दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव २०७७ आजदेखि भक्तपुरमा सुरु भएको छ। ममता केन्द्र नेपालको आयोजनामा भक्तपुरको महेश्वरी खेल मैदानमा मेला सुरु भएको हो।
यसअघि फागुपूर्णेलाई मध्यनजर गर्दै चैत्र १३ गतेदेखि २१ गतेसम्म महोत्सव हुन लागेको बताए पनि कोरोना कारण स्थगित बनेको थियो। मेला आजदेखि नौदिनसम्म चल्नेछ। मेलाको उद्घाटन २ बजे हुने भएको छ।
आयोजक केन्द्रका अध्यक्ष एवं महोत्सवका संयोजक संगम लामाले मेलामा दैनिक उपभोग्य सामानहरू एकै स्थानमा उपलब्ध गराउने बताए। स्थानीय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति पनि मेलामा हुने संयोजक लामाले जानकारी दिए।
मेलामा एकसय स्टलहरू रहनेछन्। साथै स्थानीय व्यापारीहरूको लागि १५ प्रतिशत छुटको व्यवस्था रहेको जनाइएको छ। स्टलहरूमा लत्ताकपडा, विभिन्न कम्पनीका स्टलहरू, खेलकुदका सामाग्री, दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराइने जनाइएको छ। साथै मनोरन्जनका विभिन्न खेलहरू पनि समावेश हुनेछन्।
महोत्सवको व्यवस्थापन चाँगुनारायण पार्टी प्यालेस र टेष्ट हाउस प्रालिले गरेको छ। मेलामा कराते प्रतियोगिता, भक्तपुर डान्स आइडल–२०७७ प्रतियेगिता तथा विभिन्न खेल बिधाहरु समावेश गरिएको लामाले जानकारी दिए।
काठमाडौं उपत्यकालगायत काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट करिब दुईलाख मानिसले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ।
कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकार दुर्गेश थापा, शिव परियार, प्रीति आले, कमल खत्री, अर्जुन कौशल, विशाल थिङ, सन्ध्या बुढा (काउली बुढी), रमेश भट्टराई, ज्योती मगर, रोज मोक्तान, कुमार सागर, मनिषा श्रेष्ठ, सुजल मधिकर्मीलगायतकाको प्रस्तुती रहने छ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७