जन्म दिने बाआमा!
कर्म दिने बाआमा!
जीवन–मर्म दिने बाआमा!
सन्तानलाई बाबुआमाले बुढेसकालको सहाराका रूपमा लिन्छन्। त्यसैले त आफू दुखेर सन्तानको खुसीका खातिर हाँसिरहेका हुन्छन्।
सन्तानको रहरलाई आफू मेटिएर भए पनि पूरा गर्न खोजिरहेका हुन्छन्।
तिनै बाआमाको मन बुढेसकालमा सन्तानबाट उपेक्षित हुँदा कति दुख्ला!
बुबाआमालाई सबैभन्दा ठूला भगवानका रूपमा लिइन्छ।
तर, पछिल्लो समय बुबाआमालाई धेरैले भगवान नभई बोझका रूपमा लिने गरेको पाइन्छ।
उनीहरू घरपरिवारबाट मात्र नभई राज्यबाटै उपेक्षित हुने गरेका छन्।
०००
कृष्णमुरारि गौतम ‘चट्ट्याङ मास्टर’ लाई यो कुराले असाध्यै नमाजासँग घोच्यो।
चट्ट्याङ मास्टर हास्यव्यङ्ग्य क्षेत्रको एक ओजिलो नाम हो।
हास्यव्यङ्ग्य कविता लेख्दालेख्दै उनको मन फेरियो। उनले बुढेसकालमा १० वर्षसम्म बुबाको सेवा गरे।
बुबा बिरामी हुँदा र सेवा गर्दा उनलाई ज्येष्ठ नागरिकबारे अनुभव भयो। ज्येष्ठ नागरिकका समस्या देखेर भित्रभित्रै चट्ट्याङ मास्टरको मन पोल्न थाल्यो। र, उनलाई लाग्यो– अब म यही क्षेत्रमा केही गर्छु।
‘नेपालमा ज्येष्ठ नागरिकलाई हेर्ने अस्पताल छैन, स्याहार गर्न सिकाउने स्कुल छैन, उनीहरूबारे जान्ने विशेषज्ञ छैनन्, केही पनि छैन,’ उनले भने, ‘वृद्धाश्रम छ। कसैले त्यहीँ दान दिएर पाल्नुपर्ने। जीवनको उत्तराद्र्धमा दानले पेट पाल्ने अवस्थामा कुनै मान्छे पुग्नु दयनीय हो।’
ज्येष्ठ नागरिकलाई कविताको स्लोकमार्फत यसरी सम्झिन्छन् चट्ट्याङ मास्टर -
बुढाबुढी जीवनका मुहान।
यी ज्ञानका खानी भनेर जान।।
गाऔं उनैको जति गुणगान।
तिम्रो त्यत्ति नै बढिराख्छ मान।।
उनले सिकाए तिमीलाई हिँड्न।
उनले पठाए तिमीलाई पढ्न।।
यसरी ज्येष्ठ नागरिकको अवस्थाले पोल्न थालेपछि उनले यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचे। र, नेपालमा जन्मियो ‘एजिङ नेपाल’।
के हो एजिङ नेपाल?
एजिङ नेपाल ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्था हो।
यसले ज्येष्ठ नागरिकको क्षेत्रमा अनुसन्धान गर्छ। उनीहरूले भोग्नुपरेका समस्या बाहिर ल्याउँछ। राज्यलाई ती समस्या समाधानका लागि जिम्मेवार बन्न आग्रह गर्छ। र, ज्येष्ठ नागरिकका हकहितका लागि विभिन्न काम गर्छ।
समाजमा नारी अधिकार, बालअधिकार, युवा अधिकारका कुरा हुने भए पनि ज्येष्ठ नागरिक अधिकारका कुरा नहुने गरेकाले चट्याङ मास्टरको मन झनै आक्रान्त भयो।
‘मान्छेको जीवनको स्रोत बुबाआमा हुन्। उनीहरूकै अधिकारका कुरा नहुनु राम्रो होइन,’ उनी भन्छन्।
चट्ट्याङ मास्टरले यसको पूर्ति गर्ने भाग आफ्नो भएको ठाने। र, एजिङ नेपालमार्फत वृद्धवृद्धाका लागि काम गर्न थाले।
नेपाली भएकाले देशका लागि केही गर्ने अभिभारा आफ्नो पनि भएको उनी ठान्छन्।

कस्तो छ ज्येष्ठ नागरिकको अवस्था?
