सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रमा अर्ब बढीको बजेट छुट्याएपनि कृषि क्षेत्रबाट कर असुलीको लक्ष्य भने शून्य छ।
चालु आर्थिक वर्ष २०७७/०७८ का लागि सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रको विकास र स्वरोजगार बढाउने गरी करिब २ अर्ब ३१ करोडको बजेट छुट्याएको छ। तर, चालु अर्थिक वर्षमै कृषि क्षेत्रबाट कर असुली गर्ने लक्ष्य नै निर्धारण गरेको छैन।
कृषि क्षेत्रमा हालसम्म कुनै पनि क्षेत्रबाट कर असुली नभएपछि लक्ष्य निर्धारण नगरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले बताए। ‘कृषि क्षेत्रको कर असुली गर्ने जिम्मा स्थानीय तहको हुन्छ’, उनले भने, ‘स्थनीय तहले असुली गरेको कृषि क्षेत्रको करमा ४० प्रतिशत प्रदेश सरकारको खातामा आउने हो। तर, हालसम्म कुनै पनि स्थानीय तहबाट कृषितर्फको कर प्राप्त भएको छैन।’
सुदूरपश्चिम प्रदेश सरकारले १० शिर्षकमा कर असुली गर्दै आएको छ। ती शिर्षकमध्ये लक्ष्य भन्दा बढी कर असुली दण्ड जरिवाना शिर्षकमा मात्रै भएको छ। अन्य क्षेत्रको कर असुली भने निरासाजनक नै रहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा ६७ करोड ७७ लाख ३० हजार रुपैयाँ कर असुली गर्ने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सो लक्ष्यमा ४३ दशमलव ९३ प्रतिशत अर्थात ३१ करोड ९ लाख ६६ हजार कर असुली गरेको छ। असुली गरिएको मध्ये दण्ड जरिवाना शिर्षकमा राम्रो प्रगति भएको छ भने अन्य शिर्षकमा लक्ष्य भन्दा कम मात्रै असुली भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदकाअनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सवारी साधन करतर्फ १७ करोड ७८ लाख ८३ हजार अर्थात ६१ दशमलव ७६ प्रतिशत राजस्व संकलन गरिएको छ। सवारी साधनतर्फ प्रदेश सरकारले २८ करोड ८० लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। यसै गरी घरजग्गा रजिष्टे«सन शुल्कतर्फ चालु आर्थिक वर्षमा १९ करोड ६० हजार ३ सय राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा चार महिनाको अवधिमा ४ करोड २८ लाख ९३ हजार अर्थात २१ दशमलव ८८ प्रतिशत संकलन भएको सूचना अधिकारी साउँदले बताए।
उनका अनुसार प्राकृतिक श्रोत करतर्फ १ दशमलव ७७ प्रतिशत मात्रै कर संकलन भएको छ। चालु आर्थिक वर्षका लागि प्राकृतिक श्रोत करमार्फत ४ करोड असुली गर्ने लक्ष्य निर्धारण गरिएकोमा ४ महिनाको अवधिमा ७ लाख ४ हजार मात्रै राजस्व संकलन भएको छ। यसैगरी सेवा शुल्क दस्तुरबाट २ करोड ६६ लाख २२ हजार अर्थात ३८ दशमलव ३ प्रतिशत राजस्व संकलन भएको छ। प्रदेश सरकारले सेवा शुल्क दस्तुरबाट ७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
रोयल्टीमार्फत बढी कर असुली हुने गरेकोमा चालु आर्थिक वर्षको चौमासिक विवरण भने निरासाजनक रहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा रोयल्टीवापत ७ करोड राजस्व असुली गर्ने लक्ष्य निर्धारण गरेकोमा हालसम्म ८ दशमल ६८ प्रतिशत अर्थात ६० लाख ७५ हजार मात्रै राजस्व असुली गरिएको सूचना अधिकारी साउँदले बताए।
मन्त्रालयले संकलन गर्ने राजस्वमध्ये दण्डजरिवाना शुल्कमा भने उल्लेखनीय वृद्धि भएको छ। सूचना अधिकारी साउँदका अनुसार चालु आर्थिक वर्षमा दण्डजरिवानातर्फ ७० लाख राजस्व असुली गर्ने लक्ष्य निर्धारण गरिएकोमा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै ५ करोड ६५ लाख ९० हजार अर्थात ८ गुणा बढी राजस्व संकलन भएको छ।
सुदूरपपिश्चम प्रदेश सरकारले उसुली गर्ने मनोरञ्जन र विज्ञापन करमा भने चार महिनासम्म शून्य प्रगति छ। मनोरञ्जनतर्फ वार्षिक ५ लाख कर असुली गर्ने लक्ष्य निर्धारण गरिएकोमा चार महिनासम्म १ रुपैयाँसमेत कर असुली नभएको सूचना अधिकारी साउँदले बताए। यसैगरी विज्ञापन सेवाबाट वार्षिक १० लाख कर असुली गर्ने लक्ष्य निर्धारण गरिएकोमा चार महिनासम्म सो को प्रगति समेत शून्य रहेको छ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७