प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते एक्कासि प्रतिनिधिसभा विघटन सिफारिस गरेपछि नेपाली राजनीति अन्योलको भूमरीमा फसेको छ। संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेका ओलीको अधिकांशले विरोध गरिरहेका छन्। मात्र, उनका समर्थकबाहेक।
भन्डै दुईतिहाइ बहुमतका साथ सत्तामा पुगेको ओली सरकार अब पाँच वर्ष चल्ने नेपाली जनतालाई लागेको थियो। सधैं स्थायित्वका लागि मरिहत्ते भइरहने नेपाली कार्यपालिका सही दिशामा अघि बढोस् भन्ने सबैको चाहना थियो।
तर, पार्टीको आन्तरिक छिनाझपटी र किचलोको बहाना बनाउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नै विघटन गरिदिए।
ओलीको पछिल्लो कदमले ‘नरहे बाँस, नबजे बाँसुरी’ भन्ने उक्ति लगभग पुष्टि भएको छ। यद्यपि, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
र, संविधानको अन्तिम व्याख्याताका हिसाबले सर्वोच्चको निर्णय सबैले स्वीकार गर्नैपर्ने हुन्छ। गर्नु पनि पर्दछ।
प्रतिनिधिसभा विघटन गरेर नेपाली राजनीतिमा सनसनी मच्चाएका प्रधानमन्त्री ओलीले भारतीय मिडियालाई अन्तर्वार्ता दिएर फेरि अर्को सनसनी मच्चाइदिए।
ओलीले भारतका दुईवटा मिडियालाई अन्तर्वार्ता दिएका छन्। जी न्युजमा उनको अन्तर्वार्ता हिन्दी भाषामा छ भने विअनमा अंग्रेजीमा।
भारतका ती दुवै मिडियाले प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिँदा लगभग एकैखाले प्रश्न सोधेका छन्। केहीलाई छोडिदिने हो भने जी न्युजका सुधीर चौधरी र विअनकी पालकी शर्मा उपाध्यायले ओलीलाई सोधेको प्रश्न लगभग समान छन्।
यो अंग्रेजी च्यानल विअनका प्रधानसम्पादक पनि सुधीर चौधरी नै हुन्। जी नेटवर्कअन्तर्गत यो अंग्रेजी माध्यममा छ। र, प्रधानमन्त्रीले दिएको जवाफ पनि उही। केवल फरक छ त भाषा। सुधीरलाई उनले हिन्दीमा जवाफ दिएका छन् र पालकीलाई अंग्रेजीमा।
दुवै अन्तर्वार्ताकारको प्रश्न लगभग समान देखिएपछि त्यो अन्तर्वार्ता नियोजित त होइन भने प्रश्न उठ्न थालेको छ।
किनभने, नेपालकै कतिपय मिडियाले कोसिस गरिरहँदा पनि अन्तर्वार्ताका लागि समय पाइरहेका छैनन्। तर, मुलुकभित्र राजनीतिक उथलपुथल चलिरहेका बेला भारतका दुई–दुई मिडियालाई अन्तर्वार्ताका लागि किन र कसरी समय दिए? अहिले पेचिलो प्रश्न सामुन्ने आएको छ।
दुवै भारतीय मिडियाका प्रस्तोताका अधिकतम प्रश्न नेपाल–भारत–चीनबीचको सम्बन्धसँग सम्बन्धित छन्। प्रधानमन्त्री ओलीलाई उनीहरूले सोधेका प्रश्न पनि लगभग समान नै छन्।
जी न्युज र विअनका अन्तर्वार्ताकारले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले फेरि एकपटक आफ्नो राष्ट्रवादी छवि प्रस्तुत गर्ने अवसर पाए। संसद विघटनपछि केही धुमिल बन्दै गएको छविलाई अन्यत्र मोड्न पछिल्लो अन्तर्वार्ताको ‘एपिसोड’ बाहिरिएको बुझ्न कठिन छैन।
०००
जी न्युज सन् १९९९ देखि प्रसारणमा आएको भारतीय समाचार च्यानल हो। समयक्रमसँगै भारतका विभिन्न प्रान्तका लागि यसको छुट्टाछुट्टै च्यानल प्रसारणमा आइरहेका छन्। जस्तै, जी बिहार, जी बंगलालगायत च्यानल जी मिडियाअन्तर्गत प्रसारणमा छन्।
