ग्रान्डी इन्टरनेसनल अस्पतालको ठिक पछाडि छ-ग्रान्डी भिल्ला कोलोनी। त्यो कोलोनीमा अवकासप्राप्त नेपाली सेना, प्रहरीदेखि सरकारका उच्च पदस्थ कर्मचारी, व्यापारी, उद्योगीलगायत धनाढ्यहरूकाे बसोबास छ।
कोलोनीभित्र छिर्न एउटैमात्र गेट छ। नयाँ मान्छे कोही कोलोनीभित्र पस्न खोजे कोलोनीको सुरक्षा दिन गेटमा खटिएका सेक्युरिटी गार्डले सोधिखोजी गर्छन्। सेक्युरिटी गार्डले अनुमति दिएमात्र प्रवेश पाइन्छ।
सोही कोलोनीमा शुक्रबार नसोचेको घटना भयो।
०००
शुक्रबार राति ८ः४० बजे प्रहरीको चारवटा भ्यान कोलोनीभित्र पस्यो। दुई वर्षदेखि कोलोनीमा सेक्युरिटी गार्डको काम गरिरहेका नवलपरासीका बुद्धिबहादुरले कोलोनीभित्र प्रहरी किन पस्यो भन्ने भेउ पाउन सकेनन्।
‘प्रहरीको चारवटा भ्यान आयो। सिधै ६ नम्बर चोकमा पुगेर प्रहरी ओर्ले,’ शनिबार कोलोनीमा भेटिएका बुद्धिबहादुरले आयोमेलसँग भने, ‘प्रहरीले वरपर कोही नआउनू भन्नुभयो, त्यसपछि म त्यतातिर गइनँ।’
त्यतिबेलासम्म पनि उनले के भएको हो भन्ने थाहा पाउन सकेनन्। एकैछिनमा गेटमा दुई–चारजना मान्छे आए। उनीहरूको मुखबाट अस्पष्ट खबर सुने– कोलोनीभित्र दुईजनाको शव भेटियो। त्यसपछि बुद्धिबहादुर ‘२४ डी’ नम्बरको घरको गेटमा पुगे।

‘म त्यहाँ पुग्दा प्रहरीले कोही मान्छेसँग सोधपुछ गरिरहेको थियो। वल्लोपल्लो घरका मान्छेलाई बोलाउँदै घटनाबारे सोधपुछ भइरहेको थियो,’ उनले भने, ‘नभन्दै दुईजना मृत भेटिए भनेर एक प्रहरीले सुनाए।’
त्यो घरमा बस्नेहरूलाई आफूले नचिनेको बुद्धिबहादुरले बताए। ‘त्यसपछि के–गर्यो कसो गर्यो थाहा भएन। रातिको डिउटी भएकाले गेटमा आएँ,’ उनले भने, ‘रातको १ बजे दुईवटा एम्बुलेन्स आएर शव लग्यो।’
०००
कोलोनीमा मृत भेटिएका ललितपुरका उमेश केसी र सुदिक्षा गिरी थिए। उनीहरू श्रीमान-श्रीमती थिए। शुक्रबार राति पौने ९ बजे उमेश र उनकी श्रीमती सुदिक्षा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए।
डिएसपी खड्काका अनुसार उमेश कोठाको बेडमा मृत लडिरहेका थिए भने श्रीमती सुदिक्षा पासोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनास्थलबाट रगतले लतपतिएको ढुंगासमेत भेटिनुले थप शंका जन्माएको छ।
उनीहरूको हत्या भएको हो वा होइन भन्नेबारे प्रहरी अधिकारी अनुसन्धानतिर लागिसकेका छन्। प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण घटना भएको दाबी गरे पनि घटना दुई कारणले झन् रहस्यमय बनेको छ।
पहिलो कारण - सुदिक्षाकी दिदी घटनास्थल पुगेको १२ घन्टापछि प्रहरीलाई खबर गरिन्
घटनाबारे शुक्रबार राति पौने ९ बजे प्रहरीमा खबर पुगेको थियो। प्रहरीलाई खबर गर्नुअघि सुदिक्षाकी दिदी शर्मिला घटनास्थल पुगेर फर्किएकी थिइन्। शर्मिला आफैंले शुक्रबार बिहान ६ बजे बहिनीले फोन नउठाएपछि घटनास्थल घरमै पुगेको प्रहरीसमक्ष बताएकी छिन्।
घटना थाहा पाएको १२ घन्टापछि मात्र शर्मिलाले प्रहरीमा किन खबर गरिन्? महाराजगन्जका डिएसपी खड्काले घटनाबारे ८ः४० बजे खबर आएको पुष्टि गरेका छन्। त्यसपछि डिएसपी आफैं घटनास्थल पुगे।
राति घटनास्थल पुगेको प्रहरीलाई सुदिक्षाकी दिदी शर्मिलाले उमेशका परिवार सम्पर्कमा नरहेको बताइन्। जबकि शर्मिलाले मृतक उमेशका दाइ हिमेशलाई चिनेकी छिन्।
त्यसपछि प्रहरीले मृतक सुदिक्षाका आफन्त र जनप्रतिनिधिको रोहवरमा मुचुुल्का गरेर उनीहरूको शव उठायो। यता, उमेशका परिवारका अनुसार प्रहरीले कसैको दबाबमा हतार–हतार मुचुल्का उठाएको घटनाक्रमले देखाएको छ।
आयोमेल टिम शनिबार दिउँसो घटनास्थल पुग्दा मृतक सुदिक्षाकी दिदी शर्मिला त्यहीँ थिइन्। तर, केही बोलिनन्। ‘म अहिले केही बोल्ने अवस्थामा छैन,’ उनले यत्तिमात्रै भनिन्।
