नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा क्युआर भुक्तानी सेवा सुरु गरेको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन क“डेलले मंगलबार तरकारी खरिद गरी क्युआर कोडमार्फत भुक्तानी गरी नबिलको क्युआर भुक्तानी सेवा सुरु गरे।
अब उक्त तरकारी तथा फलफूल केन्द्र जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत तरकारी वा फलफूल खरिदको रकम सजिलै भुक्तानी गर्न सक्नेछन्।
क्युआर कोड भुक्तानी सेवा उद्घाटनमा राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेल, नबिलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाह, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बाराही तरकारी केन्द्रका कार्यकारी सदस्यहरू एवं व्यवसायीको उपस्थिति थियो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले तरकारी तथा फलफूल पसल अवलोकन गरेपछि एउटा तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङ क्युआर कोडमार्फत भुक्तानी गरेका थिए।
‘पछिल्लोपटक भुक्तानीका लागि क्युआर कोड प्रयोग उल्लेखनीयरूपमा बढेको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले भने, ‘यसका लागि नबिल बैंक जस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि बढाउनका लागि डिजिटल भुक्तानी सक्षम गर्न सक्रिय भूमिका खेलिरहेका छन्।’
नबिलका सिइओ शाहले पछिल्ला केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालिएको र परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानीतर्फ परिवर्तन भइरहेको बताए।
‘नबिल क्युआर कोड एक सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी माध्यम हो जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानका रूपमा लिन सकिन्छ,’ शाहले भने, ‘क्युआरमार्फत डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यसाथ, नबिलले देशभर क्युआर भुक्तानी सेवाको पहुँच विस्तार गर्ने मिसन सुरु गरेको छ।’
नबिलका अनुसार नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्युआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ। छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लोपटक उपभोक्ता यसतर्फ आकर्षित भइरहेका छन्।
डिजिटल र क्यासलेस कारोबारलाई बढावा दिन नबिलले सन् २०२० मार्चदेखि क्युआर कोड भुक्तानी सेवा सुरु गरेको थियो। अहिले नबिलका देशभरि ३ हजारभन्दा बढी क्युआर सेवा दिने व्यावसायिक प्रतिष्ठान छन्।
नबिलले कोभिड महामारीकै बीच ‘नबिल डिजी बैंक’ स्थापना गरेर उपभोक्ताका हरेक काम डिजिटलमार्फत सेवा दिइरहेको जनाएको छ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७