नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्ध आफूहरू अहिले रक्तपातहीन युद्धमा रहेको बताएका छन्।
विद्यार्थी नेता तिलकराज भण्डारीद्वारा लिखित पुस्तकको काठमाडौंमा विमोचन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूहरू प्रतिगमनविरुद्ध रक्तपातहीन युद्ध गरिरहेको बताए।
‘पुस ५ पछि हामी युद्ध गरिरहेका छौं, नयाँ प्रकारका युद्ध गरिरहेका छौं, देशव्यापी युद्ध गरिरहेका छौं,’ उनले भने,‘अर्को पक्ष जसले ७० वर्षका उपलब्धिहरुलाई अपहरण गरेको छ, त्यो हतियारबन्द छ, राज्यको शक्ति प्रयोग गरेर दबाउन खाजिरहेको छ। हामीचाहिँ रक्तपातहीन शान्तिपूर्ण युद्ध गरिरहेका छौं।’
प्रतिनिधिसभा विघटनबारे अदालतले संविधानको मर्म र भावनाअनुसार नै फैसला गर्नेमा आफूहरू विश्वस्त रहेको प्रचण्डले बताए।
केपी ओलीले फुटको बाटो रोजेको बताउँदै उनले एकताको झण्डा आफूहरूले बोकेको दावी गरे।
‘पार्टी एकताको झण्डा हामीले बोकेका छौं, उहाँले पार्टीलाई पनि फुटतर्फ लानु भयो, संविधान र लोकतन्त्रलाई पनि विसर्जनतर्फ लग्नु भएको छ,’ प्रचण्डले भने,‘मुद्दा त उहाँले हारि नै सक्नुभयो, व्यावहारिक रूपमा यसलाई परास्त गर्न हामीले नयाँ प्रकारको यो युद्ध जित्नुपर्ने छ।’
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७