नेपालमा अहिले सरदर दुई दिनमा एकजना ज्येष्ठ नागरिकको बेवारिसे लास फेला पर्ने गरेको उनी बताउँछन्।
यो तथ्यांक आधार मान्ने हो भने नेपालमा महिनामा १५ जनाको बेवारिसे लास फेलापर्छ।
‘हामी त चाउचाउ खाइसकेपछि बट्टा फ्याँकेजस्तो वृद्धवृद्धालाई फ्याँक्न थालेका छौं,’ उनी भन्छन्।
ज्येष्ठ नागरिकको शव बेवारिसे अवस्थामा भेटिनु भनेको उनले मर्ने बेलामा टाउको अड्याउने ठाउँ पनि नपाएको भन्ने हो। जुन विषयले आफूलाई मात्र नभएर देशलाई नै लज्जित तुल्याउने उनी ठान्छन्।
त्यसका लागि देशको एक जिम्मेवार नागरिक भएकाले आफू पनि जिम्मेवार भएर लाग्नुपर्ने ठानेर यो यात्रा थालनी गरेको उनको भनाइ छ।
उनले अध्ययन क्रममा बुढाबुढीलाई पिट्ने, घरबाट निकाल्ने, दुरवचन बोल्ने, हेलाँ गर्नेलगायत थुप्रै समस्या फेला पारे।
त्यसपछि चट्ट्याङ मास्टरले कुन बेला यस्ता घटना हुन्छन्, के कारणले हुन्छन् भनेर अध्ययन गरेर सन् २०१० मा नेपालमा ज्येष्ठ नागरिकहरूप्रति गरिने दुव्र्यवहारका तथ्यांक समेटेर अनुसन्धानमूलक पुस्तक ‘दु्र्व्यवहार’ प्रकाशित गरे।
उनले तथ्यांक संकलन गर्दा पनि थुप्रै सास्ती खेप्नुपर्यो। वृद्ध मानिसलाई सोधेर तथ्यांक आउने कुरा पनि होइन। त्यसका लागि उनले प्रहरीको सहयोग लिए। प्रहरीमा दर्ता भएका उजुरीलाई आधार माने। पत्रपत्रिकामा आएका समाचारलाई आधार माने। र, कृति तयार पारे।
वृद्धवृद्धाको अधिकारका कुरा नगर्न, सम्मान नगर्दा, आवस्यकताको कुरा नगर्दा यो समस्या बढ्दै गएको उनी बताउँछन्।
यसरी समस्या पहिचान भइसकेपछि समाधानको बाटो पहिल्याउन उनी उद्दत भए। अहिले आधुनिकतामा लागेर पैसा कमाउने दौडधुप बढेकाले बुबाआमाप्रति हेर्ने दृष्टिकोण फेरिएको ठान्छन् उनी।
यसका लागि मानसिकतामै परिवर्तन ल्याउनुपर्ने उनी ठान्छन्।
‘सबै धर्ममा आमाबुबालाई नै पहिलो देउता मानिन्छ। तर, त्यस्ता देउताको हामीले उपेक्षा गरिरहेका छौं,’ उनी भन्छन्।

समस्या कसरी विकराल बन्दै छ?
