जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफू प्रधानमन्त्री बन्नेबारे ‘प्लिजिङ सरप्राइज’ भनेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सञ्चारकर्मीमाझ ठाकुरले यस्तो प्रतिक्रिया दिएका थिए।
सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरूसँगको वार्तापछि सञ्चारकर्मीले ठाकुरलाई ‘तपाईंलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरिएको हो?’ भन्ने जिज्ञासा राखेका थिए। ठाकुरले ‘प्लिजिङ सरप्राइज’ भन्ने जवाफ फर्काए।
प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार गठनका लागि कसरत भइरहेका छन्। प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेका प्रधानमन्त्री ओलीको विकल्पमा नयाँ सरकार बनाउनुपर्ने दलहरूको ठम्याइ छ।
यसका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच छलफल पनि नभएको होइन। तर, उनीहरूबीच अझै सहमति जुटिसकेको छैन।
राजनीतिक दलहरू वर्तमान सरकारको विकल्प खोजिरहेकै बेला पछिल्लो समय अब सरकारको नेतृत्व जसपालाई दिनुपर्ने चर्चासमेत हुन थालेको छ। र, यो चर्चा जसपाभित्रै उठेको छ।
सरकार गठनका लागि सधैं अन्य दललाई सहयोग र समर्थन गरिरहेको जसपाले अब आफैं सरकारको नेतृत्वका लागि पहल गर्नुपर्ने बहस पार्टीभित्र सुरू भएको छ।
कांग्रेस, कम्युनिस्टजस्ता प्रमुख दलहरूले मुलुकलाई निकास दिन असफल भइसकेकोले अब एकपटक मधेश केन्द्रित दलले नेतृत्वको अवसर पाउनुपर्ने हुटहुटी जसपाभित्र बढेको छ।
मुलुकको हरेक आन्दोलनमा महत्पूर्ण भूमिका खेलेपनि मधेशले सरकारको नेतृत्व कहिल्यै गर्न नपाएको एकखाले गुनासो विद्यमान छ।
‘हामी सत्ताको केन्द्रमा छैनौं,’ केही दिनअघि ठाकुरले भनेका थिए, ‘हामी त कहीँ छैनौं, तीन दलीय गठबन्धनमा पनि हामी कहाँ पर्छौं र? हामी आन्दोलनमा जहिले पनि हुन्छौं। इतिहासमा त परिणाम देखिन्छ। तर, परिणाम हाम्रो पक्षमा हुँदै हुँदैन।’
जसपा अध्यक्ष ठाकुरको यो भनाइपनि कहीँ–कहीँ सत्ता नेतृत्वसँगै जोडिएको छ। हरेक आन्दोलनमा भागिदार हुँदा पनि सत्ताको परिणाम मधेशले कहिल्यै हात पार्न सकेको छैन।
सामाजिक अभियन्ता पनि ठाकुरको पक्षमा
प्रमुख राजनीतिक दलहरूबीच किचलो बढिरहँदा सामाजिक अभियन्ताहरू पनि जसपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिन थालेका छन्।
सरल, इमान्दार र स्वच्छ छविका ठाकुरलाई प्रधानमन्त्री बनाउँदा अहिले देखिएको राजनीतिक जटिलता अन्त्य हुने सामाजिक अभियन्ता सुन्दरमणी दिक्षितको भनाइ छ।
‘जनतालाई चाहिएको असल प्रधानमन्त्री हो जसले अहिलेको अवस्थालाई टालटुल गर्न सकोस्। अहिले ठूलो कार्यक्रम चलाउनु छैन,’ दिक्षित भन्छन्, ‘अब सबैतिरबाट हेर्ने हो, प्रधानमन्त्रीका लागि सबै भन्दा राम्रो महन्थ ठाकुर हो।’
अहिलेसम्म भ्रष्टाचारको दाग नलागेका सधंै प्रजातान्त्रिक विचारधारका साथ अगाडि बढेका ठाकुरलाई प्रधानमन्त्री बनाउन कांग्रेस र कम्युनिस्ट सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
‘महन्थ ठाकुर कांग्रेसबाट आएका हुन्। पूरा डेमोक्रेसीमा भिजेका मान्छे हुन्,’ उनी भन्छन्, ‘कांग्रेसमा स्पेस नपाएर उनी मधेशी दलमा गएका हुन्। उनमा भ्रष्टाचारको दाग छैन। उनी भारतका नरसिंहा राव जस्तै हुन्। सबैलाई मिलाएर लग्नसक्ने व्यक्ति।’
सबैलाई मिलाएर हिँड्ने स्वभावका ठाकुरलाई प्रधानमन्त्रीमा अघि सार्दा कसैले इन्कार गर्नसक्ने अवस्था नरहेको उनको बुझाइ छ। साथै संसदको झगडा शान्त हुनुका साथै मधेश–पहाडको खिचातानी पनि अन्त्य हुने दिक्षित बताउँछन्।’
राणा शासनदेखि दोस्रो जनआन्दोलनसम्म मधेशले हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको छ। हरेक आन्दोलनमा उसको अग्रणी भूमिका रहेपनि उसले नेतृत्वको अवसर कहिल्यै पाएन। र, मधेशसँग सधैं भेदभाव भइरहेको एकखाले गुनासो रहिरह्यो।
‘उनलाई प्रधानमन्त्री बनाउँदा संसदको झैझगडा एकदम शान्त हुन्छ। कसैले पनि उनलाई नाइँ भन्ने अवस्था छैन,’ दिक्षित भन्छन्, ‘दोस्रो, मधेश–पहाडको जुन यो झैझगडा खिचातानी छ, अविश्वास छ, त्यो धेरै हदसम्म साम्य हुन्छ। कांग्रेसले पनि यो कुरा मान्दिनुपर्छ र ओलीजीले पनि मान्दिने हो भने झन राम्रो हुन्छ।’
सम्भव छ त?
