फुटको औपचारिक बाटो समातिसकेका नेकपाका केपी शर्मा ओली समूह र प्रचण्ड–माधव समूह आआफ्नो पक्षमा नेता तथा कार्यकर्ता तान्न तल्लीन छन्।
संसद विघटनपछि कतिपय नेता तथा कार्यकर्ता ‘कित्ता’ परिवर्तन गरेर एक समूहबाट अर्कोतिर गइसकेका छन्।
नेकपाभित्र विवाद चुलिएपछि प्रधानमन्त्री ओली सबैभन्दा बढी प्रदेश २ र सुदूरपश्चिम प्रदेश २ केन्द्रित भएका छन्।
प्रदेश २ मा ओलीप्रति खासै राम्रो दृष्टिकोण छैन। खासगरी मधेश आन्दोलनताका ‘एक दुईवटा आँप झर्दैमा केही फरक नपर्ने’, मानव साङ्गलोलाई ‘माखे साङ्गलो’ भनेर टिप्पणी गरेपछि मधेशमा ओलीप्रतिको छवि खासै राम्रो छैन।
आगामी दिनमा प्रदेश २ ले अप्ठ्यारो गर्नसक्ने आंकलन गर्दै ओली अहिले पूर्णरुपले त्यहाँ केन्द्रित भएका छन्। पार्टीकै प्रदेश कमिटी, प्रदेशसभा र केन्द्रीय कमिटीमा पनि प्रदेश २ मा ओली अल्पमतमा देखिएका छन्।
दुई दिनअघिमात्र प्रचण्ड–माधव समूहले प्रदेश इन्चार्जसमेत रहेका ओली पक्षीय सत्यनारायण मण्डललाई हटाएर शत्रुध्न महतोलाई संसदीय दलका नेता बनाएका छन्।
यसैगरी प्रदेश कमिटीका इन्चार्ज मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल ओलीतर्फ रहे पनि अरु पदाधिकारीहरू भने प्रचण्ड–माधवतिरै रहेको स्थायी कमिटी सदस्य मातृका यादव बताउँछन्। केन्द्रीय कमिटीमा पनि प्रदेश २ मा प्रचण्ड–माधव पक्ष बहुमतमा छन्।
प्रदेश २ मा आगामी दिनमा आउनसक्ने चुनौतीको निक्र्योल निकाल्न प्रधानमन्त्री ओलीले सचिवालय सदस्य ईश्वर पोखरेल र हालै प्रचण्ड–माधव समूह छोडेर मन्त्री बनेका प्रदेश अध्यक्ष साहलाई दिएका छन्।
नेकपाभित्र विवाद चुलिएपछि पोखरेल र साह लागातार प्रदेश २ मा खटिएका छन्। दुबै नेता प्रदेश २ को विभिन्न स्थानमा भेला बैठक गरिसकेका छन्। प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता आफूतिर तान्न पोखरेल र साह हरसम्भव प्रयास गरिरहेका छन्।
र, केही हदसम्म उनीहरू यस प्रयासमा सफल पनि भएका छन्।
हालै सहरी विकासमन्त्री बनेका साहलाई प्रधानमन्त्री ओलीले सुरूमै आफूतिर ल्याउन सफल भए। प्रचण्ड–माधव समूहको बैठकहरूमा सहभागी हुँदै आएका साहलाई आफूतिर तानेर ओलीले मन्त्री बनाए।
यसैगरी कार्की ब्यान्क्वेटमा प्रचण्ड–माधव समूहकै स्थायी कमिटी बैठकमा सहभागी भएका रघुवीर महासेठ पनि ओलीतिरै लागेका छन्। ओली पक्षमै रहेकी श्रीमती जुलीकुमारी महतो मन्त्री नबनुन्जेल चुप लागेर बसेका महासेठ उनी मन्त्री बनेलगत्तै त्यसतर्फ लागेका थिए।
प्रचण्ड–माधव समूह छोडेर ओलीतिर लागेका साहले आफ्नो प्रभाव देखाउँदै पूर्वमाओवादीका ६ जना सांसदलाई आफूतर्फ तान्न सफल भएका छन्।
सिरहाका स्थायीवासी र जनकपुरमा विद्यार्थी राजनीति गरेकोहुँदा प्रधानमन्त्री ओलीले पोखरेललाई प्रदेश २ मा खटाएको हुनसक्ने अनुमान भइरहेका छन्।
तर, प्रदेश २ मा पोखरेलको प्रभाव खस्किँदै गएको उनका समकालीन नेकपा नेता एवं पूर्वसभासद शीतल झा बताउँछन्।
विगतमा प्रभाव रहे पनि अहिले पोखरेलको खासै प्रभाव नपर्ने झाको भनाइ छ। उनकै कारण नेता तथा कार्यकर्ता समूह परिवर्तन गर्ने सम्भावना न्यून रहेको झाले बताए।
‘म आफैं ईश्वरजीको सहपाठी हुँ, उहाँलाई ईश्वरजस्तै मान्ने गरेको थिएँ,’ आयोमेलसँग उनले भने, ‘जब म स्वयं उहाँबाट अलग भइसकेको छु भने अरूमाथि के नै प्रभाव पर्ला?’
