प्रा. डा. शिवलाल भुसालज्यू,
शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालय।
नमस्कार,
यहाँले भदौ ७ गते सबै विद्यार्थीलाई आफू अध्ययनरत विभाग वा क्याम्पसको सम्पर्कमा आउन अत्यन्त जरुरी सूचना जारी गर्नुभयो। रोकिएको पठनपाठन र परीक्षा व्यवस्थापन गर्न विद्यार्थीहरू सम्पर्कमा बस्न भन्नुभयो। हिँडेरै आएर विभाग वा क्याम्पसमा फोन सम्पर्क त राख्न सकियो तर हाम्रो वास्तविक व्यथा बुझाउन कठिन भएर खुलापत्रको सहारा लिएकी छु। आसा छ यहाँले हामीजस्ता विकट जिल्लामा रहेका विद्यार्थीका समस्या बुझ्न केही मिनेट समय दिनुहुने छ।
म व्यवस्थापन संकाय प्रथम सेमेस्टर अध्ययनरत विद्यार्थी हुँ। हाम्रो औपचारिक कक्षा सुरु भएको दास्रो हप्तामै कोरोना प्रकोपका कारण त्रिविले सञ्चालनमा रहेको परीक्षा पनि स्थगन ग¥यो। यसरी २०७६ चैत्र ६ बाट स्थगन भएको कक्षा कहिले सुरु हुने केही अत्तोपत्तो छैन। बन्दाबन्दी हुनसक्ने सम्भाव्यता दृष्टिगत गरी घर अछाम मंगलसेन फर्किएँ। केही समय बन्दाबन्दी होला, केही महिना कक्षा स्थगन होला भन्ने अनुमान थियो। सुरुमा विदेशबाट कोरोना संक्रमण फैलिइरहेकाले अन्तर्राष्ट्रिय सम्पर्क बढी काठमाडौ मै भएकाले कोरोनाको जोखिम यतै हुने भयो। कोरोनाले महामारीको रूप लियो भने डेरामा एक्लै सामना गर्न आर्थिक र सामाजिक रूपमा सम्भव नदेखिएकाले किनिसकेका पाठ्यपुस्तक पनि डेरामै छोडी चैत ९ मा घर आइयो। घर आइपुगेपछि अब त्रिवि केन्द्रीय व्यवस्थापन विभागमा कसरी कहिले पुग्ने हो? थाहा छैन। यस्तो अवस्थामा म जस्ता हजारौं विद्यार्थी रहेको जानकारी शिक्षाध्यक्षलाई भएको हुनुपर्छ।
२०७७ वैशाख मध्यतिर समाचारबाट सुनियो, त्रिविले वैकल्पिक माध्यमबाट सेमेस्टरका कक्षाहरू सञ्चालनको तयारी गरेको। समाचारसँगै क्याम्पसको आधिकारिक सूचनाको पर्खाइमा रह्यौं। फोनको प्रतिक्षामा केही हप्ता बिते, कलेजको फोन आएन वा सम्पर्क भएन।
विकट गाउँमा प्रकृतिले थोपरेको भौगोलिक विकटताका कारण जन्मिएका दुःख कष्टसँगै हुर्किबढ्यौं। महिला भएर जन्मिँदाको पीडा बेग्लै थियो। जसोतसो स्नातक तह सम्पन्न गरियो। बादलमा पनि चाँंदीको घेरा हुन्छ भन्ने सुनेको थिएँ। यही चाँदीको घेरा खोज्ने क्रममा काठमाडौं आएको थिएँ। उच्च शिक्षाअन्तर्गत स्नातकोत्तर तह काठमाडौंमा अध्ययन गरी अवसरका नयान् ढोका उघार्न चाहेको थिएन्। तर, गरिक दुःखीको यो चाहनामा कहिले नसुनिएको कोरोना भाइरसले पनि जिस्क्याउन आएजस्तो भयो।
घाँसपात, मेलापात र वनमै हुर्किबढेका हामी चेलीका लागि ल्यापटप, महँगा मोबाइल फोन, ब्रोडब्यान्ड इन्टरनेट सपनाको संसार थियो। यसैमा अर्को पनि थपियो, अनलाइन कक्षा। वैकल्पिक शिक्षण विधिका नाममा क्याम्पस र विश्वविद्यालयले अनलाइन कक्षाबाहेक अरू देख्न सकेजस्तो लागेन। यतातर्फ शिक्षाध्यक्षज्यूको ध्यान आकृष्ट गर्न चाहेँ।
यस्तैमा साथीहरूबाट गाइँगुइँ सुनेँ, विभागले अनलाइन कक्षा सुचारु गर्ने भयो। फारम भर्न सूचित गरेको खबर कीर्तिपुरबाट मंगलसेन आइपुग्न एक हप्ता लाग्योे। अनलाइन कक्षाको अनुभव सँगाल्न घरबाट अढाइ घन्टा हिँडेर इन्टरनेट राम्रो चल्ने बजारमा पुगेर विभागले पठाएको रजिस्ट्रेसन फारम भरियो । फारम त भरियो तर घरमा नेपाल टेलिकमको नेट जसोतसो चल्छ। यस्तोमा कक्षा कस्तो होला? शंका हुने नै भयो । इन्टरनेटसमेत राम्रो नचल्ने हाम्रो गाउँ अहिले मंगलसेन नगरपालिका भएको छ। ठिकै छ नाममा त नगरपालिका आयो। शिक्षाध्यक्षज्यू, नगरपालिका भन्दैमा सबै कहाँ भक्तपुर र कीर्तिपुर नगरपालिका जस्तो सुगम र सम्पन्न हुन्छ?
