नबिल बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघबीच यससम्बद्ध व्यवसायीलाई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर बैंकिरू सेवा प्रदान गर्ने सम्झौता भएको छ।
नबिलका एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत र तयारी पोसाक उत्पादन संघका अध्यक्ष किशोर नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा नबिलका लघुवित्त विभाग प्रमुख मनोजकुमार यादव, संघका उपाध्यक्ष सुमित प्रधानलगायत उपस्थित थिए।
‘राष्ट्र विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तीय पहुँचका माध्यमबाट मात्र सम्भव छ भन्नेमा नबिल बैंक विश्वास राख्दछ,’ नबिलका एसएमई तथा लघुवित्त प्रमुख बस्नेतले भने, ‘यस रणनीतिक साझेदारीसँगै नबिलले देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यसाथ स्थानीय तयारी पोसाक उत्पादकलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जालगायत विभिन्न प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउने छ।’
स्थानीय तयारी पोशाक उत्पादन संघका अध्यक्ष नेपालले ‘नेपाली उत्पादन प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने लक्ष्यसाथ संघ स्थापना भएको बताए।
‘आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोसाक एउटा ठूलो सम्भावना र आसाको किरण तथा समृद्धिको बाटो हुने विश्वास छ,’ उनले भने।
नबिलले हाल १ सय १९ शाखा, १ सय ८५ एटिएम र १ हजार ५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देश्मा रहेका एजेन्टको वृहत सञ्जालमार्फत सेवा दिँदै आएको छ।
२०७४ सालमा स्थापित नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघ स्थानीय तयारी पोसाक उत्पादकहरूको गैरसरकारी संस्था हो। जुन समग्र स्थानीय तयारी पोसाक उत्पादन व्यवसायीको सुरक्षाका साथ मूल्य एकरूपता लागू गर्न स्थापना भएको हो।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७