जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको आरोप लगाएका छन्।
पोखरामा पार्टीले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै उनले ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम उठाएको आरोप लगाएका हुन्। २९ वर्ष लडेर, सहीद भएर ल्याएको लोकतन्त्रलाई धरापमा पारिएको उनले बताए। ‘अहिले आएर किन जनयुद्ध लडिए, किन हाम्रा आफन्त तथा साथीभाइ सहिद भएछन् भन्ने दिन आएको छ,’ उनले भने।
आम जनताको अधिकार सुरक्षित नभएसम्म ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिरहने उनले बताए। ओलीविरुद्धको लडाईंमा हिम्मत हार्न नहुने उनको भनाई छ। संविधान अपूर्ण भए पनि जोगाउनु सबैको जिम्मेवारी भएको अध्यक्ष भट्टराईले बताए। सबैको अधिकार समावेश भएको संविधान नभएको बताउँदै उनले संसद पुनर्स्थापनाका लागि एकजुट हुन सबैमा आग्रह गरे।
अहिले प्रधानमन्त्री ओलीले न्यायधीशलाई धम्क्याएको र आफ्नो आसेपासेलाई नियुक्त गरेको नेता भट्टराईले आरोप लगाए। ‘अहिले केही भन्न सकिन्न, जुन हिसाबले ओलीले आसेपासेलाई नियुक्त गर्नुभएको छ र प्रधानन्यायधीशलाई धम्क्याउनु भएको छ, यहाँ के हुन्छ भन्न सकिने अवस्था छैन’, उनले भने। प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा संविधानसम्मत् नभएको उनले जिकिर गरे।
ओलीले अपराध गरेकाले कारबाही हुनुपर्ने उनको भनाई छ। ओलीले निर्वाचन पनि नगराउने उनले दाबी गरे । ‘सबैले ओलीले निर्वाचन गरेको खण्डमा हार्छन् भनिरहेका छन्’, उनले प्रश्न गर्दै भने, ‘आफैं हार्ने गरेर ओलीले निर्वाचन सम्पन्न गराउँछन् भनेर विश्वास गर्न सक्नुहुन्छ?’
अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने उनले बताए । यो संविधान नेपाली जनता आफैंले बनाएकाले प्रतिनिधिसभा विघटन हुन नसक्ने उनले दाबी गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारबाही भएजस्तै जनताले पनि ओलीलाई कारबाही गर्नुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीलाई कारबाही गर्न कांग्रेसलेसमेत खुट्टा कमाउन नहुने उनको भनाई छ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७