नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले उद्योगी व्यवसायीलाई मध्यनजर गरी चार वटा राहतका प्याकेज ल्याउन लागेको बताएका छन्।
महासंघले ल्याउने राहतको कार्यक्रमले उद्योगीको व्यवसाय बढाउनमा सहयोग पुग्ने र त्यसले देशको विकासमा टेवा पुग्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६७ औं साधारण सभा तथा २४ औं अधिवेशनमा बोल्दै गोल्छाले महासंघले बैंक, राजस्व, श्रम र मेलमिलाप गरी चार क्षेत्रमा राहतको प्याकेज ल्याउन लागेको जानकारी दिए।
परामर्शदाता, नेपाल सरकारका पूर्व सचिव, पूर्व न्यायाधीश, राजनीतिककर्मी सहितको विज्ञ समूह बनाई सरकारसँग समन्वय गर्ने, अप्ठ्यारोमा परेका व्यवसायीलाई कानूनी परामर्श दिनेदेखि व्यापारीहरु बीच मेलमिलापसम्मको कार्यक्रम राखिएका बताए ।
उनले केही दिनभित्रै महासंघले बैंकहरुसँग लगानीको बिषयमा सम्झौता गर्न लागिएको बताए।
त्यस्तो लगानी साना तथा मझौंला उद्योगीको बिषयमा हुने छ । त्यसले बिना धितो सरल र कम समयमै ऋणकर्जा उपलब्ध उपलब्ध हुनेछ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले उद्योग व्यवसायीसँग सहकार्य गरेर प्रदेश सरकार काम गर्न खोजेको बताए ।
प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गरेको र सम्मेलनमा सहभागिताका लागि उनले अनुरोध गरे।
उनले उद्योगीहरुले १ अर्ब भन्दा बढी लगानी गरी कुनै त्यस क्षेत्रको पूर्वाधारका लागि प्रदेश सरकारले सहयोग गर्ने कार्यक्रम रहेको बताए। कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले व्यवसायीको हित मार्फत देशमा समृद्धि ल्याउनमा बुटवल उद्योग वाणिज्य संघले सरकारसँग सहकार्य गरिरहेको बताए ।
संघका महासचिव दिनेश श्रेष्ठले कोभिड १९ को महामारीको समयमा नीजि क्षेत्रले सरकारसँग गरेको सहकार्यमा गरेको सहयोग प्रति उद्योगी व्यवसायी प्रतिष्ठानलाई धन्यवाद दिए।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७