सरकारी स्वामित्वको नेपाल टेलिकमले ‘एनटी टिभी’ ब्रान्डमा एपटिटिएचमार्फत आइपी टिभी सेवा सुरु गरेको छ। टेलिकमले एपटिटिएच सेवाबाट भ्वाइस र डाटा सेवा उपलब्ध गराइरहेकोमा अब एनटी टिभी सेवा सुरु गरेपछि ‘ट्रिपल प्ले’ अवधारणा कार्यान्वयनमा सफलता प्राप्त भएको जनाएको छ।
टेलिकम केन्द्रिय कार्यालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एनटि टिभी सेवा उद्घाटन गरेका थिए। कार्यक्रममा मन्त्री गुरुङले टेलिकमले अत्याधुनिक सेवाका रूपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराएकोमा उत्साह थपिएको भन्दै दिगो र भरपर्दो सेवा योजना बनाएर काम गर्न निर्देशन दिए।
‘यस्ता सेवालाई देशव्यापी बनाइ आमनेपालीमा पु-याएर कम्पनीलाई प्रतिस्पर्धामा अब्बल साबित गराउनु कम्पनीको दायित्व हो,’ मन्त्री गुरुङले भने।
त्यसैगरी सञ्चार मन्त्रालयका सचिव तथा टेलिकम सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवा उपलब्ध हुने एफटिटिएच सेवा मुलुकभर विस्तार गर्नुका साथै मर्मत र निरन्तरतामा ध्यान दिन जोड दिए।
कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हालसम्म मुलुकका ३९ जिल्लामा एफटिटिएच सेवा विस्तार गरिएको र यसमा कम्पनी पहिलो नम्बरमा रहेको बताए। यो सेवा विस्तारबाट सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रूपान्तरणमा प्रभावकारी योगदान पुग्ने उनले उल्लेख गरे।
टेलिकमका अनुसार एफटिटिएच सेवाबाट भ्वाइस वा डाटा अथवा दुवै प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा लिन टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्दछ। तत्कालका लागि काठमाडौ उपत्यकाका अधिकांश स्थान र काठमाडांै बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध छ।
राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा बेसिक र प्रिमियम प्याकेजमा छुट्टयाइएको र सेवा अवधि एक र तीन महिना वा एक वर्ष कायम गरिएको टेलिकमले जनाएको छ। इन्टरनेट ब्यान्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक गरिएको छ।
टेलिकमका अनुसार बेसिक प्याकेजअन्तर्गत एक महिनाका लागि १५ एमबिपिएस इन्टरनेट ब्यान्डविथसहितको एनटी टिभी सेवा १ हजार २ सय ३० र एक वर्षका लागि १५ एमबिपिएस इन्टरनेटसहित १३ हजार २ सय २० रुपैयाँ पर्छ।
त्यसैगरी प्रिमियम प्याकेजअन्तर्गत एक महिनाका लागि १५ एमबिपिएस इन्टरनेट ब्यान्डविथसहित १ हजार ४ सय र एक वर्षका लागि ६० एमबिपिएस इन्टरनेटसहित २४ हजार ५ सय पर्छ। दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २ सय ५० मिनेट टेलिफोन गर्न सकिने सुविधा दिइएको छ।
कम्पनीले ल्यान्डलाइन फोनका ग्राहकलाई प्राविधिक रूपले सम्भव भएसम्म एफटिटिएचमा रूपान्तरण गरिरहे पनि एफटिटिएचअन्तर्गत भ्वाइस सेवामात्र उपयोग गरिरहेकालाई पनि एनटी टिभी सेवा दिइने जनाएको छ। यसका लागि बेसिक प्याकेजअन्तर्गत एक महिनाको एनटी टिभी सेवा ४ज सय ८० र एक वर्षको ५ हजार ७ सय ८० तोकिएको छ।
भ्वाइस सेवामात्र लिएकाले प्रिमियम प्याकेजअन्तर्गत एक महिनाको एनटी टिभी ८ सय र १२ महिनाको ८ हजार ३ सय रुपैयाँमा तिरे पुग्छ।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७