फागुन २३ को सर्वोच्चको आदेशपछि एमाले पूर्ववत अवस्थामा त फर्कियो। तर एमालेभित्र झाँगिएको विवादले नेतृत्वलाई पूर्ववतःअवस्थामा फर्काएन।
नेकपा हुँदाको लडाइँ एमालेमा पनि सुरु भयो।
एमालेमा पनि दुई समूह बन्यो, जुन समूह अहिले एकअर्कालाई सिद्याउने रणनीतिमा लागिपरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली आफ्नो समूहलाई संस्थापन र असली एमाले भनिरहेका छन् र माधव नेपालहरुलाई गुटको संज्ञा दिइरहेका छन्।
यता नेपाल समूहले पनि ओलीसमूहलाई गुटकै संज्ञा दिएको छ। अर्थात् अहिले एमालेका दुवै समूहले एक अर्काले गरेका गतिविधिलाई गुट र समानान्तर गतिविधि साबित गरिरहेका छन्।
किनकि पछिल्लो समय हुने हरेक सार्वजनिक होस् वा पार्टीको आन्तरिक कार्यक्रम, ओलीले नेपाल समूहले गरेका गतिविधिलाई गुटको संज्ञा दिँदै आएका छन् । कार्यकर्ता भेला होस् वा भातृ संगठनको भेला, जिल्लागत बैठक हुन् वा कुनै कार्यक्रम। ओलीले ती सबैलाई गुट भेला भन्ने गरेका छन्। यतिमात्र होइन,एमालेको नवौं महाधिवेशनबाट निर्वाचित बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको बताउने ओलीले पदाधिकारीमा बहुमत रहेको नेपालसमूह अल्पमतमा रहेको र आफूले गरेका निर्णय मान्न बाध्य हुने बताउँदै आएका छन्।
तर नेपाल समूह ओलीको दाबीमान्न तयार छैन। आफूहरुलाई गुट भन्ने ओलीसमूहलाई उसले लिखित रुपमा नै गुटको संज्ञा दिएको छ भने ओली समूहले गरेका हरेक गतिविधिलाई समानान्तर भन्दै आएको छ । शुक्रबार काठमाडौंको एक पार्टी प्यालेसमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै योगेश भट्टराईले भने, ‘हाम्रा कुनै पनि गतिविधि समानान्तर होइनन्, २०७५ जेठ २ अघिका कमिटीका मिटिङहरु, बैठकहरु पुनर्गठन गर्दैछा्रैँ, केपी ओलीपक्षले जे गरिरहनु भएको छ त्यो समानान्तर हो ।’
भट्टराई मात्र होइन, ओलीले सोधेको स्पस्टीकरणको जवाफमा उपमहासचिव घनश्याम भुसालले लेखेका थिए, ‘२८ फागुनको भेला अवैधानिक रुपमा पार्टी कब्जा गर्ने उद्देश्यले एउटा गुटले गरेका भेला हो। समानान्तर गतिविधि हो ।’
०००
सर्वोच्चको आदेशलाई सम्मान गर्दै पार्टीभित्रै संघर्ष गर्ने रणनीति बनाएर पेरिसडाँडाबाट बाहिरिएको खनाल—नेपाल समूहप्रति ओलीमा कुनै सहानुभूति थिएन। त्यसैले उनले २०७५ जेठ २ मा फर्र्किएको एमालेलाई नवौं महाधिवेशनले गरेका निर्णय बमोजिम चलाउन चाहेनन्। नेकपा हुँदा आफूविरुद्ध चालिएका कदमको बदला लिन उनी उद्दत देखिए, र त्यसको सुरुवात फागुन २८ बाट नै गरे।
फलतःएमाले कानूनी रुपमा एउटै पार्टी भए पनि राजनीतिक रुपमा विभाजित भयो। जुन कुरा हालै निलम्बनमा परेका एमाले उपमहासचिव घनश्याम भूसालले आफ्नो स्पस्टीकरणमा प्रस्ट लेखेका छन् ।
