प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको फैसला आउन बाँकी छ। यता, निर्वाचन आयोगले भने चुनावको तयारी सुरु गरिसकेको छ। आयोगले झापामा सम्भावित मतदान स्थल र केन्द्रको अनुगमन पनि सुरु गरेको छ।
आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको निर्वाचनका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले अनुगमन सुरु गरेको जनाइएको छ।
समितिले बिर्तामोड नगरपालिका, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको छ। समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकारी र पालिकाका प्रमुखहरु रहेका छन्।
विगतमा झापामा २ सय ८३ मतदान स्थल र ६ सय ९२ मतदान केन्द्र रहेकामा यसपालि केही थप हुने बुझिएको छ।
विगतमा एउटै मतदान स्थलमा आठवटासम्म मतदान केन्द्र हुने गरेपनि आगामी निर्वाचनमा सातवटा भन्दा बढी राख्न नपाइने नियम बनाइएको छ।
जिल्लाका १५ वटै पालिकाका मतदातालाई सहज हुनेगरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गर्ने तयारी झापामा भएको छ। मतदात स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको जनाइएको छ।
प्रजिअ तिम्सिनाले दलहरूको समन्वयमा अनुगमन गरिएको बताए। जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा जिल्लामा क्रियाशील दलका प्रतिनिधि सदस्य रहने व्यवस्था छ। सो समितिको पुस २८ गते जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको र अनुगमनमा जाने निर्णय गरेको प्रजिअ तिम्सिनाले बताए। सबै राजनीतिक दलका नभई ३/४ वटा दलका प्रतिनिधि अनुगमनमा गएको उनको भनाइ छ।
‘सवारी साधनको अभावले सबै दलका प्रतिनिधि जानु भएन’, उनले भने, ‘बैठक बसेर दलीय समन्वयमा नै अनुगमन गरिएको हो, उहाँहरुको नकारात्मक कुरा छैन।’
सरकारले निर्वाचन हुने भनेपछि आफूहरूले गर्नैपर्ने भएकाले तयारी सुरु गरेको प्रजिअ तिम्सिनाको तर्क छ।
जिल्ला निर्वाचन कार्यालय झापाका जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले दलहरूलाई पुस २३ गते पत्र काटेर समितिमा रहेको जानकारी गराउनुकासाथै पुस २८ गतेको बैठकमा बोलाएका थिए। सो पत्र सम्बन्धित दलका जिल्ला पार्टी कार्यालयमा बुझाइएको थियो।
जिल्लामा क्रियाशील केही दलका नेताले भने आफूहरू अनुगमनमा नगएको जनाएका छन्। नेपाली कांग्रेस झापा सभापति उद्धब थापाले यो निर्वाचन कार्यालयको नियमित प्रक्रिया भएकाले पार्टीको सहभागिता रहेको बताए। ‘कांग्रेसको तर्फबाट पूर्वउपसभाति देउमान थेवे बैठकमा जानु भएको हो’, उनले भने, ‘पार्टी आन्दोलनमा रहे पनि निर्वाचन आयोगको आवधिक कार्यक्रम भएकाले कांग्रेसले सहभागिता जनाएको हो।’
आयोगका नियमित काम आन्दोलनसँग सम्बन्ध नहुने र जोडेर हेर्न नहुने सभापति थापाले टिप्पणी गरे।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७