एक सय २० दिनपछि लकडाउन खुल्यो। लगत्तै कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै निकै ठूलो समस्या भनेको बाढी-पहिरो हो।
हरेक वर्ष हिमाली र पहाडी भेगमा पहिरो तथा तराई भेगमा बाढीले हजारौं मानिसले ज्यान गुमाउनुपरेको छ। साथै कयौं मानिसहरू घरबारविहीन हुन पुगेको छ। बाढी-पहिरो भन्नाले प्राकृतिक प्रकोपको रूपमा लिइन्छ।
तर यो के प्राकृतिक प्रकोपको कारण मात्र हो? पक्कै पनि होइन। यसमा हामी मानिसको पनि ठूलो गल्ती छ। हामी विकासको नाममा विनास त गर्दे छैनौं?
हो, बाटो सडक नै विकासको मूल आधार हो। तर जथाभावी बाटो खन्दा र राम्रोसँग माटोको अध्ययन नगरी वा गरे पनि बर्खाको समयमा बाटो बढाउने र खन्ने कामले यो पहिरो आउनुको एक कारण हो।
अहिले ठ्याक्क यस्तै भएको छ सूर्यविनायक नगरपालिका क्षेत्रमा। लगातारको वर्षाका कारण सूर्यविनायक–३ स्थित दधिकोट र बालकोटको सिमानामा रहेको काठमाडौंं स्कुल अफ ल माथि पहिरो गएको छ।
पहिरो सानो गए पनि अझै माटो खस्ने खतरा छ। असार महिना लागेलगत्तै यहाँ बाटो बढाउने र बनाउने काम सुचारु भएको थियो। हरेक वर्ष बर्खाको समयमा यहाँ माटो खस्ने हुँदा स्थानीय मिलेर बाटो मिलाउने गर्थे।
त्यसैले पनि यहाँ बाटो निकै साँघुरो थियो। वर्षाको समयमा बाटो निर्माणका लागि डोजरले खनेका कारण माटो झन् कमजोर भएर पहिरो गएको भन्ने स्थानीयको भनाइ छ।
अचम्मको कुरो के भन्दा चाहिँ पहिला नै वर्षाको समयमा माटो खस्ने स्थानमा डोजर लगाएपछि पहिरो जान सक्छ भन्ने थाहा नपाउनु हो कि थाहा नपाए जस्तो गरेको हो? बाटो सबैलाई चाहिएको छ, चौडा बाटो हुनु राम्रो हो।
तर २ फिट पनि नभएको बाटो अब चौडा बनाउने निर्णयसँगै काम अघि बढेको छ। यहाँ काम गर्ने कामदारलाई पनि निकै कठिन भएको देखिन्छ।
यहाँ सोध्न मन लागेको प्रश्न के हो भने काम गर्ने मानिसदेखि हिँड्ने व्यक्तिलाई अप्ठ्यारो हुने गरी बर्खाकै समयमा निर्माण कार्य किन गरिन्छ? साथै पहिरो जाने अझै खतरा हुँदा काम अलमलमा परेको छ।
पहिरो गएकै कारण एकजनाको खेतमा नोक्सान पुग्नुका साथै निकै माटो खसेर थुप्रिएको छ।
त्यसैले सानै पहिरो भए पनि पहिरो गएको स्थानमा सम्बन्धित निकायको ध्यानाकर्षण जाओस् र वडा कार्यालयले पनि जसको बाली नोक्सानी भएको छ, उसलाई उचित क्षतिपूर्ति व्यवस्था होस् भन्ने आग्रह गर्दछु।
(श्रेष्ठ सूर्यविनायक ३, भक्तपुरका बासिन्दा हुन्।)
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७