रगतमा लतपतिएकै हो। तर, मुर्दा जन्मियो संविधान। मुर्दा जन्मिए पनि आफ्नै रगतमा लतपतिएको सन्तानको माया आमालाई हुन्छ। कतै यो मुर्दा होइन कि, बाँचिहाल्छ कि। जोगियो भने त्यसमा ज्यान भर्न पाइन्छ कि। त्यसलाई इलाज गरेर हुर्काउन सकिएला कि!
मधेसको रगत लतपतिएको यो संविधान पित्तृसत्तात्मक हिसाबले खसआर्य यसको पिता हो। खुसीयाली मनाइरहेछन्। किनकि, भित्र हेर्नै गएका छैनन् के हो भनेर। बल्ल हेर्न थालेका छन्। मधेस आमा हो। बलात्कारै भएको हो। रगतै लतपतिएको हो। तर, सन्तान त सन्तानै हो नि त। यसलाई मारेको सहन त सकिँदैन नि। यो हो अहिलेको अवस्था।
नेत्रविक्रम चन्द बाबुसाहेब हुन्। जन्मेकै राजा हुनलाई। रेशम चौधरी अनि लक्ष्मण चौधरीहरू त अधिनस्थ समुदायका शताब्दियौंदेखि दासको अवस्थामा रहेका भए। राजा हुन जन्मिएका र दास हुन अभिसप्त हुनेहरूको बीचमा त तुलनै गर्न मिल्दैन। यसका धार्मिक, राजनीतिक र सांस्कृतिक विभिन्न पक्षहरू छन् जहाँ समानता नै छैन।
अर्को कुरा के हो भने राजनीतिको जिम्मेवारी बौद्धिकहरूको पनि हो भन्ने कुरा फ्रान्स डेफोस्फेयरबाट आएको हो। जब अन्याय भइरहेको छ भने सबैभन्दा पहिला वुद्धिजीवि बोल्नुपर्छ। रेशम चौधरीको पक्षमा मेरो जानकारी भएसम्म खसआर्य समूहका बुद्धिजीविहरूले अहिलेसम्म एक अक्षर बोलेको वा लेखेका छैनन्।
कहिलेकाहीँ बाबुराम भट्टराईजीले यसो घुमाएर त्यो पनि दुईचार शब्द लेख्नुहुन्छ। तर, उहाँ पनि राजनीतिज्ञ नै हो। एउटा पार्टीको नेता हो।
नेत्रविक्रम चन्दले अहिले नेपाली समाजमा चलेको एउटा चल्तीको ‘वाद’ समाए। माओवाद अनि लेलिनवाद। यी वादहरू त नेपाली समाजमा आकर्षक लाग्छन्।
रेशम अनि लक्ष्मणहरूसँग त अस्मिताको लडाइँ थियो। अधिनस्त समुदायको। जसलाई न धर्मले, न संस्कृतिले मान्यता दिएको छ न त राजनीतिले मान्यता दिएको छ।
अर्को कुरा, नेत्रविक्रम चन्दले बडो सावधानीपूर्वक अहिलेसम्म सत्ता नजिकका कसैलाई पनि आक्रमण गरेनन्। बरु आमसर्वसाधारणमाथि आक्रमण गरे।
त्यसैले सत्ता उनीसँग दुश्मनी गर्दैन। रेशम अनि लक्ष्मण थारुहरूको हिम्मतलाई हेर्नुस् सत्तासँग दुश्मनी लिएका छन्। सत्ताले कसरी माफ गर्ला र? हाम्रो समस्याको ऐना पनि यही नै हो। ऐनाले देखाउने वास्तविकता नै यही हो कि नेत्रविक्रम चन्द को हुन् अनि हाम्रा रेशम र लक्ष्मण थारुहरू को हुन्। हाम्रो समाज जस्तो छ हाम्रो सोच जस्तो छ त्यो ऐनाले देखाउने पनि त्यस्तै त हो नि।