सुरुमा विभागले जुममार्फत कक्षा सञ्चालन ग¥यो। जुम प्रयोगकर्तामैत्री र कम ब्यान्डविथ भएर हो कि कक्षामा बस्दा ठिकै लागेको थियो। तर, विभागले अनलाइन कक्षालाई व्यवस्थित गर्न त्रिविको निर्णयानुसार माइक्रोसफ्ट टिम्सको अभिमुखिकरण र प्रशिक्षण दिने काम भयो। जब टिम्समा नियमित कक्षा सुरु हुन थाल्यो तब अनलाइन कक्षामा बस्ने र सिक्ने उत्कट अभिलाषामा तुषारापात पर्न थाल्यो। घर छोडेर कक्षा लिन त गइयो, टिम्स ब्राउज हुन १०÷१५ मिनेट समय लाग्ने, ब्यान्डविथ धेरै चाहिने, आफूसँग भएको मोबाइलले नधानेको हो कि नेटले नै तान्न नसकेको, बुझ्न सकिनँ। सरको आवाज मुश्किलले सुनिने, भिडियो हेर्न कहिले पाइएन÷सकिएन। सुनिएको आवाज पनि बीचबीचमा काटिँदै आउने।
यस्तोमा न हामीले सरले पढाएको नै बुझ्न सक्यौं, न त हाम्रो आवाज नै सरले सुन्न सके। यस्तोमा सरले खोजेको अन्तक्र्रियात्मक र सहभागितामूलक कक्षा कसरी सम्भव हुँदो हो? एकोहोरो बोलेको सुनौं भन्दा पनि हावाहुरी र इन्टरनेटको असुविधाका कारण सफल नभइदिने। कतिपय अवस्थामा आज के पढाउँदैछ भन्ने हेक्का पनि कक्षामा बस्दा पाउन नसकिने भइयो। प्राविधिक अलमलमै किनेको डाटा प्याक सक्ने। डाटाले खल्ती रित्तिँदै जाने तर पढाइ फिटिक्क प्रभावकारी नहुने भइदिँदा कक्षामा बस्ने जागरुकता र उपादेयता दुवै मर्दै गयो। सधैंजसो घर छोडेर कक्षा लिन जान सम्भव हुन पनि छोड्यो। एक–दुइटा विशेष कक्षा पो जसरी पनि सहभागी हुन सकिन्थ्यो। यसरी गतिलो मोबाइल र आवश्यक इन्टरनेट सुविधाको अभावमा मजस्ता थुप्रै साथी अध्ययनबाट वञ्चित हुँदै गए। देशको असन्तुलित विकास र सहरकेन्द्रित नीति निर्माणको दुष्परिणाम हामीले नचाहेर पनि भोग्न विवश रह्यौं। के यस्तो अवस्थाको जानकारी हजुरलाई हजुरका प्राध्यापक, विभागीय प्रमुख, डिन सरहरूले दिएनन् होला?
