प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा विवादास्पद रहेको सूचना प्रविधि सम्बन्धी विधेयकलगायत अन्य केहीको वार्षिक प्रतिवेदन पेश गरिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा मधेशी आयोगको आर्थिक वर्ष २०७६/७७ र थारु आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूची छ।
यो विधेयकमा नेपाली कांग्रेसलगायत केही दलले विरोध जनाउँदै आएका छन्। विधेयकमार्फत अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ।
आजैको बैठकमा पूर्व राष्ट्रियसभा सदस्य ऐश्वर्यराज प्रधानाङ्गको निधनमा शोक प्रस्तावसमेत प्रस्तुत हुने भएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७