नेपालका बारेमा विभिन्न अफवाह फैलाउँदै आएको भारतीय टेलिभीजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले फेरि अर्को विवादित विश्लेषण प्रशारण गरेका छन्।
विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथालाई उनले भारतले दाबी गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिनका लागि शनिबार काठमाडौं आएका उनी यहीँबाट माउन्टेन फ्लाइटमा सगरमाथा बेश क्याम्प कालापत्थर पुगेका थिए।
त्यहीँबाट रेकर्ड गरेर प्रशारण गरिएको उनको कार्यक्रम ‘डिएनए’मा उनले भनेका छन् ‘यो माउन्ट एभरेस्ट होइन यसको नाम राधानाथ सिकदरको नामबाट माउन्ट सिकदर हुनुपर्छ।’
उनले त्यसमै जोड दिँदै भनेका छन् ‘यसका लागि अब भारतमा पनि अभियान छेंड्नुपर्छ र बहस चलाउनुपर्छ। अनि भारतले पनि सारा संसारका अगाडि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी प्रस्तुत गर्नुपर्छ।’
सिम्रिक एयरमा उनी त्यहाँ पुगेका थिए। माउन्टेन फ्लाइटका लागि सिम्रिक एयरका क्याप्टेन सिद्धार्थजंग गुरुङले उनलाई उडाएका हुन्।
चौधरीले सगरमाथाको उचाइँ सुरुमा भारतले नै कायम गरेको बताउँदै अंग्रेजको पालामा त्यहाँका सर्भे डिपार्टमेन्टका राधानाथ फिक्दरले यसको उचाइँ कायम गर्न भूमिका खेलेको उल्लेख गरेका छन्।
करिब ३८ मिनेटको यो रिपोर्टलाई उनले ‘माउन्ट एभरेस्टमाथि भारतीय दाबीको अद्भूत विश्लेषण’ भन्ने नाम दिएका छन्।
र उनले यो रिपोर्टिङलाई ‘नयाँ भारतको नयाँ राष्ट्रवादी सच्चा पत्रकारिता’ भनेका छन्।
नेपालले दुई वर्षअघिमात्रै आफ्नै स्रोतसाधन प्रयोग गरेर सगरमाथाको नयाँ उचाइँ कायम गरेको थियो र चीन र नेपालले यसैवर्षमात्रै सगरमाथाको नयाँ उचाइँ ८८४८.८६ मिटर कायम गरेका थिए।
यसअघि नेपालले कालापानी लिपुलेख समेटेर नयाँ नक्सा जारी गरेपछि उनले निकै विवादास्पद टिप्पणी गरेका थिए। जी न्यूजमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राजदूत होउ यान्छिको बनावटी संवाद प्रशारण गरेर उनी विवादमा तानिएका थिए।
नेपालको नयाँ नक्सालाई ‘चिनियाँ नक्सेवाजी’ भन्दै उनले चीनकै उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको बताएका थिए। त्यसपछि जी न्यूज लगायत भारतीय च्यानलको नेपालमा प्रशारण रोकिएको थियो।
त्यसबारे उनका ट्विटहरू पनि विवादमा तानिएका थिए र उनले पछि नेपालीसँग माफी माग्दै ट्विट हटाएका थिए।
उनै चौधरी र उनको टिमलाई बोलाएर प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएका थिए।
त्यो अन्तरवार्तामा पनि उनले सुरुमै प्रधानमन्त्रीलाई निकै होच्याएर प्रश्न सोधका थिए।
‘भारत ठूलो दाइ हो र नेपाल सानो भाइ हो’ भन्ने टिप्पणी उनले त्यो अन्तर्वार्तमा पटक पटक दोहोर्याएका छन्।
पहिलो प्रश्न नै उनले प्रधानमन्त्रीलाई सोधेका थिए ‘भारत ‘राम’ हो, नेपाल ‘लक्ष्मण’ अब नेपालले ‘राम’ कै बराबरको हैसियत खोजेको हो?’
प्रधानमन्त्री ओलीले पनि हिन्दी भाषामै जवाफ दिएका छन् ‘क्षेत्रफलमा नेपाल सानो होला तर एउटा सार्वभौम राष्ट्रको हैसियतमा नेपाल भारत बराबर हो।’
जी न्यूज भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीको समर्थक हो।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७