महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुईजनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।
धादिङ्ग गल्छी गाउँपालिकाका २७ वर्षीय विजय तामाङ र सोही ठाउँका १८ वर्षीय आइतराज तामाङ्ग प्रदेश ३–०२–०११ प ७२४१ नम्बरको कालो रातो रङ्गको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ परेका हुन्।
पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उनीहरुलाई मंगलबार काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडक खण्डबाट पक्राउ गरेको महाशाखाले जनाएको छ।
उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए।
किर्तिपुर नगरपालिका–७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाइकल काठमाडौं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए।
महाशाखाले चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन भएको अवस्थामा पक्राउ गरेको र वास्तविक नम्बर प्रदेश ३–०२–०१४ प ०३३९ रहेको बताएको छ।
हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७