'जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो।'
त्यो बेला पृथ्वीनारायण शाहले भनेका थिए। तर २८० वर्षको इतिहासमा उनले भनेजस्तो जनता ‘मोटाउन’ पाएनन् दरबार पनि ‘बलियो’ भएन। बरू उनका पुस्ताले ‘जनता’ पिर्दै जान थाले र एउटा देशको इतिहासमा ‘शाह वंश’ को परम्परा नै अन्त्य भयो।
ती ‘बडा’ महाराज स्व. पृथ्वीनारायण शाहलाई लिएर देशमा अहिले मुख्यतया दुईथरि खेमा छन्।
आफै म... म: भनौं आफू कुन खेमामा छौं।
एकथरि छन् पृथ्वीनारायाण शाह राष्ट्रका ‘नायक’ हुन्। अर्काथरि छन्, उनी सामन्तवादका ‘नायक’ हुन्। गोर्खाली राजा पृथ्वीनारायण शाह नुवाकोट विजय गरेर काठमाडौं पसे। कसैले एकताका प्रतीक भने। कतिले अझैं उनलाई सामन्त शासक र विस्तारवादी भनेर खुइल्याउन छोडेका छैनन्।
देश एकीकरण गर्ने नायकका रुपमा सम्मान गर्ने र उनलाई विस्तारवादी भन्दै सामन्तवादको पगरी गुथाउनेहरू स्वयं कुन धरातलमा बसेर उनको कर्मको मुल्याकंन गरिरहेका छन् भन्ने छुट्याउन नसक्नु अहिलेको मूल प्रवृत्ति हो।
यी दुवै प्रवृत्ति उपर यो पुस्ताबाट नजरअन्दाज गरिनु हुँदैन। म इतिहासलाई सम्मान गरेर अघि बढ्नुमा देशको भलाइ हुन्छ भन्ने ठान्छु, न कि इतिहास मेटाएर क्रान्तकारी भइन्छ भन्ने कुरामा मेरो विश्वास छ।
इतिहास मेटायर मेट्न पनि सकिँदैन। इतिहासलाई न्याय गर्न विश्वासको पनि जरुरत पर्छ। विश्वासका लागि प्रमाण नै त चाहिँदैन। यो विश्वास भन्ने कुरा हत्तपत्त नबदलिने कुरा पनि हो। त्यसैले पृथ्वीनारायण शाह त्यही एकताको प्रतीकको विश्वासको आधार बनिसकेका छन्।
म पृथ्वीनारायण शाहको कर्मका लागि उनलाई सम्झनुपर्छ भन्ने कुरामा विश्वास राख्छु न कि उनको 'लिगेशी' लाई निरन्तरता। हरेक ब्यक्तिलाई उसको कर्मको आधारमा मुल्याकंन गर्नुपर्छ। कसैप्रति पनि कर्मलाई अलग गरेर बनाईने उप्रतिको धारणा न्यायोचित हुँदैन।
उतिबेलाको गोर्खा राज्यमा १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहको वशं परम्परा ज्ञानेन्द्रशाह सम्म चल्यो (भविष्यमा के होला अहिले धारणा राख्दिनँ)। २० वर्षको उमेरमा राजा बनेका पृथ्वीनारायण शाहले उतिबेलाका चौबिसे राज्यका संयुक्त सेनासँग आफ्नो अस्तित्वका लागि गरेको संघर्षलाई उनको लक्ष्यप्रतिको लगाव कति दूरदर्शी थियो भन्न सकिन्छ।
वास्तवमा ‘बडा महाराजधिराज’ को उपमा उनलाई सुहाउँदो थियो वा थिएन। काफी थियो अथवा कमी रह्यो तर सत्ताको कोर्ष बदल्ने नायकत्व उनको कर्मले दियो-स्व.पृथ्वीनारायण शाहलाई। जो उनीबाट कसैले खोस्न सक्यो न अब नै च्यूत गर्न सक्छन्।
उनको २९९ औं जन्म दिनलाई कसैले पृथ्वीजयन्ती र कसैले राष्ट्रिय एकता दिवस भनुन् वास्तवमा यो देशले उनलाई बिर्सेर पनि सम्झेको दिन हो, भुलाएर पनि सम्झिने नाम हो। पृथ्वीनारायण शाहको बारेमा मलाई लागेको कुरो यत्ति नै हो।
'वाद' र 'तन्त्रको' साँघुरो घेरामा होइन ब्यवस्थाको फराकिलो क्षितिजसम्म पृथ्वीनारायण शाहको लक्ष्य आफ्नो राज्यको सीमा नयाँ कायम गर्नु थियो। चाहे त्यो सुदूर पूर्वमा होस् या सुदूर पश्चिम। उत्तरको हिमाल छोएर दक्षिणका फाँटहरू सम्म पृथ्वीनारायण शाहको लक्ष्य राज्य विस्तार गर्नु थियो। अर्कोतर्फ टुक्रिएका राज्यलाई जोड्दै लैजानुपर्ने कडा चुनौती पनि थियो। जो उनले बेखुबि निभाए।
त्यही विस्तारित सिमाभित्र हामी बसेका छौं अहिले, यही उनलाई विस्तारवादी बनाउँछ भने त्यो पनि स्वीकार्य रह्यो। जसरी अहिलेको ब्यवस्थामा सरकार बनाउन र टिकाउन 'वाद' र 'तन्त्रको' जरुरत हुन्छ त्यसरी नै सायद पृथ्वीनारायण शाहलाई 'सीमा' जरुरत पर्थ्यो।
राजा, राजतन्त्र, राजसंस्थाको नाममा भइरहेका बेमौसमी खेती भन्दा पनि तत्कालीन परिवेशमा उनले खेलेको राज्य सत्ताको कोर्ष बदल्ने भूमिका अहिले केलाउँदा निकै चुनौतिपूर्ण लाग्छ मलाई।
अंग्रेजले संसारभरि राज गरेको त्यो परिवेशमा पृथ्वीनारायण शाहको दूरदर्शिता त अपरम्पार नै हो। त्यसैले देशका लागि पृथ्वीनारायाण शाह नाम नै काफी छ।
तर्क, कुतर्क, आरोप, आग्रह र पूर्वाग्रह नराख्ने हो भने पृथ्वीनारायण शाह न त बिर्साएर बिर्सने ब्यक्तित्व हो न त उनको वाह, वाहीमा नौनी घस्नु नै पर्नेछ। कर्मले कहलिएका शाहको जन्म दिन देशका लागि गर्वको दिन हो भन्दा मलाई कत्ति पनि अत्युक्ति लाग्दैन।
स्वाधीन अर्थतन्त्र, कुटनीतिक रुपमा छिमेकीसँगको सम्बन्ध स्थापित गर्नुपर्ने उनको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छन्।
अन्तमा, मेरा लागि त पृथ्वीनारायण शाह नामै काफी छ। अनि नेपालीका लागि देशका पक्षमा पनि जुगौं जुगसम्म यो नामै काफी हुनेछ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७