निषेधाज्ञाको तीन सातामा (२३ दिनमा) कोरोना संक्रमण दर घटेन उल्टै बढ्यो। किन बढ्यो सरकारलाई थाह छ, तर यो सरकार उत्तर दिन चाहँदैन किनकि यो सरकारकै लापरबाहीले बढेको हो।
नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलदै गर्दा सरकार सत्ता जोगाउने ध्यानमा थियो, पार्टीभित्रको आपसी झगडा र खिचातानीमा व्यस्त थियो।
अस्पतालमा बिरामी राख्ने ठाउँ थिएन, भएका अस्पतालमा पनि पूर्वाधार थिएन। जब सबै अस्पताल भरिभराउ भए, शैया पाउन छाड्यो तब नागरिक घरमै बस्न बाध्य हुनपर्यो।
कोरोना संक्रमण फैलिएर नेपालभर नै कहरको रुपमा बढ्दै गयो। बिरामी अस्पतालको चक्कर लगाउदा लगाउदै मृत्युको मुखमा पुगे।
कोरोना आतंक यसरी फैलिएको थियो कि साधारण रोग लागेका मानिसलाई समेत अस्पतालले भर्ना लिग्न मानेनन्। सुत्केरी अस्पताल नपाएररै मर्नुपर्ने अवस्था आयो। तर सरकारले सत्ताको फोहोरी खेल छाडेर जनताको समस्या बुझ्न तिर लागेन।
कोरोना संक्रमण तीब्र रुपमा फैलदो थियो, स्वास्थ्यकर्मी पनि संक्रमित हुँदै थिए। कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढ्दै गयो। नागरिक त्रसित हुन थाले, एक त अस्पतालमा उपचार नपाइने, त्यसमाथि स्वास्थ्यकर्मी नै संक्रमित भएका थिए। र सरकार कुर्सी टिकाउनमै मस्त थियो।
अस्पताल भरिभराउ भए उपचारका लागि आइसोलेसनको माग हुन थाल्यो। तर सरकारले सुविधा सम्पन्न उचित आइसोलेसन बनाउन सकेन।
संक्रमित थपिए तर घरमै बस्न बाध्य थिए, एक त पहिलेदेखि स्वास्थ्यकर्मीको अभाव थियो। यसरी सरकारले होम आइसोलेसनमा बस्न बाध्य बनायो, घरमै संक्रमित रहँदा संक्रमण झनै तीब्र रुपमा फैलियो। परिवारबाट समुदायमा फैलियो, सरकारले यो सब बुझेको थियो। तर पनि आइसोलेसन व्यवस्थापन गर्न सकेन।
समुदायमा संक्रमण फैलियो भनेर सरकारले लकडाउन, सिल, सटडाउन, निषेधाज्ञा सबै गरायो, नागरिकलाई दुख दियो। नागरिक भोकभोकै रहनुपर्ने अवस्था पनि सिर्जना भयो। तर संक्रमण रोक्न असमर्थ भयो।
किन असफल भयो यो कुरा सरकार चलाउनेलाई थाह छ, तर बुझेर पनि सरकारले लाचारी देखाइरह्यो।
घरघरमा कोरोना संक्रमित राखेर सहरमा निषेधाज्ञा गर्यो, तर संक्रमण घरमै छ भन्ने कुरा बुझेर पनि बुझपचायो। स्थानीय सरकारहरुले केन्द्रीय सरकारको पुच्छर बनेर संक्रमित भएकालाई आइसोलेसन राख्ने तत्परता देखाएनन्। परिवारमा एकजना संक्रमित देखिँदा साथ उसलाई लगेर आइसोलेसनमा राखिदिएको भए परिवारका अन्य सदस्यमा संक्रमण फैलने सम्भावना नै रहँदैन थियो।
तर एकै कोठामा ४-५ जनाको दरले बसोबास गर्ने डेरावाललाई पनि सरकारले हेरेन। आज घरघरमा कोरोना संक्रमित छन्, संक्रमण परिवारबाटै समुदायमा फैलिदै छ। यो अवस्थामा निषेधाज्ञाले संक्रमण फैलन रोक्छ भन्नू सरकारको महामुर्खता हो।
यहि भदौ ३ देखि २५ सम्म सरकाले निषेधाज्ञा गरेको थियो, सो अवधिमा काठमाडौंमा दैनिक संक्रमितको संख्या बढ्दै गयो, तलको विवरण हेर्दा अझै प्रष्ट हुन्छ।
उपत्यकामा कहिले कति संक्रमित भेटिए?
भदौ ३- १५९
भदौ ४- २००
भदौ ५- १८२
भदौ ६- २१६
भदौ ७- १६६
भदौ ८- २२४
भदौ ९- २३२
भदौ १०- ३०१
भदौ ११- ३७७
भदौ १२- ४१५
भदौ १३- १८६
भदौ १४-४२९
भदौ १५- २९८
भदौ १६- ४८१
भदौ १७- ३८८
भदौ १८-४४५
भदौ १९-४५४
भदौ २०-४०८
भदौ२१-३५४
भदौ २२-३२६
भदौ २३-३९६
भदौ २४-४६४
भदौ २५-५७२
निषेधाज्ञाले संक्रमण किन रोक्न सकेन भन्दा यसको एउटै जवाफ हो अब हामी कोरोना नियन्त्रणमा चुकिसकेका छौं।
आज घरघरमा संक्रमित छन्, जबसम्म घरघरमा रहेका संक्रमितलाई आइसोलेसनमा सारेर उपचार हुँदैन तबसम्म हामी कोरोना नियन्त्रणमा चुक्ने छौं। त्यसैले पहिले आइसोलेसन बनाउनतर्फ जोड गरौं।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७