पुस ७ गते कार्की ब्याङक्वेटमा भएको नेकपा प्रचण्ड–नेकपा समूहको केन्द्रीय समिति बैठकले अनुशासनको कारबाही गर्दै केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो।
र, त्यही बैठकबाट पार्टीको अर्का अध्यक्षमा वरिष्ठ नेता नेपाललाई चयन गरेको थियो।
प्रचण्ड–माधव पक्षीय केन्द्रीय कमिटी बैठकको त्यो निर्णयपछि सबैले प्रचण्ड पहिलो र नेपाल दोस्रो अध्यक्ष रहेको अर्थ्याए। त्यसपछिको औपचारिकतामा प्रचण्डलाई प्रमुख र नेपाललाई विशिष्ट अतिथिको रूपमा सम्बोधन गरियो।
यसकारण पनि प्रचण्ड पहिलो र नेता नेपाल द्वितीय अध्यक्ष रहेको तर्कले बल पाइरहेको थियो।
अर्को समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दोस्रो अध्यक्ष बनेको भन्दै नेता नेपाललाई कम्ता गिज्याएनन्।
ओलीले सम्बोधन गरेका हरेक मञ्चबाट दोस्रो अध्यक्ष बन्ने नेपाल प्रचण्डसँग लागेको बताइरहे।
‘तृतीय अध्यक्ष दिन त म तयार नै थिएँ, उहाँले मान्नु भएन,’ ओलीले नेपाललाई भन्ने गरेका छन्, ‘दोस्रो अध्यक्ष बन्न उहाँ प्रचण्डतिर लाग्नु भएको छ।’
तर, प्रचण्डले आफूतिर कोही पनि पहिलो र दोस्रो नरहेको दाबी गरेका छन्।
काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई बुधबार प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै प्रचण्डले भने,‘यहाँ कोही प्रथम र द्वितीय छैनन्। हामी दुबैजना बराबर अध्यक्ष हौं।’
समान्यतः कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिले बोल्ने परम्परा छ। प्रज्ञा प्रतिष्ठानको कार्यकर्ता भेलामा प्रचण्डले सम्बोधन गरिसकेपछि अन्त्यमा नेता नेपालले सम्बोधन गरे।
त्यसअघि सम्बोधन गरेका प्रचण्डले प्रधानमन्त्री ओलीको गलत प्रवृत्तिविरुद्ध सुरूदेखि प्रतिवाद गर्दै आइरहेको नेता नेपालप्रति आफ्नो सम्मान झन बढेको बताए।
अहिले नेपाललाई एक नम्बर अध्यक्ष मान्दा आफूलाई आनन्द लागेको प्रचण्डले बताए।
‘तपाईंलाई लागेको होला प्रचण्डले केके गर्छ, तपाईंहरू पनि केपी जस्तै हो भने म त के-के गर्छु,’ उनले भने, ‘तपाईंहरू माधवजी जस्तो हो त हामी मिल्या छौं, प्रचण्डजस्तो भए माधवजी मिलिहाल्नु हुन्छ। म यहाँ कुनै समस्या देख्दिनँ।’
ओलीले आफूलाई एक नम्बर अध्यक्ष भन्ने गरेको बताउँदै प्रचण्डले एक र दुई भन्ने केही पनि नरहेको जिकीर गरे। आफूले उदारता देखाएरमात्र छोडेको उनले बताए।
‘अहिले एक र दुई होइन हामी एकै छौं, मिल्नेको कुरै अर्कै हुन्छ,’ उनले भने, ‘अहिले पार्टीको अध्यक्षता माधवजी गरिरहनु भएको छ। प्रमुख अतिथि भएर उहाँ नै बोल्नुहुन्छ।’
वर्षौंदेखि सँगै सहकार्य गर्दै आएका नेता नेपालसहित झलनाथ खनाल र वामदेव गौतमले ओलीको साथ किन साथ छोडेको भन्दै उनले विचार गर्न ओलीलाई सुझाव दिएका छन्।
ओलीले एकैदिन फरक-फरक समयमा आफूसहित माधव र वामदेवलाई पार्टी अध्यक्ष बनाइदिने प्रलोभन दिएको प्रचण्डले दाबी गरेका छन्।
‘बिहान ११ बजे वामदेवजीलाई बोलाएर अध्यक्ष पनि तपाईं प्रधानमन्त्रीपनि तपाईं नै भन्नु भएछ। त्यही दिन १ बजे माधवजीलाई बोलाएर पनि त्यही कुरा भन्नु भएको रहेछ। ४ बजे मलाई बोलाएर नेता नपाएर तपाईंलाई ल्याएको भन्नु भयो,’ प्रचण्डले भने, ‘के गरी उहाँ सक्नुभएको। सकेको देखेर ताजुब लाग्छ।’
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७