जनता समाजवादी पार्टी (जसपा) का संघर्ष परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हरेक तानाशाहले ‘कू’ गर्नुअघि चुनावको घोषणा गरेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गर्नुपनि त्यसैको एउटा पाटो रहेको भट्टराईले जिकिर गरेका छन्।
‘इतिहास हेर्नुस्, ‘कू’ गर्नुअघि सबै तानाशाहहरूले चुनावको घोषणा गरेका छन्। ज्ञानेन्द्रलेपनि चुनावको घोषणा गरेकै थिए,’ गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै भट्टराईले भने,‘केपी ओलीले पनि त्यसै गरेका हुन्। यो चुनाव हुनेबाला छैन।’
भट्टराईले चुनाव हुन्छ भनेर अलमलमा नपर्न कांग्रेसलाई आग्रह गरे।
‘चुनाव हुन्छ भनेर कुनै अलमलमा नबस्नुस्, कुनैपनि हालतमा हुँदैन,’ उनले भने, ‘प्रतिनिधिसभा जिवित गर्नु अहिलेको प्राथमिकता हो। हामी सबै मिलेर संयुक्त आन्दोलन गरौं।’
प्रतिनिधिसभा विघटनपछि संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको उनले बताए।
‘प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्थाभन्दा बाहिर गएको छ, संविधानमाथि प्रहार भएको छ,’ उनले भने, ‘संविधान जोगाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिनु पर्दछ। संसद पुनर्स्थापना भइसकेपछि सरकारको नेतृत्वपनि कांग्रेसले गर्नुपर्छ।’
आफूहरू शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै उनले अदालतबाट पुनस्र्थापना नभएर बाहिरी हस्तक्षेप बढ्दै गए चुप लागेर नबस्ने जिकिर गरेका छन्।
प्रचण्ड–माधव समूहले ओलीलाई सदस्यबाट निस्कासन नगरेकोले शंका अझै कायमै रहेको उनले बताए।
‘उहाँहरू संयुक्त आन्दोलनको कुरा गरिरहनु भएको छ। तर, ओलीलाई अझै कारबाही गर्नु भएको छैन,’ भट्टराईले भने, ‘प्रचण्ड र माधवजीले कित्ता स्पष्ट गर्नुपर्दछ। उहाँहरूले कित्ता स्पष्ट नगर्दा कांग्रेस र जसपा सशंकित भएको छ।’
संघीयता, गणतन्त्रलगायतका सबै एजेन्डाका विरोधी प्रधानमन्त्री ओली वामपन्थीको खाल ओढेर चरम सामन्तवादतर्फ अगाडि बढ्दै गएको भट्टराईले आरोप लगाएका छन्।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७