मान्छे सधैं अवसरको खोजीमा हुन्छ। अवसरकै लागि मानिस विभिन्न ठाउँ पुग्छ। चट्ट्याङ मास्टरका अनुसार एकल परिवारको रुची पनि समस्याको कारक हो।
‘अहिले एकल परिवारको परिपाटी बढ्दै गएको छ। अवसरको खोजीमा छोरो काठमाडौं। नाती अमेरिका। र, वृद्ध बुबाआमा गाउँमा हुन्छन्,’ उनी भन्छन्, ‘जसले गर्दा नयाँ पुस्ताले संस्कार नै सिक्न पाएको छैन। वृद्धवृद्धालाई गर्नुपर्ने संस्कार नै नदेखेपछि उसले संस्कार सिक्दैन। र, यो समस्या पैदा हुन्छ।’
संयुक्त परिवारमा हुँदा तीन–चार पुस्ता सँगै हुने र पछिल्लो पुस्ताले अघिल्लो पुस्ताबाट संस्कार सिक्ने भए पनि अहिले त्यो अवस्था नरहेको उनको अनुभव छ।
उनी यो राज्यदेखि व्यक्तिसम्म सबैको समस्या भएको ठान्छन्। समाजको मानसिकता परिवर्तन नगर्दासम्म यो समस्या नसकिने उनले बताए।
उनी अहिले मानसिकता परिवर्तनको अभियानमा लागेको बताउँछन्। ‘दुईजना बीच झगडा भइरहेको अवस्थामा गाई आए हामी गाईलाई ढोग्छौं। हामीलाई गाई लक्ष्मी माता हुन् भनेर संस्कार दिएकाले ढोग्ने हो। तर, त्यही एउटी बुढीआमा कुप्रेको ढाडमा लरखराउँदै भारी बोकेर आउँदा हामीमा सहयोग गर्ने भाव हुँदैन। किनकि, त्यो हामीलाई संस्कारमा सिकाइएको छैन। त्यसैले मानसिकता परिवर्तन आवश्यक छ,’ उनी भन्छन्।
त्यसका लागि उनी पत्रिकामा वृद्धवृद्धाका कुरा लेख्ने। रेडियोमा कार्यक्रम चलाउने गर्न थाले।
चट्ट्याङ मास्टरले फोडेको समस्याको चट्टान
उनले समस्या देखे। गुहार–गुहार भन्दै सरकारको दैलोमा पुगे। सम्बन्धित निकायमा जाँदा उनको कुरा कसैले सुनेन।
‘मैले कुरा सुनाइरहन्थेँ। उनीहरू वास्तै गर्थेनन्। फाल्तु गफ ठान्थे। मलाई मन्त्रालयमा गएर कुरा राख्दा जंगलमा गएर बोलिरहेको छु कि झैं हुन्थ्योे,’ उनले सुरुवाती दिनको तीतो अनुभव सुनाए।
उनी वृद्ध आमाहरू बढी हिंसामा पर्ने गरेको बताउँछिन्।
‘त्यो थाहा पाएर म महिला आयोग गएँ। कति ज्येष्ठ नागरिक महिलामाथि हिंसा भएको छ भनेर सोधेँ। यसमा हामी हेर्दैनौं, समाज कल्याण मन्त्रालयले हेर्ने हो भने,’ उनी प्रश्न गर्छन्, ‘६० वर्ष पुगेकी हजुरआमा के महिला होइनन्?’
५९ वर्षसम्म हेर्ने संयन्त्रले ६० पुग्दा महिलाको रूपमै गणना नगर्नु चिन्ताको विषय भएको उनी बताउँछन्।
सरकारी संयन्त्रको यस्तो दुरावस्था देखेपछि आफ्नै तहबाट केही गर्नुपर्छ भनेर उनी कस्सिए। ठाउँ–ठाउँमा ज्येष्ठ नागरिकबारे बहस गर्न थाले। र, आज ज्येष्ठ नागरिकका क्षेत्रमा उनले थुप्रै परिवर्तन ल्याएका छन्।
‘७२ वर्षकी आमामाथि बलात्कार हुँदा भन्नुहुँदैन भनिन्छ। अरे बाबा! भन्न नहुने होइन गर्न नहुने हो,’ उनी भन्छन्, ‘यो त गर्न हुने भन्न नहुने समाज हो। जुन चिन्ताको विषय हो।’
उनले पत्रिका प्रकाशन गरे। देश विदेशमा यसबारे भन्न थाले। संयुक्त राष्ट्र संघमै भने। सरकारलाई झक्झक्याइरहे।
‘सिंहदरबारमा पस्न गाह्रो। पस्यो सचिवलाई भेट्न गाह्रो। बल्ल–बल्ल सचिव भेट्यो कुरा राख्न गाह्रो। कुरा राख्यो बुझाउन गाह्रो,’ चट्ट्याङ मास्टर भन्छन, ‘यति गर्दा बुझाउन दुई वर्ष लाग्यो। काम होला–होला भन्ने बेला सचिवको सरुवा भइदिन्छ। निकै गाह्रो छ देशमा काम गर्न।’
उनले यही कामको सिलसिलामा १०–१२ मन्त्रीलाई गुहारिसकेका छन्। कति सचिव फेरिए र त्यो विषय हेर्ने कति शाखा अधिकृत फेरिए उनीसँग हिसाबै छैन।
‘देशमा नारी पत्रिका, बाल पत्रिका, युवा पत्रिका छ तर वृद्धका लागि पत्रिका छैन। हामीसँग बाल अस्पताल छ। महिला अस्पताल छ। वृद्ध अस्पताल छैन। वृद्ध अस्पताल छैन। बाल, महिला रोग विशेषज्ञ छन्। वृद्धवृद्धा अस्पताल छैन,’ उनी भन्छन्, ‘त्यसैले समाजका सबै पक्षमा वृद्धवृद्धालाई पन्छाइएको छ।’
देशको पुरानो र अनुभवी पुस्तालाई देशको मूल प्रवाहमा नराख्दा मुर्खहरूको समूहमात्रै हुने उनी बताउँछन्।
एजिङ नेपालले के–के गर्दैछ?