नेपालमा न्यायालय कहाँ छ र? अदालत छ। अदालतले फैसला गर्ने हो न्याय दिने होइन। फैसला कसको पक्षमा हुन्छ? जसको शक्त्ति हुन्छ त्यसको पक्षमा हुन्छ। शक्त्तिका पनि अनेक रूप हुन्छन्। शक्त्तिका यी रूपसँग नेत्रविक्रम चन्द र रेशम चौधरीहरूलाई तुलनै गर्न मिल्दैन।
लोकप्रिय किन भइन्छ भन्ने एउटा सैद्धान्तिक प्रश्न हो। योसँगै जोडिएको अर्को कुरा के हो भने अलोकप्रियता भनेको के हो। एउटा त के हो भने सबैलाई मनपर्ने कुरा गरिदिनुभयो भने लोकप्रिय भइन्छ। दोस्रो के हो भने कसैले अपेक्षा गरेभन्दा बढी भनेको पुर्याइदिनुभयो त्यो पनि लोकप्रियता हुन्छ। पपुलारिटी बाइ द डेलिभरी।
तेस्रो कुरा के हो भने आफ्नो सिद्धान्तमा अडिग रहनुभयो, खासै डेलिभरी पनि गर्नुभएन तर सत्यसँग जोडिइरहनुभयो भने लामो कालखण्डमा त्यो पनि लोकप्रिय रहन्छ। हैन भने प्रदीप गिरीजी लोकप्रिय भइरहने त कुनै पनि कारण छैन नि। तर, पनि उहाँ किन लोकप्रिय हुनुहुन्छ भने उहाँ आफ्नो सत्यलाई समातेर बस्नुभएको छ। त्यो पनि महात्मा गान्धीको लोकप्रियता। त्योभन्दा पनि सस्तो लोकप्रियता के हो भने पूर्वाग्रहको पुनर्पुष्टि सबैभन्दा सस्तो लोकप्रियता हो।
खड्गप्रसाद शर्मा ओलीको चलाखी नै के हो भने, मैले त्यसै ओलीलाई खड्गप्रसाद शर्माले ठ्याक्कै त्यो खसआर्य समाजको पूर्वाग्रह समाते। त्यो पूर्वाग्रह त धार्मिक थियो। त्यो हिन्दुको वर्चश्व हुनुपर्छ। अर्को भाषिक वर्चश्व हुनुपर्छ। अर्को जातियताको कुरा थियो। कि खसआर्य समुदाय यो देशको विशिष्ट हुन्। यो देशमा शासन गर्न जन्मिएका हुन्। किनभने यो देश बनाएकै तिनले हो। तिनले नै बलिदानी दिएका हुन्। यस्तो पूर्वाग्रह छ।
अर्को भनेको सामान्य जनदैनिकीलाई उखान टुक्कामा जोड्ने उनको पूर्वाग्रह छ। त्यसमा नारी द्वेषको कुरा होला, गरिबीको कुरा होला। त्यो उनको पूर्वाग्रहको पुष्टि हो।
अर्को उनको लोकप्रियता कसरी पनि भयो भने आफ्नो प्रतिष्पर्धी कहाँ छ त्यहाँ जोडेर देखाउने त्यसमा १४ वर्ष जेल बसेको अर्को त पर्दैन। बालबच्चा नभएका प्रधानमन्त्री अरू देखिँदैन। श्रीमतीलाई अघि बढाएको, भतिज, मामा, काकाहरूलाई अघि बढाएको अरू देखिँदैन। भनेपछि उनी त्यो लोकप्रियताको मापदण्डमा पनि खडा उत्रिन्छन्।
अर्को कुरा के हो भने लन्डन स्कुल अफ इकोनोमिक्स पढेका शेरबहादुर देउवाको अंग्रेजी भाषणभन्दा १४ वर्ष केन्द्रीय कारागारमा बस्दा सिकेको खड्गप्रसाद ओलीको अंग्रेजी भाषण त बढी बुझिन्छ। लोकप्रियता भनेका यस्तै हुन्। जब लामो दृष्टिकोण नै छैन भने तत्कालको कुरा गरे पुग्छ। त्यही नै लोकप्रियता हो।
