चाँगुनारायण नगरपालिका ५ का वडाध्यक्षले एक स्थानीय व्यापारीलाई कुटपिट गरेका छन्। वडाध्यक्ष जयन्द्र खड्कासहित ३ जनाले सामान्य विवादमा स्थानीय ३२ वर्षीय लक्ष्मण खिचाजुलाई कुटपिट गरेका हुन्।
वडाध्यक्ष खड्कासहित पूर्व सैनिकसमेत रहेका विश्व खड्का र प्रकास लामिछानेले खिचाजुलाई मरणसन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन्।
वडाध्यक्ष खड्का र विश्व खड्काले खिचाजुलाई उनकै घर अगाडि पसलमा पार्किङ गरेको गाडी हटाउन भनेका थिए। तर, खिचाजुले गाडी नहटाएपछि उनीमाथि कुटपिट गरेको पीडितका दाजु राम खिचाजुले बताए।
घाइतेको भक्तपुर अस्पतालमा उपचार भईरहेको छ। उनको टाउको, मुखलगायत शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको छ। घाइते खिचाजु हार्डवेयर व्यवसायी हुन्।
केही साताअघि पनि वडाध्यक्षले स्थानीयलाई कुटेका थिए। प्रहरीमा मिलापत्र गरेका उनले पुनः स्थानीयलाई कुटेका हुन्।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७