निजी घर पुनर्निर्माणले गति लिन नपाए पनि भक्तपुरका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भने धमाधम भइरहेका छन्।
भक्तपुरमा चार नगरपालिका छन्। तीमध्ये सबैभन्दा बढी क्षति भक्तपुर नगरपालिकामा भएको थियो। भक्तपुरमा मात्र १ सय ४५ संरचना प्रभावित बनेका थिए। जसमध्ये ८८ वटाको पुनर्निर्माण सकिएको तथ्यांक छ। सातमा काम भइरहेको र नौवटा प्रक्रियामा छन्।
मध्यपुर थिमि नगरपालिकामा प्रभावित २३ संरचनामध्ये पाँचवटामा काम पूरा भएका छन्। नौवटा प्रक्रियामा छन्।
त्यसैगरी चाँगुनारायण नगरपालिकाका १६ सम्पदामध्ये नौवटा सम्पन्न, एउटामा काम भइरहेको र चार प्रक्रियामा छन्।
सूर्यविनायक नगरपालिकाका २९ संरचना भूकम्पले प्रभावित भएका थिए, जसमा सात सम्पन्न र २२ पुनर्निर्माण प्रक्रियामा छन्।
सरकारले पाँच वर्षभित्रमा क्षति पुगेका सम्पदा पुनर्निर्माण पूरा गर्ने लक्ष्य लिएको थियो। यसको अन्तिम दिन आज हो। तर, भक्तपुरमा विगत पाँच वर्षमा ६० प्रतिशत सम्पदा पुनर्निर्माण भएको छ।
बाँकी ४० प्रतिशत सम्पदा पुनर्निर्माणको काम बाँकी रहेको पुरातत्व विभाग दरबार हेरचाह कार्यालय भक्तपुरका अधिकृत मोहनसिंह लामा बताउँछन्।
अधिकृत लामाका अनुसार भक्तपुरले ७३ सम्पदामा मामत्र क्षति पुगेको तथ्यांक सार्वजनिक गरे पनि त्यसभन्दा तीन गुणा बढी संरचनामा भूकम्पले प्रभावित बनाएका छन्। पुरातात्विक सम्पदा पुनर्निर्माण पुरानै शैलीमा गर्ने नीतिका कारण पनि सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको उनको बुझाइ छ।
सम्पदा पुनर्निर्माणमा स्रोत, साधन र निर्माण सामग्री अभाव हुनु पनि ढिलाइको अर्काे कारण रहेको बताइन्छ। अनुभव नभएका निर्माण कम्पनीसँग सहकार्य, दक्ष कालीगढ अभावलगायत कारण पनि ढिलाइको अर्काे कारण रहेको लामा बताउँछन्।
उनले पुरानो शैलीमा बनाउनुपर्ने भनिएकै कारण शिलु महादेव मन्दिर (फसिङ्ग द्यो) को स्ट्रक्चर खोज्नमात्र करिब आठ महिना लागेको बताउँछन्। स्ट्रक्चर पाइसकेपछि त्यसका लागि चाहिने सामान खोज्न एक वर्ष लागेको उनको भनाइ छ। यसरी काम सुरु गर्नुभन्दा अगाडि नै धेरै समय लागेको उनले बताए।
उनका अनुसार दाची अपा, पा अपा बुझ्न नै समय लाग्ने भएकाले पुनर्निर्माणमा ढिलाइ भएको हो। केही सम्पदा पूर्णरूपमा क्षति भएकाले त्यसको अवशेष छैन। उक्त संरचनाको फोटोसमेत पाउन गाह्रो छ। ‘केही संरचना स्थानीयको सल्लाहका आधारमा बनाउनुपर्ने बाध्यतामा छौं,’ उनले भने।
यस्तै अवस्था रहे सरकारको पाँच वर्षको लक्ष्य कुन समयमा पूरा हुने यकिन नरहेको अधिकृत लामाले बताए। ‘पुनर्निर्माण कहिले सकिन्छ थाहा छैन। यस्तै अवस्था रहे पुनर्निर्माण कार्य लामो समयसम्म जानसक्छ,’ उनले भने।
भक्तपुरका सम्पदा पुनर्निर्माण पुरातत्व विभाग दरबार हेरचाह कार्यालय भक्तपुर र भक्तपुर नगरपालिकाले गर्दै आएको छ। कार्यालयले टेन्डर प्रक्रियामार्फत पुनर्निर्माण गर्दै आएको छ भने नगरपालिकाले उपभोक्ता समिति गठन गरी स्थानीय जनशक्ति सहभागितामा काम गर्दै आएको छ।
भक्तपुर नगरपालिका योजना तथा सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले कोरोना भाइरस महामारीका कारण पुनर्निर्माण सामग्री अभाव भएकाले काममा समस्या आइरहेको बताए।
‘सीमित जनशक्ति छन्। उहाँहरू पनि अरू जिल्लामा सम्पदा पुनर्निर्माणका लागि जानुभएको छ,’ उनले भने, ‘मौलिक शैलीमा पुनर्निर्माण गर्न काष्ठकला, दाची अपा अभाव छ। निर्माण सामग्री सजिलै पाइँदैन।’
दरबार हेरचाह कार्यालय भक्तपुरका अनुसार नेपालभरि ७ सय ४३ सम्पदामा भूकम्पले क्षति पुगेको थियो। तीमध्ये भक्तपुरका करिब ७३ सम्पदा छन्। जसमा २० मा पूर्णक्षति, १० मा आंशिक र ४३ मा सामान्य क्षति भएको छ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७