यो आइसक्रिम बेच्नेको लोकप्रियताजस्तै हो। दिनभरि बेचेर नाफा कमाइसकेको हुन्छ। बाँकी बचेको घर लगेर जाँदा त पग्लिहाल्छ। अनि त्यो सिँत्तैमा बाँडिदिने जस्तै।
यसरी हेर्दा बैधानिकतासँग जोडिएको उनको कुनै लोकप्रियता छैन। सत्यसँग जोडिएको कुनै लोकप्रियता छैन। भनेपछि इतिहासमा उनी लोकप्रिय शासक कहलिने छैनन्। विदुषक चाहिँ बडा लोकप्रिय हुन्छ। नाटक बडो गजप बनाउँछ। उसको लोकप्रियता इतिहासमा दर्ज हुँदैन। इतिहासमा दर्ज हुने भनेको सत्यसँग नजिक हुने, डेलिभरी गर्नसक्ने, भनेको कुरा पुर्याउन सक्ने, कानुनबमोजिम हिँड्न सक्ने त्यो लोकप्रियता चाहिँ इतिहासमा दर्ज हुन्छ।
दिलीपकुमार र बैजयन्ती मालाको एउटा फिल्म छ त्यो नाम मैले बिर्सें। बाटो पक्की भएपछि मोटर चल्न थाल्छ। अनि टाँगावाल बेरोजगार हुन थाल्छन्।
मलाई याद छ सानो छँदा सिन्धुलीतिरका सार्की दाजुभाइ आउनुहुन्थ्यो। काँचो छालाको जुत्ता हुन्थ्यो। एक पसेरी धानमा दिनुहुन्थ्यो।
प्रविधि के आयो भने छालाका आधुनिक जुत्ता आउन थाले। बिस्तारै त्यो उनीहरूलाई नफाप्ने भयो। ७० को दशकतिर चाइनिज जुत्ता आयो। यति सस्तो आयो कि त्यसपछि उनीहरूको व्यापारै सक्कियो। प्रविधिले एउटा पुस्तालाई विस्थापित गर्छ। एउटा युगलाई विस्थापित गर्छ।
समृद्धिको हुटहुटी भनेको त्यही प्रविधिसँग मिल्न सक्ने हो। यदि त्यो काँचो छालाको जुत्ता बनाउने दाजुभाइहरूले नयाँ प्रविधिलाई अंगिकार गर्न सकेको भए यो समृद्धिले उनीहरूमा हुटहुटी जगाउँथ्यो। अहिले किन जुत्ताको बजारमा बाहुनको हालिमुहाली भइरहेको छ? हुनुपर्ने त परम्परागत पेसावालहरूको हो नि त। तर, भइदियो के भने परम्परागत पेसावालहरूमा यसलाई यो प्रविधिलाई समाउन सक्ने क्षमता छैन। हुटहुटी भएन।
७० को दशकको सुरुमा जनकपुरमा एयरपोर्ट बन्यो। काठमाडौंका लागि लगभग ६५ रुपैयाँ भाडा भएजस्तो लाग्छ। त्यो भनेको हाम्रो तीन मनजति धान बेचेर आउने पैसा थियो। त्यो बेच्न सक्ने र त्यसरी पैसा हुनेलाई त जहाज चढ्ने हुटहुटी हुने भयो। त्यो तीन मन धानको चामल र खुदी मिलाएर महिनौं गुजार्ने सामान्यजनका लागि त हप्ताको एक दिन एयरपोर्ट जाने अनि यो हावागाडी कसरी उड्छ र ओर्लिन्छ भनेर हेर्ने। त्यही हुटहुटी हुन्थ्यो। त्यसैले हुटहुटीको समानता नहुन सक्छ।
हामीकहाँ रेकर्ड अफ डेलिभरी नै छैन। राजा महेन्द्रले पनि भनेका थिए- अरूले सय वर्षमा गर्ने काम हामीले दस वर्षमा गर्नु छ। तर देश जहाँको त्यहीँ छ। वीरेन्द्रले पनि एसियाली मापदण्डको विकासका कुरा गरे। अहिले कोही सिङ्गापुर बनाइदिनेहरू आए कोही स्विट्जरल्यान्ड बनाइदिन्छौं भन्ने आए। तर, हामी त उही नाली सफा गर्नेमात्रै भयौं। केही भए। समृद्धिको हुटहुटी जगाउने यो अर्को पाटो हो।
