प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षे ‘म्यान्डेट’ पाएको संसद एक्कासि विघटन गर्ने प्रस्ताव गरेलगत्तै त्यसलाई लालमोहर लगाउन उनी राष्ट्रपति निवास पुगेका छन्।
यसअघि पनि प्रधानमन्त्रीले राजनीतिक परामर्शबिनै बोकेर जाने हरेक अध्यादेशलाई एक निमेष नसोची राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मसी धस्काइदिने गरेको कसैले बिर्सिएका छैनन्।
एक साताभित्रै संविधानमाथि प्रधानमन्त्री ओलीको यो दोस्रो आक्रमणको प्रस्तावलाई अब राष्ट्रपति भण्डारीले रातो मसी धस्काइदिन्छिन् वा एक क्षण सोचेर परामर्श गरेर फिर्ता गर्छिन् भन्ने प्रश्न अहम हो।
यदि संसद विघटन प्रस्तावमा राष्ट्रपतिले लालमोहर लगाइदिइन् भने ‘राष्ट्रपति’ भन्ने संस्थामाथि आमनेपालीको आस्था हट्ने त छँदै छ, प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति भन्ने संस्था पनि ‘सती’ जानेछ। राष्ट्रपतिज्यू, आफ्नो शाख जोगाउनुस्!
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७