उनले लेखेका छन्–‘अहिले नेकपा (एमाले) मा जे जति समस्या आएका छन् तिनीहरुलाई कुनै व्यक्ति वा गुटका इच्छा वा स्वार्थका आधारमा होइन पार्टीको विधानका आधारमा मात्रै समाधान गर्न सकिन्छ । यसरी हेर्दा सर्वोच्च अदालतले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अस्तित्वलाई इन्कार गरेर हामी नेकपा(एमाले) का रुपमा पुनर्जिवित भएपछि एकीकरण पूर्वको बिन्दुमा उभिएर विधानअनुसार पार्टी जीवन सुचारु गर्नु पर्छ भन्ने कुरा स्वतः स्पष्ट भएको कुरा हो,’ भुसालले अगाडि लेखेका छन्,‘त्यसका विपरीत, सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा (एमाले) को विधिवत् बैठक बोलाउनुको साटो तपाईंले केन्द्रीय कमिटीका अन्य सदस्यहरुलाई कुनै जानकारी नदिई गोप्यरुपमा गत फागनु २८ गते प्रधानमन्त्रीको सरकारी निवासमाआफ्ना गुटका मानिसहरुको भेलाबोलाएर त्यसैलाई कथित केन्द्रीय कमिटीको बैठक भनेर पार्टीको विधान र प्रक्रियाविपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा (एमाले) को सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्नेजस्ता निर्णय गरिएको वक्तव्य सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लङ्घन गर्नु भएको छ । त्यहीँँबाट पार्टीमा विभाजनको रेखा कोरिएको छ ।’
अर्थात नेपाल—खनालपक्षका लागि २८ गते नै विभाजनको सुरुवात बन्यो ।
हिजो नेकपा हुँदा अल्पमतमा रहेको भनिएका अध्यक्ष केपी ओलीले भटाभट एकलौटी निर्णय गर्न थाले। ओली कार्यशैलीविरुद्ध खुलेर लागेको नेपाल-खनाल पक्षका लागिओलीले ‘वार कि पार’ को ‘ग्रे लाइन’ नै बनाइदिए ।
अर्थात, ‘यदि एमालेमा बस्न चाहन्छौ, मैले जे भन्छु त्यो मान । यदि मान्दैनौ, जहाँ जान मन लाग्छ जाउ ।’
०००
त्यसो त नेपाल—खनाल पक्षका लागि ओलीले २८ गते गरेका निर्णय अनपेक्षित थिएनन्। र, नेकपा हुँदा ओलीविरुद्ध लागेका उनीहरुलाई ओलीले सहझ अवतरणको मौका दिन्छन् भन्ने पनि उनीहरुलाई लागेको थिएन। त्यसैले त उनीहरुले पेरिसडाँडाबाट फर्किएलगत्तै पनिआफ्नो समूहको बैठक डाकेर ओलीविरुद्ध कसरी लड्ने भन्ने रणनीति बनाउन लागि परेका थिए । तर अवैधानिक ढंगले विधान नै संशोधन गरेर आफ्ना समूहको जिम्मेवारी खोस्ने र आफूखुशी सदस्य मनोनित गर्ने काम जब ओलीले गरे, यो समूह झस्कियो। र, ओलीलाई काउन्टर दिन समानान्तर कमिटी निर्माण थाल्यो। लगत्तै राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना ग¥यो। जुन भेलाले ओली समूहमा ठूलो कम्पन पनि ल्यायो । किनकि तल्लो तहमा नेपाल—खनाल समूहसँग ठूलो पंक्तिको साथ रहेको बुझेका ओलीका लागि त्यो भेला प्रत्युत्पादक हुने खतरा थियो।