त्यस्तै हुटहुटी जगाउने अर्को कुरा हो भविष्यप्रतिको आसा। अहिले त भविष्यको कुरा कोही कसैले गर्दैन। विगतका कुरामात्रै गर्छन्। हाम्रा पुर्खा यस्ता उस्ता भनेर। भविष्यका कुरा गर्ने भविष्यद्रष्टा भएको नेतृत्व पाउन त पायौं तर खड्गप्रसाद ओलीजस्ता पायौं। जो तुक न बेतुकको कुरामात्रै गर्छ। तर्कपूर्ण भविष्यको कुरा गरे पो हुटहुटी जाग्छ त।
'लोअर द स्टेक मोर इन्टेन्स द कन्फ्लिट'। मधेसमा स्टेक नै कम भयो। चार अंगुल जमिनका लागि भाइभाइमा मारामार काटाकाट हुन्छ नि! त्यस्तै दुवैजना मिलेर देशको प्रधानमन्त्री बनौं भन्दा हुँदैन नि। मधेसमा जमिन्दारजति सबै पहाडे छन्। अपवादमा केही मधेसीहरू पनि हुन्थे। जस्तो कि कहीँकतैका मिश्रहरू। उनीहरू पनि के हो भने उनै पहाडिया जमिन्दारसँग जोडिएर उनीहरूजस्तै बन्न खोज्ने वा अलिकति फरक गर्ने भनेको सीमापारिका सजातीयहरूसँग जोडिन खोज्ने।
यो अधिनस्थ समुदायको मनस्थिति नै हो। जो जहिले पनि अरूजस्तो मात्रै हुन चाहन्छ। फेरि, अर्को कुरा के भयो भने मधेसमा अन्तरसंघर्ष भयो। वैश्यशक्त्ति छ जोसँग आर्थिक शक्त्ति छ। ब्राह्मण छ जोसँग धार्मिक शक्त्ति छ। क्षेत्रीय छ जोसँग बलको शक्त्ति छ। यस्तै विभिन्न शक्त्तिको आन्तरिक संघर्षमा सबै शक्त्ति खेर गयो। अहिले पनि सरकारी अड्डामा को पहाडे आयो वा कोही नेता आयो भने अधिकारको माग गरिँदैन बरु उसैलाई कसले कति खुसी बनाउने भनेर फेरि संघर्ष चल्छ। यो अधिनस्थ समाजको दु:ख हो।
नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादको प्राथमिक अवयव हिन्दुधर्म हो। र, महेन्द्रीय राष्ट्रवादको प्राथमिक अवयव पनि हिन्दु नै हो। किनभने असली हिन्दुस्तानबाट पृथ्वीनारायण, चन्द्रसमशेर हुँदै आएको हो। यो पहिलो समानता हो। दोस्रो समानता के हो भने नरेन्द्र मोदीको पनि माइबाप सरकार नै हो। शासकले नै शासितको कल्याण गर्छ। शासितले अधिकार खोज्ने होइन भन्ने हो। राजा महेन्द्रको पनि त्यही नै थियो। तेस्रो भनेको समरूपता। जस्तो कि हिन्दी, हिन्दु, हिन्दुस्तानी नरेन्द्र मोदीको पनि हो। नेपाल, नेपाली हिन्दु महेन्द्रको पनि हो।