वृद्धवृद्धाको क्षेत्रमा अनुसन्धानको कामलाई एजिङ नेपालले प्राथमिकतासाथ अगाडि बढाइरहेको छ।
देशमा वृद्धवृद्धाको क्षेत्रमा बुझ्ने जनशक्ति उपत्पादन पनि यस संस्थाले गरिरहेको छ।
‘म त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभाग गएँ। प्राध्यापकमा तर्कसंगत कुरा सुन्ने बानी हुन्छ। के गर्ने भन्ने विषयमा कुरा गर्दा स्नातकोत्तरमा वृद्धवृद्धाको विषय समेटिएको कोर्स राख्न लगाएका छौं। यही वर्षदेखि सुरु भएको त्यो कोर्ष १३ जना विद्यार्थीले पढिरहेका छन,’ उनले खुसी साट्दै भने।
१३ जना वृद्धवृद्धाको क्षेत्रमा बुझ्ने जनशक्ति तयार भइरहेको उनको भनाइ छ। बुढाबुढी त नेपालमा मात्र नभएर विश्वमै भएकाले यो विषयको प्रभावकारिता संसारभरि हुने उनले बताए।
एजिङ नेपालले एउटा कोष खडा गरेको छ। त्यो कोषबाट प्रत्येक वर्ष बुढाबुढीको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने तीनजनालाई छात्रवृत्ति दिइने गरेकोमा यो वर्ष ६ जनालाई दिइने उनले बताए। स्नातकोत्तरमा वृद्धवृद्धाको क्षेत्रमा थेसिस तयार गर्ने ६ जनाले उनको संस्थाबाट छात्रवृत्ति पाउने गरेका छन्।
यसरी उनले वृद्धवृद्धाको क्षेत्रमा जानकार ठूलो जनशक्ति वर्षेनि उत्पादन गरिरहेका छन्। अहिले नेताहरूबाट वृद्धवृद्धाको क्षेत्रमा कुनै काम नभए पनि यसरी उत्पादन गरिएको जनशक्ति भोलि राज्यका कुनै पनि निकायमा पुग्दा काम गर्न सक्नेमा उनी विश्वस्त छन्।
‘काठमाडौं जिल्ला साक्षर घोषणा भयो। मैले प्रमुख जिल्ला अधिकारीलाई भेटेँ। शिक्षा मन्त्रालयमा गएर वृद्धवृद्धाले त ‘क’ पनि लेख्न जान्दैनन् कसरी साक्षर जिल्ला भयो भनेँ, उनले भने, ‘उहाँहरूले १५ वर्षमाथि र ५९ वर्षसम्मका नागरिकलाई मात्र गन्ने गरेको बताए। राज्यले नै वृद्ध नागरिकलाई नागरिक नै मान्दैनँ।’
उनले अहिले आफूहरूले ज्येष्ठ नागरिक शिक्षा सुरु गरिरहेको बताए। आफूहरूको कामलाई हेरेर २०२० को अन्तर्राष्ट्रिय युनेस्को किङ सेजोङ लिट्रेसी पुरस्कार पाएको बताए। जुन २० हजार डलरको पुरस्कार हो।
विश्वसामु यसरी राम्रो काम गरेर देशको शीर ठाडो पार्न पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछन्।
हाइस्कुल तहमा पनि यो विषय राख्न गृहकार्य भइरहेको र कोर्स तयार भइसकेको उनले बताए।

कसरी अप्ठ्यारो सहन बाध्य छन् वृद्धवृद्धा?
