नेपालमा कोरोना संक्रमणकाे कहर दिनदिनै बढिरहेको छ।
यतिबेला सबै स्वास्थ्यकर्मी ज्यानको बाजी लगाएर उपचारमा खटिरहेका छन्।
तर, सँगै स्वास्थ्यकर्मीमाथि निरन्तर दुर्व्यहार र अपमान हुन थालेको छ।
केही समयअघि चितवनका एक डाक्टर आफैं संक्रमित भए।
कोराना संक्रमितको उपचार गर्दागर्दै डा. विश्वबन्धु बगाले आफैं संक्रमित भएका थिए। उनी संक्रमित भएपछि उनका छिमेकी आएर उनको घरमा ‘संक्रमितको घर’ भनेर ब्यानर टाँगिदिए।
पछि बगालेले ‘आफू संक्रमित हुनुभन्दा पनि छिमेकीको त्यो व्यवहारले झनै दु:खी भएको’ बताएका थिए।
काठमाडौंकै नयाँबानेश्वरमा अर्को घटना भयो, सिभिल अस्पतालमा काम गर्ने नर्स तथा डाक्टरहरूलाई एउटा होस्टेलमा राखिएको थियो।
टोलवासीको एउटा हुल आएर ‘डाक्टर नर्सलाई किन बस्न दिएको’ भन्दै हाेस्टल सञ्चालकलाई ज्यान मार्ने धम्की दिए। नाराबाजी गरे।
यीमात्रै होइनन्, देशभरि पछिल्ला समयमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र अपमानजन्य घटना भइरहेका छन्।
यी घटना बढ्दै जाँदा आयोमेलले कोरोना नियन्त्रणमा खटिरहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र अपमानका घटना किन भइरहेका होलान्? भनेर एउटा सर्वेक्षण गरेको थियो।
पाठकमाझ गरिएको यो सर्वेक्षणमा सहभागी धेरैजसोले समाजमा बढिरहेको अराजकतालाई यस्तो हुनुको प्रमुख कारण मानेका छन्।
सर्वेक्षणमा सहभागी करिब ५२.९४ प्रतिशतले ‘समाजमा अराजकता बढेर’ भन्ने मत दिएका छन्। त्यस्तै २३.५३ प्रतिशत सहभागीले ‘चेतना नभएर’ अनि १७.६५ प्रतिशतले ‘दोषीलाई कारबाही नभएर’ भन्ने मत व्यक्त गरेका छन्।
त्यस्तै ‘आफैलाई नपरी चेतिन्नँ’ भन्ने विकल्पमा ५.८८ प्रतिशत सहभागी सहमत भएका छन्।
आगामी सर्वेक्षणका लागि प्रश्न
डा. गोविन्द केसी किन घरिघरि अनसन बसिरहनुपर्छ?
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७