त्रिविले कुनै सफ्टवेयरमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरिरहँदा के देशभरि छरिरहेका विद्यार्थीका क्षेत्रसम्म उपलब्ध इन्टरनेटको गतिले थेग्छ वा थेग्दैन, अध्ययन भएको हुनुपर्ने हो। नत्र, फोरजी नेटवर्कमा पनि बफर हुन गाह्रोे टिम्स त्रिविले किन रोज्यो? नेपालमा फिक्स ब्रोडब्यान्ड इन्टरनेट पहुँच कति ग्रामीण क्षेत्रमा पुगेको छ? तपाईंको सूचना प्रविधि केन्द्रलाई पक्कै थाहा होला, कि त्यो पनि त्रिवि परिसरको जग्गा हराएजस्तै गुमनाम भयो, शिक्षाध्यक्षज्यू!
धेरै विद्यार्थी अनलाइन कक्षामा सहभागी हुन नसकिरहेको अवस्थामा जबरजस्ती कोर्स सकाएर परीक्षामा लाने वा अर्को सेमेस्टरमा पदोन्नति गर्दा हामी विकट जिल्लामा रहने विद्यार्थी सिकाइका अवसरबाट वञ्चित हुने नै भइयो। सहरकेन्द्रित त्रिविको सोचले देशभरि छरिएका विद्यार्थीको अवस्था बुझ्न नखोजे जस्तो अनुभूति भयो।
महामारी यसैगरी फैलिँदै जाने हो भने सेमेस्टरमा आन्तरिक मूल्यांकनका आधारमा पदोन्नति गर्न सक्ने सम्भावना समाचारमा आइरहेका छन्। देशको भौतिक र प्राविधिक पूर्वाधार नपुगेका कारण अनलाइन कक्षामा बस्न असमर्थ भएका हामीजस्ता हजारौं विद्यार्थीको अब आन्तरिक मूल्यांकन कसरी सम्भव छ र? आन्तरिक मूल्यांकन नै नहुने अवस्थामा सेमेस्टरको अन्तिम परीक्षामा सहभागी हुन नमिल्ने परिस्थिति निर्माण हुने देखिन्छ। यतातर्फ तपाईंहरूले कसरी सोच्नुभएको छ? तसर्थ, त्रिविले विद्यार्थीहरूसँग सम्बन्धित पठनपाठन वा परीक्षाका विषयमा निर्णय लिइँदा हामीजस्तै विकट भूगोलमा रहेका विद्यार्थी काठमाडौंको केन्द्रसम्म आइपुग्न लाग्ने समय सीमा र सम्भाव्यतालाई मध्यनजर गरी निर्णय लिइयोस्। चाहेर पनि अनलाइन कक्षामा बस्न नसकी निराशामा अल्मलिएका हामी विद्यार्थीको समस्यामा थप कष्ट थप्ने काम कहीँ कतैबाट नहोस्। आफूले खाइनखाई, उज्ज्वल भविष्यको आसामा छोराछोरीलाई विश्वविद्यालय शिक्षाको पहुँचमा पुर्याइदिने असंख्य बाआमाको आसाको हत्या नहोस्।
परीक्षा थाँती राखेर नयाँ सेमेस्टरको पठनपाठन सुरु गर्न हामीसँग कुनै पाठ्यपुस्तक, सन्दर्भ सामग्री उपलब्ध छैन। कसरी पठनपाठन अघि बढाउने? तसर्थ, वैकल्पिक शिक्षण विधिका दुरशिक्षाका कार्यक्रमअन्तर्गत रेडियो वा टेलिभिजनबाट समेत पठनपाठन हुने प्रबन्ध भयो भने केही राहत मिल्ने देख्छु। अप्रभावकारी देखिएको टिम्सका कक्षाहरूको विकल्प तत्काल खोजियोस्। साथै, अनलाइन कक्षा पढाउने प्राध्यापकहरूले पनि प्रविधिमैत्री भई दुरशिक्षाको सिकाइ विधि अवलम्बन गर्ने हुनुप¥यो। तसर्थ, यथास्थितिमा अनलाइन पठनपाठन, शिक्षण सिकाई प्रक्रिया र परीक्षाका विषयमा विकट क्षेत्रका विद्यार्थी सहभागी हुन सक्ने वातावरण देखिँदैन। यस कटु यथार्थमा ध्यान दिई निर्णयमाथि पुनः विचार र नयाँ निर्णय लिइदिनेमा हामी आसावादी छौं।
हजुरकै विद्यार्थी
लोकसरा केसी
त्रिवि, व्यवस्थापन केन्द्रीय विभाग
हाल मंगलसेन नगरपालिका–४, अछाम
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७