जी मिडियाका मालिक सुवाष चन्द्रा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीबाट राज्यसभामा सांसद छन्।
ओलीले जसलाई अन्तर्वार्ता दिए, ती जी मिडियाका प्रधानसम्पादक हुन् चौधरी। र, उनले आफूलाई हिन्दुवादीका रूपमा प्रस्तुत गर्दै आइरहेका छन्। यहाँसम्म कि जी न्युज सत्तारुढ भारतीय जनता पार्टी र हिन्दुवादीहरूको वकालत गर्ने गरेको भारतमै आरोप लाग्ने गरेको छ।
चौधरीले आफ्नो कार्यक्रम ‘डिएनए’ मा प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक सामग्री पस्केको धेरै दिन बितेको छैन। सबैको मस्तिष्कमा अझ आलै छ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि चीनको इशारामा यसो गरिएको तर्क गर्दै उनै चौधरीले चिनियाँ राजदूत यान्छीसँग जोडेर ‘ओली की इश्कियाँ’ शीर्षक राखेर रिपोर्ट नै प्रसारण गरेका थिए।
त्यसपछि केबुल अपरेटरहरूले नेपालमा जी न्युजको प्रसारण नै बन्द गरेका थिए।
त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिन काठमाडौं झरेका जी न्युजका चौधरी सगरमाथा आधारशिविर पनि घुम्न भ्याए। कालापत्थरसम्म पुगेर नयाँदिल्ली फर्किएलगत्तै सगरमाथामा भारतले दाबी गर्नुपर्ने रिपोर्ट प्रसारण गरे।
तर, त्यही जी न्युजका चौधरीलाई प्रधानमन्त्री ओलीले कुन प्रयोजनका लागि अन्तर्वार्ता दिए? ठूलो चासोको विषय बनेको छ अहिले।
नेपाल–भारत सम्बन्धका बारेमा चौधरीले गरेका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भारत वर्षको इतिहासदेखि याज्ञवल्क्य, गार्गी, अष्टावक्रलगायत ऋषिमुनिहरूको चर्चा गरेका छन्।
हिन्दी भाषामा दिइएको त्यो अन्तर्वार्तामा ओलीले भूगोल र जनसंख्याका हिसाबले नेपाल सानो रहे पनि राष्ट्रका हिसाबले समान रहेको तर्क दिएका छन्।
अर्को अन्तर्वार्ता प्रधानमन्त्री ओलीले भारतीय सञ्चारमाध्यम विअनकी पालकीलाई अंग्रेजीमा दिएका छन्।
पालकीले नेपाल, भारत र चीनसम्बन्धका साथै पछिल्लो समय नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे समेत ओलीलाई प्रश्न गरेकी छिन्।
पालकीले प्रधानमन्त्री ओलीलाई अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तपाईंको सम्बन्ध कस्तो रहेको छ भनेर सोधेकी छिन्। जवाफमा प्रधानमन्त्रीले राम्रो प्रश्न भनेका छन्।
त्यसपछि पाल्कीले एउटा प्रश्न मनपराइदिनुभयो खुसी लाग्यो भनेपछि ओली मुस्कुराएका छन्। र, प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘तपाईंलाई पुष्पकमल दाहालको इतिहास, पृष्ठभूमि थाहा होला। उहाँ फिटिक्कै लोकतान्त्रिक हुनुहुन्न।’
तपाईंले त उहाँसँग गठबन्धन गर्नुभएको थियो? पाल्कीले प्रश्न गरेकी छिन्।
ओलीले संविधान निर्माणमा सहयोग पुगोस् भनेर प्रचण्डसँग सहकार्य गरेको बताएका छन्। ‘उहाँ अस्थिर चरित्रको हुनुहुन्छ। म उहाँको चरित्रबारे सावधान थिएँ,’ ओलीले भनेका छन्।
अंग्रेजी भाषामा दिएको अन्तर्वार्तामा कतिपय ठाउँमा उच्चारणमासमेत त्रुटि देखिएको छ। प्रधानमन्त्रीजस्तो व्यक्तिले अन्तर्वार्ता दिँदा त्यो पनि विदेशी सञ्चारमाध्यमलाई यी सब कुरा ध्यान दिनु जरुरी हुन्छ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७