत बोल्ने ‘हिमाहरू’ अनि अधिकार माग्ने ‘मोहना’ हरूलाई सत्ताले पालेका सेनामेनाले ज्यानै मार्ने धम्की दिन्छन्। बलात्कारविरुद्ध जागेका आवाजहरूमाथि ‘बलात्कार’ कै धम्की दिन्छन्।
‘अब त झन् कसरी रोकिनु? हामी रोकिनेवाला छैनौं,’ र, त हिमाहरूका पाइला अझ अघि बढ्दैछन्। प्रश्न सोध्ने पुस्ताले सडक ढपक्कै ढाक्दै।
कालो टिकुली
उनको माथमा टाँसिएको त्यो कालो टिकुलीको रहस्य के होला?
हिमासँग छोटो जवाफ छ- ‘विद्रोह!’
उनको भर्खर बिहे भएको थियो। उनले निधारमा सानो रातो टिकुली लगाउँथिन्। एक दिन कसैले उनलाई भन्यो- ‘अहो यो त सौभाग्यको प्रतीक हो रातो टिकुली।
त्यो दिन हिमालाई लाग्यो ‘ए सौभाग्यो पो!’ अनि उनले त्यो रातो टिकुली फालिदिइन्।
‘म त विद्रोही महिला हुँ। अनि, मैले सौभाग्य फालेर कालो ठूलो टिकुली लगाएँ।’ र, त्यो कालो टिकुली विद्रोहको प्रतीक हो। जो उनको निधारमा हत्तपत्ति छुट्दैन।
शनिबारे ‘साइक्लिङ’ सकेर आइपुगेका श्रीमान र छोरालाई अँगाल्दै हिमाले भनिन्, ‘मेरा विद्रोहका सौभाग्य यिनै हुन्।’
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७