सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सार्वजनिक गरेको ‘ई-शिक्षा प्याकेज’ मा शैक्षिक क्षेत्रका ग्राहकको आकर्षण उल्लेख्य बढेको जनाएको छ।
यो प्याकेजबाट अनलाइन कक्षा लिन थप सहज भएपछि यसको प्रभावकारिता बढिरहेको टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार टेलिकमको मोबाइल नम्बर भएका जुनसुकै स्कुल, कलेज वा विश्वविद्यालयका विद्यार्थी, शिक्षक र अन्य कर्मचारीले यो प्याकेज खरिद गरिरहेका छन्। यो प्याकेज टुजी, थ्रिजी र फोरजी नेटवर्कमा चलाउन सकिन्छ।
यसमा दुई किसिमका डाटा प्याकेज छन्। २ सय ६० रुपैयाँमा ६ जिबी र ५ सय रुपैयाँमा १५ जिबी डाटा पाइन्छ। ६ जिबी डाटा प्याकेजमा ३ जिबी चौबिसै घन्टा र बाँकी ३ जिबी बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्छ।
त्यस्तै १५ जिबी डाटा प्याकेज खरिद गर्दा ९ जिबी चौबिसै घन्टा र बाँकी ६ जिबी बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्छ। दुवै प्याकेज २८ दिनभित्र उपोग गरिसक्नुपर्छ।
टेलिकमका अनुसार यी प्याकेज खरिद गर्न सम्बद्ध शैक्षिक संस्थाको पत्र आवश्यक पर्छ। त्यसपछि सम्बद्ध मोबाइल नम्बरमा १४२२ बाट मेसेज आउँछ। त्यसपछि ८१४४१३ मा डायल गरी आफूलाई चाहिएको प्याकेज खरिद गर्न सकिन्छ।
धेरै संख्यामा प्याकेज खरिद गर्नका लागि भने ८१४१५८५५३ मा डायल गरेर वा नेपाल टेलिकमको एप प्रयोग गर्न सकिन्छ।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७