प्रहरीका अनुसार बिहान ६ बजे बहिनीको घर पुग्दा त्यहाँ के भएको थियो भन्नेबारे उनले केही बताएकी छैनन्। एकैपटक उनले रातिमात्रै प्रहरीलाई फोन गरेकी थिइन्।
दोस्रो कारण - अगाडिको ढोका बन्द अवस्थामा रहे पनि पछाडिको ढोकाको चुकुल फोडिएको छ
प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धान देखाएको छ। तर, सँगै अगाडिको ढोका बन्द अवस्थामा रहे पनि पछाडिको ढोका फोडेर कोही घटनास्थलमा प्रवेश गरेको हुनसक्ने प्रहरी अनुमान छ।
पछाडिको ढोकाको चुकुल निकालिएको अवस्थामा भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले आयोमेललाई बताए। प्रहरी घटनास्थल पुग्नुअघि नै कोही व्यक्ति पछाडिको ढोकाबाट निस्केको हुनसक्ने उमेशका परिवारको भनाइ छ।
अगाडिको ढोका बन्द हुनु, अनि पछाडिको ढोकाको चुकुल फोडिनुले घटना थप रहस्यमय बनेको छ। संवेदनशील घटनामा प्रहरीले बिहानसम्म पर्खनुुभन्दा राति नै शव उठाउनु र घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित उपलब्ध प्रविधिको प्रयोग नगर्नुले थप शंका उब्जाएको छ।
बेला–बेला उनीहरू बस्दै आएको घर सफा गर्न एक महिला जान्थिन्। ‘ती महिलाले नै बिहान–बिहान दूध पुर्याइदिने गर्थिन्,’ मृतकका दाजु हिमेश भन्छन्, ‘किचेनमा लगेर दूध छाड्दा तीन दिनसम्म ती महिलाले घटनाबारे देखिनन् त?’

एक हप्तापछि अमेरिका जाँदै थिए उमेश
ललितपुर स्थायी घर भएका उमेश गत कात्तिक ७ गते अमेरिकाबाट तीन महिनाका लागि नेपाल आएका थिए। चार दिनपछि जनवरी १४ मा अमेरिका उड्ने तयारीमा थिए उनी। यसका लागि उनको जहाजको टिकटसमेत बुकिङ भइसकेको थियो।
अमेरिकाबाट आएको पर्सीपल्ट अर्थात कात्तिक ९ देखि श्रीमतीसहित उमेश ग्रान्डी भिल्ला कोलोनीमा भाडामा बस्न सुरु गरेका थिए। उमेश अमेरिकामा रहँदा श्रीमती सुदिक्षा माइतीमै बस्थिन्।
उनीहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए।
के भन्छन् मृतक उमेशका दाइ?
गत मंगलबार भाइबुहारी दुवैजनासँग (तीन दिनअघि) बानेश्वरमा भेट भएको थियो। भेटका क्रममा शनिबार परिवारका सदस्यसँग रमाइलो गर्ने योजना बनाएका थियौं। अपराह्न ४ बजेतिर हामी छुट्टिएका थियौं।
‘आज (शनिबार बिहान) भेट्न त भेटेँ उनीहरुलाई तर मृत अवस्थामा,’ शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगन्ज परिसरमा भेटिएका हिमेशले भने, ‘मंगलबारको त्यो भेट नै अन्तिम भेट भयो।’
‘शनिबार बिहान ३ बजेतिर आफन्तले दुवैको मृत्यु भएर अस्पताल पुर्याएको जानकारी पाएपछि आत्तिँदै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर दुवैको मृत शरीर हेरेर फर्किएँ’, हिमेशले भने।
त्यत्रो घटना हुँदा पनि प्रहरीले आफूहरूलाई खबर नगरेकोमा उनको चित्त बुझेको छैन। ‘भाइको शव हेर्दा केही दिनअघि घटना भएको जस्तो छ, बुहारीको शरीरबाट आलो रगत बगेको छ,’ हिमेशले आयोमेलसँग भने।
शिक्षण अस्पतालमा दुवैको शव हेरेर फर्किएका हिमेश भन्छन्, ‘भाइको शव सड्ने अवस्थामा छ। उनको शरीरभरि नीलडाम र रगत लतपतिएको छ। तर, बुहारी सुदिक्षाको शव भने ताजै अवस्थामा छ। उनको शरीरमा कुनै घाउचोट छैन।’
हिमेशका अनुसार उमेशले नेपालमै पनि विभिन्न क्षेत्रमा लगानी गरेका थिए। अनलाइन बिजनेश ‘सगुन’ मा पनि उनको लगानी थियो।
‘सगुनमा ८ करोडभन्दा धेरै लगानी गरेको भनेर भाइले सुनाएको थियो,’ उनले भने, ‘अमेरिकामै बस्ने बुहारीका दाजु नाता पर्ने गोविन्द गिरी सगुनकै सञ्चालक हुन्। उहाँकै कारण भाइले सगुनमा लगानी गरेको थियो।’
त्यस्तै उनले माइती (सुदिक्षा) को परिवारलाई घर बनाउँदा २ करोड रुपैयाँ पनि दिएका थिए। त्यसबाहेक उनको थुप्रै ठाउँमा करोडौंको कारोबार रहेको हिमेशले बताए।
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७