नेपाल टेलिकमले बिहीबारदेखि एनटी-टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ।
टेलिकमले हाल एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराउँदै आएकामा अब आइपी टिभी सेवा पनि विस्तार गर्न लागेको हो।
कम्पनीको एनटि-टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच अनिवार्य गरिएको छ। तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटिटिएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानमा उपलब्ध हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए।
‘हाल कम्पनीको एफटिटिएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकले एनटि टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटिबी (सेट टप बक्स) खरिद गर्नु पर्नेछ भने ग्राहकले प्रयोग गरिरहेको ट्रेडनेसनल टिभि सेट र आधुनिक डिजिटल टिभी सेटमा एनटि टिभी हेर्न सकिन्छ।
यसमा विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानल उपलब्ध हुन्छ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७