सास फेर्दा हावा स्वतन्त्र रुपमा चल्न पाएन भने मानिस घुर्न थाल्छ।
विभिन्न अध्ययन, अनुसन्धानले देखाएअनुसार १० देखि ३० प्रतिशत मानिसमा घुर्ने समस्या पाइएको छ।
जब, सास फेर्ने बाटो साँघुरो हुन्छ अनि मानिस घुर्न थाल्छ। नाक देखि फोक्सो सम्म नलीलाई ‘श्वासनली’ भनिन्छ। त्यो चाहिनेभन्दा बढी साँघुरो हुन्छ।
धेरै साँघुरो बाटोबाट हावा जाँदाखेरि त्यसले एक किसिमको भाइब्रेसन बनाउँछ। त्यही भाइब्रेसन नै घुराइ हो।
कारण
मोटोपन भएका मानिसमा घुर्ने समस्या बढी हुन्छ।
त्यसैगरी, कुनै व्यक्तिको नाकको हड्डी बाङ्गो, नाकमा मासु पलाएमा, घाँटीको टन्सील ठूलो, जिब्रो ठूलो भएमा प्रायजसो मानिसमा घुर्ने समस्या हुन्छ।
लक्षण
सुतेको बेला धेरै घुर्ने हुँदा मानिसलाई सास फेर्नै गाह्रो पनि हुनसक्छ।
घुर्ने मानिसको बिहान उठ्ने बेलामा घाँटी सुख्खा हुन्छ। पानी तथा चिया खाएपछि मात्रै घाँटी खुल्ने गर्छ।
यस्ता व्यक्तिमा निन्द्रा नपुगेको जस्तो अनुभव गर्छन। टाउको भारी हुने तथा काममा जाँगर नदेखाउने जस्ता लक्षण देखिन्छन्। त्यसैगरी घुर्ने मानिसमा खाना खाएपछि निन्द्रा आइहाल्ने हुन्छ।
घुर्ने समस्याले पछि रोग पनि निम्ताउने गर्छ। उच्च रक्तचाप, सुगर, आँखा तथा शरीरका विभिन्न रोग घुर्ने समस्याले निम्त्याउन सक्छ।
किनभने सुतिरहेको बेला साँघुरो बाटोबाट कममात्रामा अक्सिजन जाने हुन्छ।
मानिस सुतेको बेला कम अक्सिजन पाएपछि विभिन्न रोग जन्मिन्छ।
यौन दुर्वलता आउने हुनसक्छ।
सडक दुर्घटनाको ४० प्रतिशत निन्द्रा नपुगेर वा घुर्ने समस्या ग्रसित मानिसमा भएको अध्ययनले देखाएको छ।
के घुर्नु नराम्रो हो?
सामाजिक रुपमा हेर्न हो भने अवश्य नै घुर्नु नराम्रो हो। यसले अरुलाई पनि डिस्टर्ब हुनसक्छ। निद्रा बिथोलिदिन सक्छ। स्वास्थ्यको हिसाबले हेर्ने हो भने पनि घुर्नुलाई राम्रो मानिदैँन। यसले स्वास्थ्यमा दूरगामी असर पार्नसक्छ।
कस्तो मानिस बढी घुर्छ?
घुर्ने समस्या यही उमेरका मानिसलाई हुन्छ भन्ने हुँदैन।
यसमा कुनै उमेरको छेकबार छैन। उत्तानो परेर सुत्ने मानिस पनि बढी घुर्ने हुन्छ। यसरी सुत्दा जिब्रो पछाडी जान्छ र सास जाने द्वारलाई सानो बनाउँछ। सबैभन्दा राम्रो
कोल्टे फर्किएर सुत्नुपर्छ। यो वंशाणुगत पनि हुन्छ।
जसका बाबुआमा घुर्छन्, अधिकांश छोराछोरी पनि घुरेको पाइएको छ।
घुर्ने समस्याको उपचार
यसको उपचार गराउनुभन्दा पहिला घुराइले शरीरमा कति असर गरेको छ भनेर पत्ता लगाउनुपर्छ। त्यसको लागि बिरामीको सुताइको अध्ययन गरिन्छ। यो अस्पतालमा रातभरि सुतेर पनि गर्न सकिन्छ भने घरमा मेसिन जडान गरेर गर्न सकिन्छ।
मुटुको चालमा गडबडी गरिरहेको छ कि छैन? जिउमा राति सुतेको बेला अक्सिजनको मात्रा कति छ? राम्रोसँग गहिरो निद्रा परेको छ कि छैन भन्नेलगायतका अध्ययन गरिन्छ।
सुताइको अध्ययन गरेपछि पनि समस्या छ भने त्यसको केही परीक्षण गरिन्छ।
इन्डोस्कोपी गरेर सुत्ने समस्याको अध्ययन गर्नुपर्छ। सुताइको अध्ययन गर्दा बिरामीमा कुनै समस्या देखियो र बिरामीले उपचार गर्न चाह्यो भने स्लिप इन्डोस्कोपी गरिन्छ।
अपरेशन कक्षमा लगेर बिरामीलाई घुराइन्छ। नाकबाट इन्डोस्कोपी पाइप छिराएर हेरिन्छ।
इन्डोस्कोपीले शरीरको कुन भागका कारण समस्या परेको छ भन्ने थाहा हुन्छ।
बिरामी धेरै मोटो छ भने उसको तौल घटाउने सुझाव दिन्छौं। घुर्ने समस्याको प्रमुख कारण मोटोपना हो।
बजारमा ‘स्लीप क्याप’ भन्ने मेसिन पाउँछ। मुखमा यो मेसिन लगाएर सुत्ने गरे कोठामा भएको अक्सिजनलाई भित्र पुर्याउँछ। यो हरेक दिन लगाएर सुत्न पर्ने भएकाले राम्रो हुँदाहुँदै पनि व्यवहारिक हुन सकेको छैन।
युवा वर्गले यो पद्धति नरूचाउने हुँदा अन्य तरिका अपनाउनुपर्ने हुन्छ।
मुखमा लगाउने डेन्टल अप्लाएन्स पनि छ, जसले तलको च्यापुलाई अगाडी धकेल्छ।
यसो गर्दा बिरामीको जिब्रो पछाडि गएर श्वास फेर्ने बाटो बन्द हुँदैन। यो सँगै बिरामीको अपरेशन पनि गर्न सकिन्छ।
घुर्ने बानी हटाउने तरिका यस्ता छन् :
– सधैं कोल्टे परेर सुत्नुपर्छ। उत्तानो परेर सुत्दा मानिस धेरै घुर्ने गर्छन्।
– तौल घटाउनुहोस्। विशेष गरेर घाँटीमा बोसो जम्मा भयो भने पनि स्वतन्त्र रुपमा हावा मानिसको फोक्सो बाहिर र भित्र वहाव हुन पाउँदैन र मानिस घुर्छ।
– चुरोट खाने बानी हटाउनुपर्छ। यसले श्वासप्रश्वास प्रणालीलाई असर गर्छ।
– घुर्ने समस्याले गर्दा पछि गएर निकै ठूला समस्याहरू निम्ताउनसक्छ। त्यसैले समयमा नै यसको रोकथाम गर्नु नै उचित हुन्छ।
(डा. न्यौपाने नाक, कान, घाँटी विशेषज्ञ हुन्।)
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७