पछिल्ला केही दशकयता आफ्नो खान्कीबाट मासुजन्य तथा दुग्ध पदार्थ कटौती गर्ने मानिसको संख्यामा अधिक वृद्धि आएको छ। भेगान सोसाइटीको तथ्यांक मान्ने हो भने पनि बेलायतमा मात्रै सन् २००६ देखि २०१८ सम्म शाकाहारीको संख्या चार गुणाले बढेको छ।
शाकाहारी खाद्यान्नसँग सम्बन्धित स्वास्थ्यजन्य फाइदाका कारण आधाभन्दा बढी मानिसले मांशाहारी खुराक त्याग्ने गरेको पाइएको छ।
शाकाहारी खुराकलाई अधिक रेसादार पदार्थ र न्यून कोलेस्टेरोलको स्रोत मानिए पनि माछा–मासु, अन्डा र दुग्धजन्य पदार्थ त्याग्ने सन्दर्भमा संसारभरि विविध गलत मान्यता एवं सरोकार कायमै छन्। जसमध्येको एउटा साझा सरोकार भनेको शाकाहारी खुराकमा मानव शरीरलाई चाहिने भिटामिन बि१२ हुन्छ कि हुँदैन भन्ने पनि हो।
नसाको क्षति रोक्न मद्दत गर्ने यस भिटामिन मासु, माछा, अन्डा र दुग्ध पदार्थमा पाइए पनि फलफूल र तरकारीमा भने पाइँदैन।
हालै १८ वर्षभन्दा माथिका मांशाहारी, शाकाहारी र माछाको आहार गर्ने तर मासु उपभोग नगर्ने ४८ हजार व्यक्ति संलग्न एउटा अध्ययनले शाकाहारीहरू मांसाहारीका तुलनामा मुटुसम्बन्धी रोगको जोखिम कम हुने भएता पनि भिटामिन बि१२ अभावले स्ट्रोकको जोखिम उच्च हुने देखायो।
‘शाकाहारीमा भिटामिन बि१२ कमी हुने हुनाले उनीहरूलाई मांशाहारीका तुलनामा स्ट्रोक हुने सम्भावना बढी रहन्छ,’ अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता टामी टोङले भनिन्।
यद्यपि, अर्का अध्ययनकर्ता मार्को स्प्रिङम्यानले बिरुवामा आधारित दूधको उपभोगद्वारा भिटामिन बि१२ अभाव पूर्ति गर्न सकिने बताए। बिरुवामा आधारित दूध उपलब्धता नभएको स्थानमा भिटामिन सप्लिमेन्ट लिन सकिने पनि उनले बताए।
यसैगरी मासुजन्य पदार्थ त्याग्न उत्सुक व्यक्तिहरूको अर्काे चिन्ताको विषय भनेको शाकाहारी खुराकबाट पर्याप्त प्रोटिन पाइन्छ कि पाइँदैन भन्ने पनि हो। तरकारी तथा फलफूलमा त्यति धेरै पौष्टिक तत्व नपाइए पनि टोङले यो चिन्ताको विषय नभएको बताइन्।
‘शरीरलाई आवश्यक क्यालोरीबराबरको खाना नखाने व्यक्तिमा मात्रै हामीले पौष्टिक तत्वको अभाव पाएका छौं,’ उनी भन्छिन्, ‘प्रोटिन जुनसुकै खाद्य पदार्थमा पनि पाइन्छ।’
उदाहरणका लागि बिरुवामा आधारित सोया दूध (भटमासको प्रयोग गरी बनाइने दूध) मा गाईको दूधमा जति नै पौष्टिक तत्व पाइने हुनाले गाईको दूधलाई सजिलै परित्याग गर्न सकिने पनि उनले बताइन्।
उनले सन्तुलित शाकाहारी खुराक सबैभन्दा स्वास्थ्यबद्र्धक खुराक भएको दाबी गरिन्।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७