ज्येष्ठ नागरिकलाई कसैले पिट्यो भने पुलिसले हेर्दैन। उजुरी गर्न जाँदा वडा कार्यालय पठाउँछ। अप्ठ्यारो खेप्दा पनि वृद्धवृद्धा भन्ने ठाउँ नहुँदा पीडा खेप्न बाध्य रहेको उनी बताउँछन्।
कहिलेकाहिँ ज्यादै असल हुने बानीले पनि समस्या पर्ने गरेको उनको बुझाइ छ।
कुनै सन्तानले आमाबुबाको गालामा हान्दा छिमेकीले देखेर ‘तपाईंको छोराले त पिटेछ, कस्तो दुख्यो होला’ भन्दा, ‘हैन उसको जिस्किने बानी यस्तै हो’ भनेर आमाबुबाले टार्ने गरेको पाइने उनले बताए।
त्यस्तो भलाद्मीपनलाई दुख्न दिनु जीवनकै सबैभन्दा ठूलो मुर्खता भएको चट्याङ मास्टरले बताए।
श्रीमती निकाल्दा आधा अंश दिनुपर्ने तर बुबाआमा निकाल्दा केही दिनु नपर्नेजस्ता नियमले पनि समस्या पैदा गरिरहेको उनी बताउँछन्।
‘हाम्रा नीतिनियम वृद्ध नागरिक विरोधी छन्। यसको सुधार आवश्यक छ,’ उनले भने।
७० वर्ष कटेकाहरूको हातमा देशको बागडोर हुँदा पनि वृद्ध नागरिकप्रति नसोच्नु चिन्ताको विषय भएको उनले बताए।
उनी देशको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै व्यङ्ग्यात्मक कविता सुनाउँछन्।
असल मान्छे बनौं कि म
ठूलो मान्छे बनौं अब
एउटै बाटो थियो पैले
दुइटा बाटा भए अब।।
‘पहिला जो असल हो त्यही ठूलो मान्छे हुन्थ्यो,’ उनले भने, ‘अहिले त १७ हजार मारेर आउँदा प्रधानमन्त्री हुन्छन्। प्रधानमन्त्री भनेको ठूलो मान्छे।’
राजनीतिज्ञ नै वृद्धवृद्धाका समस्यामा गम्भीर नहुनु झनै ठूलो समस्या भएको उनले बताए। र, उनको राज्यसँगको आसा पनि मरिसकेको छ।
कहिले होला समस्या समाधान?
अहिलेका शासक र नेताहरूबाट समस्या समाधान होला भन्ने आसा चट्ट्याङ मास्टरलाई छैन।
‘मलाई स्नातकोत्तरमा बुढ्यौली विज्ञान पढिरहेकाहरूबाट आश छ। उनीहरू कुनै दिन नीति निर्माण तहमा पुगे भने सही किसिमका नीति बनाउन सक्छन् भन्ने आसा छ,’ उनले भने।
ज्येष्ठ नागरिक हाम्रो समाजका सम्पत्ति हुन्। र, तिनीहरूलाई सँगसँगै अगाडि बढाएरमात्र हामी धनी हुनसक्छौं भन्ने चेतना जागृत अभियानमा लागेका चट्याङ मास्टर अहिले पढिरहेको पिढीले भावी दिनमा केही गर्ने आसामा छन्।
यो जिन्दावाद मुर्दावादको राजनीतिले वृद्धवृद्धाका क्षेत्रमा काम गर्न नसक्ने उनको तर्क छ।
‘आधारभूत मानवअधिकार जन्मेदेखि मर्दासम्मको सबैको हुन्छ। ज्येष्ठ नागरिकको पनि आधारभूत मानवअधिकार हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै समस्या समाधान हुनसक्छ।’
अब वृद्धवृद्धाको पनि शिक्षा, स्वास्थ्य, सम्पत्तिमालगायत आधारभूत कुरामा पहुँच हुनुपर्ने चट्ट्याङ मास्टरले बताए।
राज्यले अपेक्षित रूपमा सहयोग नगरे पनि उनको प्रयासले धेरै काम भएको छ। ‘अहिले मन्त्रालयको नाममा ज्येष्ठ नागरिक थपिएको छ। मन्त्रालयमा ज्येष्ठ नागरिक एकाई छ। ज्येष्ठ नागरिकको नाममा खर्च हुने बजेट बढेको छ,’ उनले खुसीसाथ भने।
पहिले सञ्चारमा यो विषयले प्राथमिकता नपाउने भए पनि अहिले मसिनो गरी बहसको विषय बनिरहेको उनले बताए।
यो देशका हरेका बाआमा सम्मानित भएको दिन आफू र आफ्नो देश सम्मानित भएको महसुस गर्ने उनले बताए।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७