नरेन्द्र मोदी चिया बेचेर आएका हुन् कि होइनन् त्यसको कुनै प्रमाण छैन। बरु प्रमाण के भेटिएको छ भने राष्ट्रिय स्वंयसेवकको अफिसमा भुइँ पुछ्ने काम गर्थे भन्ने छ। फागुन ७ गते प्रजातन्त्र दिवसका दिन नेपाली दूतावासमा एउटा कार्यक्रम हुन्थ्यो। त्यहाँका सबै राजनीतिक पार्टीलाई निम्तो जान्थ्यो तर भारतीय जनता पार्टीका मान्छे खासै जाँदैनथे। अमेरिकनले, रसियनले वा अरूले बोलाए पो जाने हो। नेपालाको पार्टीमा के जाने भन्ने हुन्थ्यो। ठूला नेताहरू जाँदैनथे। अनि, त्यहाँ नरेन्द्र मोदीलाई पठाइन्थ्यो। सबैभन्दा पहिला नेपाली दूतावासको पार्टीमा पुग्ने पनि नरेन्द्र मोदी हुन्थे। अनि, पार्टी सकिएपछि सबैभन्दा पछि दूतावासबाट निस्किने पनि उनै हुन्थे। नरेन्द्र मोदी त्यो तल्लो तहबाट आएका हुन्।
तर, राजा महेन्द्र त त्यो तहबाट आएका होइनन्। शासक वंश दरिद्र नै थिए। तर, पनि राजाको छोरा राजा नै हुने संस्कारबाट आएका थिए। उनी र मोदीमा यो कुरा नमिल्दो छ।
नरेन्द्र मोदी धार्मिक विभेद गर्छन् तर महेन्द्रले निर्जातीय विभेद गरे। नरेन्द्र मोदीलाई अहिले तत्काल पार्टीले अनि जनताले मूल्याङ्कन गर्छन्। महेन्द्रलाई मूल्याङ्कनको कुनै चिन्ता नै थिएन।
त्यसैले अलिकति कस्तो छ भने मधेसका मुस्लिमलाई नरेन्द्र मोदी मन परेका होइनन्। मधेसी इसाइलाई पनि मन परेका होइनन्। मानेका, मन पराएका कसले हो भने सम्मान खोज्नेहरूले। अलिअलि पैसा कमाए विदेशै गएर भए पनि अनि यहाँ राज्यले हामी मधेसीलाई सम्मान त दिन सक्दैन। त्यो सम्मान कहाँ पाइन्छ भन्दा हिन्दुतिर।
वैश्य समुदायको एउटा निकै तल्लो वर्गका मान्छे हुन् मोदी। अनि त्यो वर्गलाई एउटा आत्मसम्मान त दिलाए नि! नेपालका कुनै पनि राजनेताले यहाँ कसैलाई आत्मसम्मान दिन सकेका छैनन्। म नेपाली हुँ भनेर गर्व गर्नलाई त कुनै न कुनै केही न केही कारण देखिनुपर्यो नि त! मेरो पुर्खा पृथ्वीनारायण शाहसँग लडेको छैन, जस्तो कि कुनै पहाडी जनजातिको थियो। जंगबहादुरले पनि मेरा पुर्खालाई राखेका थिएनन्। नारायणहिटीमा पिउनसम्म पनि थिएनन् मेरा पुर्खा। देखाउनका लागि मन्त्री हुन्छन् त्यो पनि घुस्याहा। त्यहाँ गौरव गर्ने कुरा भएन।
मोदीले यस्तै वर्गलाई आत्मसम्मान दिएका थिए। राज्यबाट सम्मान नपाएकाहरूले मोदी मधेसमा आउँदा देखाएको आशक्त्ति पनि यही हो। त्यसलाई राष्ट्रवादसँग जोड्नुभन्दा पनि सम्मानसँग जोड्दा उपयुक्त्त हुन्छ भन्ने लाग्छ।
(जनकपुर साहित्य महोत्सवमा ‘देश र मधेस मन्थन’ शीर्षकमा विश्लेषक सिके लालसँग पत्रकार सुजित महतले गरेको कुराकानीको सम्पादित अंश)
प्रस्तुति : गजेन्द्र बोहरा
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७