कोरोना भाइरस महामारीबीच नेपालबाट ५० अर्ब रुपैयाँभन्दा बढीका वस्तु निर्यात भएको छ। गत साउनबाट मंसिरभित्र ५० अर्ब ६ करोड रुपैयाँबराबरका वस्तु विभिन्न देश निर्यात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को पाँच महिनाको तथ्यांक समेटेर बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत पाँच महिनामा उक्त परिमाणबराबरको वस्तु निर्यात भए पनि त्यो ५.१ प्रतिशतले मात्र बढी हो। अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यस्तो वृद्धि २७ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ८.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात शून्य दशमलव ८ प्रतिशतले बढेको थियो। उत्तरी छिमेकीतर्फ भने निर्यात ५५.२ प्रशितले ह्वात्तै घटेको छ।
वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), चाउचाउ, पश्मिनालगायतको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, ऊनी गलैंचा, लत्ताकपडालगायतको निर्यात घटेको छ ।
गत पाँच महिनामा कूल वस्तु आयात ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१, २४.४ र २०.८ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा कच्चा सोयाबिन तेल, चामल, एमएस बिलेट, दुरसञ्चार उपकरण तथा पार्टपुर्जा, कोइलालगायतको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायात साधन तथा पार्टपुर्जालगायतको आयात घटेको छ।
पछिल्लो पाँच महिनामा कूल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले घटेर ४ खर्ब ७५ अर्ब ४४ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा ६.३ प्रतिशत थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ८.२ प्रतिशत थियो।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७