अभियन्ता दिक्षितजस्तै अधिकांश मधेशवासीले पनि सरकारको नेतृत्वमा आफ्नो प्रतिनिधि खोजिरहेको छ। विगतमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री बन्ने अवसर जुरेपनि त्यो सम्भव हुनसकेन।
अहिले नयाँ सरकारका लागि पहल भइरहेको बेला प्रमुख राजनीतिक दलइतरबाट प्रधानमन्त्री बनाउनुपर्ने चर्चा चलेको हो। तर, ठाकुरलाई प्रधानमन्त्री बनाउन अन्य दलभन्दा बढी जसपाभित्रै बढी समस्या देखिएको छ।
झन्डै एक वर्षअघि राजपा र समाजवादी पार्टी मिलेर बनेको जसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। दलको नेता बन्न जसपाभित्र किचलो देखिएको छ।
एकीकरण भएको एक वर्ष पुग्नै लाग्दा पहिलो पटक केही दिनअघि मात्र संयुक्त संसदीय दलको बैठक बस्यो। तर, त्यो बैठकले पनि दलको नेता चुन्नेबारे केही निर्णय गर्न सकेन।
सरकारको नेतृत्वका लागि अवसर पाउँदा पनि जसपाभित्रै किचलोको सम्भावना व्याप्त छ। किनभने, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले पनि दावेदारी पेश गर्ने सम्भावना उत्तिकै छ।
अभियन्ता दिक्षित पनि ठाकुरको नेतृत्वका लागि अरू दलभन्दा बढी समस्या जसपामै देख्छन्। भट्टराई यसअघि प्रधानमन्त्री भइसकेकाले उनलाई छोडिदिँदा पनि उपेन्द्र र वरिष्ठ नेता राजेन्द्र महतोले पनि दावेदारी गर्नसक्ने दिक्षितको बुझाइ छ।
‘समस्या जसपामै छ। किनभने, त्यहाँ सबै प्रधानमन्त्रीको दावेदार छन्। प्रधानमन्त्री हुनसक्ने क्षमताका व्यक्ति छन्,’ उनी भन्छन्, ‘उपेन्द्र यादव भनौं, राजेन्द्र महतो भनौं। बाबुराम पहिले भइसकेका छन्। उनको पालो सकिसकेको छ।’
आजको दिनमा मुलुकका लागि सबैलाई मान्य हुने ‘जेन्टल म्यान’ संयम स्वभावका, सबैलाई साथमा लिएर हिँड्नसक्ने व्यक्ति जसपा अध्यक्ष ठाकुर नै रहेको उनको भनाइ छ।
चौथो दलले नेतृत्व पाउला त?
प्रतिनिधिसभामा सबै भन्दा ठूलो दल नेकपा एमालेका १२१, नेपाली कांंग्रेसका ६४, माओवादी केन्द्रका ५३ र जसपाका ३४ सांसद छन्। जसपाका दुई सांसद अहिले निलम्बित अवस्थामा छन्।
फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि संसदमा जसपा चौथो दल बनेको हो।
संसदीय अभ्यासमा प्रायः ठूला दलले सरकारको नेतृत्वको अवसर पाउने गरेकोले संसदको चौथौं दलका लागि सम्भव नरहेको तर्क पनि हुने गरेको छ।
तर, छिमेकी भारतको बिहार राज्यलाई हेर्ने हो भने विधानसभामा तेस्रो स्थानमा रहेको नितिश कुमारको दल अहिले सरकारको नेतृत्व गरिरहेको छ। नितिशको दल जदयूलाई भारतीय जनता पार्टीले समर्थन दिएको छ।
सबै दलबीच सहमति बन्ने हो भने प्रतिनिधिसभामा सांसदको संख्याले बढी महत्व नराख्ने जसपा नेता मनिष सुमन बताउँछन्।
‘सांसदको संख्या भन्दा नियतले ठूलो महत्व राख्छ। नियत ठीक हुने हो भने चौथो दल भएपनि जसपाले सरकारको नेतृत्वका लागि अवसर पाउनसक्छ,’ सुमन भन्छन्, ‘सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दहरूले थोरै सिट ल्याएर पनि सरकारको नेतृत्व गरेकै हुन्।’
सरकार चलाउन आफूहरू सक्षम रहेको बताउँदै उनले वर्षौंदेखि सत्ताको नेतृृत्व गर्दै आइरहेकाइतर दललाई एकपटक अवसर दिन इमानदारी देखाउन जरुरी रहेको जिकिर गरे।
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७