विभाजन भइसकेपछि अब नेता कार्यकर्ता यताउता जाने सम्भावना आफूले नदेखेको उनको भनाइ छ। राजनैतिक रूपमा पोखरेलआवद्ध पक्षलाई प्रदेश २ का नेता कार्यकर्ताले स्वीकार गर्न तयार नदेखिएको झाले बताए।
नेकपा सरकार गठन हुँदा प्रधानमन्त्री ओलीले मातृका यादव, गिरिराजमणि पोखरेल र रघुवीर महासेठ तीनजनालाई प्रदेश २ बाट मन्त्री बनाएका थिए। मातृका र रघुवीरलाई मन्त्रीबाट हटाइसकेपछि गिरिराज ओली सरकारमा सामेल थिए।
प्रतिनिधिसभा विघटनपछि प्रदेश २ बाट मन्त्री बनेका गिरिराजले पनि राजीनामा दिए।
पछिल्लोपटक मन्त्रीमण्डल विस्तार गर्दा ओलीले पुनः प्रदेश २ बाट तीनजनालाई मन्त्री बनाएका छन्। लिलानाथ श्रेष्ठ कानुन, प्रभु साह सहरी विकास र जुली महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएका छन्।
प्रदेश २ मा पकड मजबुत बनाउन ओलीले जनता समाजवादी पार्टी (जसपा) का नेतालाई समेत आफ्नो समूहमा तान्ने दाउमा लागेका छन्।
र, पछिल्लोपटक रौतहटका जसपा नेता बबन सिंह ओलीतिर लागेका छन्। केहीदिनअघि रौतहटमा भएको एक कार्यक्रममा पूर्वसभासदसमेत रहेका सिंह ओली पक्षीय नेकपामा प्रवेश गरेका हुन्। सिंहलाई नेकपामा प्रवेश गराउन मन्त्री साहले प्रमुख भूमिका खेलेको बताइएको छ।
सुदूरपश्चिममा ओलीको ‘लेखराज’ कार्ड
केही दिनअघि काठमाडौंको कार्की ब्यान्क्वेटमा सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम अब आफूहरूको कब्जामा हुनुपर्ने बताएका थिए।
यसअघि मुश्किलले एकजना मन्त्री पाउने सुदूरपश्चिमलाई आफूले चार÷चारवटा मन्त्री दिएको भन्दै ओलीले पार्टीको कब्जामा ल्याउन उद्घोष गरे।
सुदूरपश्चिममा पनि ओली पक्षीय नेकपा अल्पमतमा छ। खास गरेर प्रदेशसभामा। त्यहाँका ३५ प्रदेशसभा सदस्यमध्ये २८ जना प्रचण्ड–माधव पक्षमा छन्।
सुदूरपश्चिमका अर्थमन्त्री झपटबहादुर बोहराले बुधबार पदबाट राजीनामा दिए। पूर्वमाओवादीबाट जितेर प्रदेश मन्त्री बनेका बोहरा राजीनामा दिएर ओलीतर्फ लागेका छन्।
बोहराले छोडेपछि प्रचण्ड–माधव पक्षमा २८ र ओलीतर्फ अब ७ जना प्रदेश सांसद भएका छन्।
सुदूरपश्चिममा नेकपा स्थायी कमिटी सदस्य भीम रावलको प्रभाव कमपार्न ओलीले पूर्वमाओवादी लेखराज भट्टलाई अघि सारेको देखिन्छ। सुरूदेखि ओली सरकारमा मन्त्री रहेका भट्ट पार्टीभित्र विवाद सिर्जना हुँदापनि प्रचण्ड–माधवतिर लागेनन्।
भट्टसहित प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट चारजनालाई मन्त्री बनाएका छन्। कैलालीका गौरीशंकर चौधरी, डोटीका प्रेम आले र दार्चुलाका गणेश ठगुन्नालाई पछिल्लोपटक मन्त्रीमण्डल विस्तार गर्दा उनले मन्त्री बनाएका हुन्।
सुदूरपश्चिममा रावलको प्रभाव कम गर्न बुधबार बसेको प्रदेशस्तरीय बैठकले कारबाहीको निर्णय गरेको छ। रावलले पार्टी खातामा रहेको रकम हिनामिना गरेको आरोप छ।
४-४ जना मन्त्री दिँदासमेत सुदूरपश्चिमको संसदीय दल, प्रदेश र जिल्ला कमिटीमा प्रचण्ड–माधव पक्षको बहुमत ओली पक्षका लागि टाउको दुखाइ बनेको छ।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७