भक्तपुर लान्चाफल्चामा सोमबार २५ पसल अनुगमन गरिएको छ। जसमा अधिकांश दर्ताबिनै चलिरहेको र दर्ता भएका पसल पनि नवीकरण नभएको पाइएको छ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का अध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा खटिएको टोलीले पसल नवीकरण नभएका, दर्ता नभएका र कतिपय पसलमा म्याद नाघेका सामान पाइएको जनाएको छ। उनले कसैलाई नापतौल विभागमा दर्ता गर्न, कसैलाई नवीकरण गर्न तथा पसल दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिएको बताए।
म्याद नाघेका सामान गुडडे बिस्कुट एक प्याकेट, डार्क प्लिजर बिस्कुट पाँच प्याकेट, उत्सव पाउरोटी दुई पाउन्ड, जम्बो पाउरोटी दुई पाउन्ड, ज्ञान आटा एक प्याकेट, बन पाउरोटी दुई प्याकेट जफत गरी नष्ट गरिएको उनले बताए। म्याद नाघेका रियल फ्रुट जुस एक लिटरका तीन बट्टा जफत गरी नष्ट गरिएको उनको भनाइ छ।
अनुगमनमा समितिका सदस्यहरू, वडाध्यक्ष हरिराम सुवाल, प्रमुख वडा निरीक्षक रामकृष्ण प्रजापती, कर उपशाखाका न्हुँज किजु, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कुमारी रानामगर, उद्योग वाणिज्य संघका राजुमान वज्राचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायनाको सहभागी थिए।
अनुगमन गरिएका पसलहरू
भिन्तुना नेवारी खाजा घरमा सरसफाइको कमी पाइएको थियो। डोल्पाली खाजा घर, पवित्रा थापामगरको तरकारी पसल, साल्ला गणेश इन्टरप्राइजेज, ख्वप इन्टरप्राइजेज प्रालि, नवदुर्गा ट्रेड सेन्टरलाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिइएको छ।
आरभ खाद्यान्न स्टोरमा तराजु नापतौंल विभागमा नवीकरण गर्न, लोकप्रिय ट्रेडर्स, जेएन पोल्ट्री सप्लायर्समा पसल दर्ताको प्रमाणपत्र नभएकाले दर्ता भएको प्रमाणपत्र देखिनेगरी राख्न निर्देशन दिइएको छ।
सूर्यमुखी फार्मेसीलाई तीन दिनभित्र दर्ता गर्न र पसलमा बस्ने व्यक्ति औषधी व्यवस्था विभाग वा फर्मेसीको अनुमतिप्राप्त मात्र भएको हुनुपर्ने दिर्देशन दिइएको छ।
आशिष एन्ड आशिष कोल्ड स्टोर नवीकरण नभएको पाइएको छ। विशाल मसला पसललाई तीन दिनभित्र दर्ता गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ सामानमा लेबल राख्न, खाद्य विभागबाट अनुज्ञापत्र लिएरमात्र बिक्री गर्न निर्देशन दिइएको अनुगमन समितिले जनाएको छ।
देवकी लम्सालको फलफूल पसल तीन दिनभित्र दर्ता गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, तवेग विनायक इन्टरप्राइजेज, निक चिया पसललाई नवीकरण गर्न निर्देशन दिइएको छ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७