त्यसैले ओलीले नेपाल समूहको उक्त भेलालाई गुट भेलाको संज्ञा दिए र त्यहाँ जानेहरु कारबााहीमा पर्नसक्ने चेतावनी नै दिए । तर नेपाल समूह भेलामा मात्र रोकिएन, उनले विभिन्न भातृ संगठनका भेलासमेत आयोजना गर्यो भने, समानान्तर कमिटी निर्माणलाई तीब्रता दियो। जसको काउन्टरमा यो समूहका ४ नेताले कारबाही नै भोग्नुपर्यो। नेपालसहितभीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे ६ महिना निलम्बनमा परे ।
समानान्तर होइन भने पनि यो समूहले समानान्तर गतिविधि रोकेको छैन। बरु बढाउँदै गएको छ। यसलाई देशव्यापी बनाउने रणनीति बनाउँदै छिट्टै त्यसको ढाँचासमेत तयार गर्दैछ। जसको सुरुवात चैत १८ गते आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गरेर गरिसकेका छन् ।
त्यतिमात्र होइन, चैत १९ गते कास्कीमा समानान्तर जिल्ला कमिटी गठन गरिएको छ भने चाँडै केन्द्रमा पनि समानान्तर कमिटीको घोषणा गर्ने नेपाल आफैंले बताएका छन्।
र शुक्रबारको स्थायी कमिटी बैठकपछि पनि सञ्चाकर्मीसँग भट्टराईले यही कुरा दोहो¥याए। उनले भने, ‘चैत ४ र ५ को राष्ट्रिय भेलामा प्र्रस्तुत अवधारणपत्रमा दशवटा टोलीबाट आएका सुझावका आधारमा बनाइएको प्रतिवदेनलाई भोलि अन्तिम रुप दिनेछौं र प्रकाशित गरेर पार्टीव्यापी बनाउनेछौं। देशव्यापी रुपमा नेकपा एमालेको संगठन विस्तार र सुदृढीकरण गर्ने जुन अभियान चलाउने भनेको छ, त्यसलाई अगाडि बढाउने र त्यसको निम्ति राष्ट्रव्यापी कार्यक्रमको एउटा ढाँचा बनाउने भनेर हामीले भनेका छौं। आज त्यसको केही प्रस्तावहरु प्रस्तुतभएका छन्। भोलि बस्ने बैठकबाट राष्ट्रव्यापी कार्यक्रम कसरी अगाडि बढाउने त्यसको ढाँचा तय गर्छौँ ।’
अर्थात, ओलीसँग नझुक्ने बरु समानान्तर गतिविधि अगाडि बढाउँदै लगेर नयाँ पार्टीको तयारी गर्ने यो समूहको योजना छ। ‘केहीदिनभित्रै नयाँ पार्टी दर्ता हुन्छ । कार्यालय त खोजिरहेका छौं, भेटिन्छ । समानान्तर गतिविधि गर्दै नयाँ पार्टीको आधारशिला तयार पार्ने हाम्रो योजनाहो,’ आयोमेलसँगको कुराकानीमा नेपालसमूहका एक केन्द्रीय सदस्यले भने।
त्यसो त फागुन २९ गते एवान होटलमा बसेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा पनि नेपालले ओलीसँग मिलेर जाने अवस्था नरहेको भन्दै छुट्टिुनको विकल्प नरहेको बताएका थिए। ‘अहिलेलाई संघर्ष गर्नुको विकल्प छैन । तर यही परिस्थितिमा ओलीसँगै जाने अवस्था छैन। एमाले बनाउन गरेका दुःख ताजै छन्। फेरि एकपटक नयाँ ऊर्जाका साथ लागि पर्छु, देशव्यापी अभियान चलाउँछु,’ नेपालको भनाई उद्धृत गर्दै एक नेताले भनेका थिए ।
अर्थात एमालेमा नेपाल समूहको अहिलेको मनोदशा, ‘नखाउँ दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार’ भन्ने उखानझैंं भएको छ भन्दा फरक नपर्ला । किनकि उनीहरु सँगै छन् तर एक छैनन्। र, छुट्टिन पनि सकेका छैनन्।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७