निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गर्ने निर्णय सुनाउँदै त्यसलाई आन्दोलनको रूपमा परिभाषित गरेका छन्। यो हास्यापद छ। वास्तवमा उनीहरूले बहुतै काँचो पाराले अनलाइन कक्षा सुरु गरी अभिभावकमाथि एकलौटी दबाब थोपरेका थिए। बालबालिकाहरू अत्यासमा परेका थिए।
कोभिड–१९ ले संसारको थिति नै उल्ट्याइरहेका बेला नेपालमा निजी विद्यालयहरूले उपयुक्त तयारी, छलफल र सरकारको सहभागिताबिना देखावटी पाराले अनलाइन कक्षा सुरु गर्नु एवं अहिले फेरि हठात् बन्द गर्नु नितान्त कारोबारी मानसिकताको परिणाम हो।
दीर्घकालीन लगानी र सामाजिक उत्तरदायित्वको न्यूनतम मापदण्ड पूरा नगर्ने निजी विद्यालयहरूले आमविपत्तिको समयमा समेत संयम अपनाउन नसक्नु अपेक्षित नै थियो। निजी विद्यालयहरूको यो रबैयाबाट कोही चिन्तित भइरहनुपर्दैन।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७